काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणमा अधिकांश वाणिज्य बैंकहरुले उत्साहजनक नाफा आर्जन गरेपनि शेयर बजारमा भने लगानीकर्ताहरूले यी बैंकहरुलाई ‘इग्नोर’ गरेको देखिएको छ । बैंकहरुको मुनाफा अर्बौंमा बढिरहँदा पनि दोस्रो बजारमा उनीहरूको शेयर मूल्यमा निरन्तर गिरावट आएको हो ।
हालसम्म १२ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यी बैंकहरुको खुद नाफा ४५ अर्ब भन्दा बढी भएको छ ।
सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ । जसले ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
सर्वाधिक नाफा कमाउनेको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले गत आर्थिक वर्षमा ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा १.०९ प्रतिशतले बढी हो ।
अन्य बैंकहरुको नाफामा पनि उल्लेख्य वृद्धि भएको छ । गत आवमा प्रभु बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाउँदा एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै, कृषि विकास बैंकको नाफा ३ अर्ब ८२ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड, एनएमबि बैंकले ३ अर्ब २८ करोड, सानिमा बैंकले २ अर्ब ५७ करोड र माछापुच्छ्रे बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।
गत आवमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १ अर्ब २९ करोड नाफा कमाउँदा कुमारी बैंकले २ अर्ब ११ करोड र हिमालयन बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकहरुले खुद नाफामा उल्लेख्य वृद्धि गरेसँगै लगानीकर्ताले प्राप्त गर्ने प्रतिफल अर्थात् वितरणयोग्य मुनाफा पनि बढेको छ । बैंकहरुको लाभांश क्षमता ४ प्रतिशतदेखि ३८ प्रतिशतसम्म छ ।

राम्रो वित्तीय विवरण सार्वजनिक भएपछि सामान्यतया सकारात्मक प्रभाव पर्नुपर्नेमा यी बैंकहरुको शेयर सूचक निरन्तर ओरालो लागेको छ । सर्वाधिक नाफा कमाएको नबिल बैंकको शेयर मूल्यमा पनि खासै उत्साह देखिएको छैन । बुधवार नबिल बैंकको शेयर मूल्य घटेर प्रतिकित्ता ५२४ रुपैयाँको हाराहारीमा झरेको छ ।
३८ प्रतिशत माथि लाभांश क्षमता भएको एभरेष्ट बैंकको शेयरमा पनि लगानीकर्ताहरू आकर्षित भएका छैनन् । बुधबारको कारोबारमा यस बैंकको शेयरमूल्य झिनो अंकले मात्रै बढेको छ । यस दिन एभरेष्टको शेयर ६ रुपैयाँ ५१ पैसाले बढेर प्रतिकित्ता ७१६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, उल्लेख्य नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेकै दिन ग्लोबल आइएमई बैंकको शेयरमूल्य १.२९ प्रतिशतले घटेको छ । ५ अर्ब ३७ करोड वितरणयोग्य मुनाफा रहेको यस बैंकको शेयरप्रति लगानीकर्ताहरू आकर्षित नभएको पाइएको छ । ५ अर्ब ४४ करोड नाफा कमाएको प्रभु बैंकको शेयरमूल्य पनि घटेर २१८ रुपैयाँमा झरेको छ ।
बुधबारको कारोबारमा शेयर घट्ने अन्य बैंकहरुमा सिद्धार्थ बैंक ३७४.४०, एनएमबि २५४.२०, सानिमा ३६९, कुमारी २०७, माछापुच्छ्रे, २५०.५०, हिमालयन २१८ र सिटिजन्स बैंकको २१२.४० रुपैयाँ शेयर मूल्य रहेको छ
कृषि विकास बैंकको शेयरमूल्यमा झिनो सुधार भएको छ । यस दिन कृषि विकास बैंकको शेयरमूल्य सामान्य अंकले बढेर प्रतिकित्ता ३३१ रुपैयाँ पुगेको छ ।
लगानीकर्ताको रोजाइमा किन परेनन् वाणिज्य बैंक ?
वाणिज्य बैंकहरुको शेयरप्रति लगानीकर्ताको उदासीनताका पछाडिका कारणबारे नेपाली शेयर लगानीकर्ताहरू वित्तीय विवरण नहेरी लगानी गर्ने र उनीहरूको साइकोलोजीमा भर पर्ने विश्लेषकहरू बताउँछन् ।
वित्तीय विवरण प्रकाशन हुनु अगाडी नै लगानीकर्ताहरूलाई त्यसबारे जानकारी हुने भएकोले प्रकाशनपछि शेयरमूल्यमा त्यसको प्रभाव नदेखिने शेयर विश्लेषक अम्बिका पौडेलको भनाई छ ।
उनी भन्छन्, ‘कम्पनीहरूका रिपोर्टहरू अगाडी नै लगानीकर्ताहरूलाई जानकारी भइसकेको हुन्छ । त्यसअनुसार उनीहरूले किनबेच गरिसकेका हुन्छन् । त्यसैले रिपोर्ट प्रकाशन पछि त्यसको प्रभाव नै देखिँदैन ।’
अहिले वाणिज्य बैंकहरुको हकमा पनि त्यस्तै भएको उनले जानकारी दिए । विश्लेषक पौडेलले भने, ‘कुन बैंकको रिपोर्ट कस्तो आउँदैछ भनेर पहिले नै लगानीकर्ताहरूले थाहा पाएका थिए । राम्रा आउनेहरूको उनीहरूले किनेर राखेका थिए । पहिले किनिसकेका हुनाले अहिले बेच्ने मात्रै भए, किन्ने देखिएनन् ।’
त्यसबाहेक कुन कम्पनीको शेयर किनेबेच गर्ने भन्ने विषय लगानीकर्ताहरूको साइकोलोजीमा भरपर्ने समेत उनको तर्क छ । केही लगानीकर्ताहरु छोटो अवधिमा बढी उतारचढाव हुने अरु कम्पनीहरुमा लगानी गर्न आकर्षित हुने गरेको समेत उनले जानकारी दिए ।
शेयर विश्लेषक मुक्ति अर्याल भने नेपाली शेयर लगानीकर्ताहरू वित्तीय विवरण नहेरी लगानी गर्ने गरेको बताउँछन् ।
‘नेपालमा कम्पनीको वित्तीय विवरण अनुसार शेयर कारोबार हुँदैन । हाम्रा लगानीकर्ताहरू वित्तीय विवरण नै नहेरी लगानी गर्छन्’, विश्लेषक अर्याल भन्छन्, ‘ठिकठाक अवस्थाका कम्पनीहरूमा लगानी नगरेर समस्यामा रहेकाहरू रोज्ने गरेको प्रशस्तै उदाहरणहरू छन् ।’
वित्तीय विवरण हेरेर राम्रा कम्पनीहरूमा लगानी गर्न लगानीकर्ताहरूलाई उनको सुझाव छ ।

Leave a Reply