काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन भाँडिएसँगै इतर पक्षका युवाहरू कारबाहीमा पर्ने भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले नै अधिवेशन स्थगनको घोषणा गरिसकेपछि समानान्तर समिति बनाएर अध्यक्ष बनेका ज्योति लामासहितको समूहमाथि कारबाही हुने भएको हो ।
राप्रयुसंघ काठमाडौंको अध्यक्ष बन्न हालका अध्यक्ष ठकुरी र लामा बीच होडबाजी थियो । अध्यक्ष ठकुरी संस्थापन पक्षका हुन् भने लामा इतर पक्षका । उनी विशेषतः पार्टी उपाध्यक्ष विक्रम पाण्डेसँग निकट मानिन्छन् । आजको अधिवेशन भाँड्न पाण्डे निकटकै युवाहरूको भूमिका रहेको राप्रपा नेतृत्वको बुझाइ छ ।
अध्यक्ष लिङदेनको सामुन्ने नै दुई पक्षका युवाहरूबीच भिडन्त भएको थियो । दुवै पक्षले कार्यक्रममा आयातित गुण्डाहरु ल्याएको आरोप एक-अर्कालाई लगाएका छन् । संस्थापन पक्षका अध्यक्ष आकांक्षी अमित ठकुरी र असन्तुष्ट पक्षका आकांक्षी ज्योति लामा नै विवादको केन्द्रमा थिए ।
केही समयअघि पार्टीका कार्यसम्पादन समिति सदस्य अध्यक्षको कार्यकक्ष बाहिर हातपात गर्ने पाण्डे निकट युवाहरू घटनामा संलग्न रहेको संस्थापन पक्षको भनाइ छ । श्रेष्ठमाथि हातपात प्रकरणमा कारबाही भोगेका ऋद्दी राणा आजको घटनामा पनि संलग्न थिए । उनलाई हेलमेटले टाउकोमा चोट समेत लागेको छ ।

अधिवेशन भाँडिएपछि राप्रयूसंघको काठमाडौं जिल्ला समितिको बैठक बसेर घटनामा संलग्नहरुमाथि अनुशासनको कारबाहीका लागि पार्टीमा सिफारिस गर्ने निर्णय लिएको छ । घटनामा नेतृत्वदायी भूमिका खेलेका ज्योति लामा, प्रवीण ठोकर र ऋद्दी राणासहितलाई कारबाहीका लागि राप्रपाको अनुशासन समिति र केन्द्रीय कार्यसमितिलाई सिफारिस गरिएको हो । ठोकर राप्रपाका सहायक प्रवक्ता हुन् भने राणा क्षेत्रीय अध्यक्ष हुन् ।
संस्थापन पक्षनिकट राप्रयूसंघका काठमाडौं जिल्ला अध्यक्ष अमित ठकुरीले आफूमाथि पनि हातपात भएको भन्दै प्रहरीमा समेत जाने बताए ।
‘केही महिला नेतृमाथि अभद्र व्यवहार पनि भएको छ । प्रहरीमा उजुरी लैजानेबारे तयारी गर्दैछौं,’ उनले भने ।
ठकुरीका अनुसार कार्यक्रम सञ्चालकको भूमिकामा रहेकी विजया वाइवा लगायतका केही नेतृमाथि अभद्र व्यवहार भएको छ ।
ठकुरीले असन्तुष्ट पक्षद्वारा घोषित जिल्ला समितिको कुनै अर्थ नरहेको भन्दै चाँडै अर्को अधिवेशन आयोजना गर्ने बताए ।
कार्यक्रमस्थलमा रहेका राप्रपा सहमहामन्त्री तथा युवा संगठन इन्चार्ज प्रकाश रिमालले सुनियोजितरुपमा संगठनभन्दा बाहिरका मान्छेहरु ल्याएर बितण्डा गराइएको आरोप लगाए ।
उनले भने, ‘अधिवेशन सुरु हुनु अगाडि आज बिहानैबाट नवदुर्गा पार्टी प्यालेसमा मान्छेहरू जम्मा गरेर योजना बनाइएको रहेछ । उहाँहरू प्रक्रियामै छिर्न खोज्नुभएन र सुरुबाटै भाँड्ने उद्देश्य राखेको देखियो ।’
अध्यक्षकै उपस्थितिमा अराजकता मच्चाइएको हुँदा कारबाहीको विषय बन्ने रिमाल बताउँछन् ।
‘निश्चितरुपमा पार्टीले कारबाही गर्छ । काठमाडौं जिल्ला समितिले सिफारिस गरिसकेको हुँदा अनुशासन समितिको वैठक बसेर चाँडै निर्णय लेला,’ उनले भने ।
राप्रयूसंघका केन्द्रीय अध्यक्ष सुजित केसी गम्भीर अनुशासन उल्लंघनको घटना भएकाले पार्टीबाटै कारबाही विषयमा पार्टीले आवश्यक निर्णय लिने बताए । पार्टी केन्द्रमा रहेको गुट राजनीतिको असर संगठनमा परेको उनी स्वीकार्छन् ।
‘मलजल र प्रोत्साहन माथिबाटै भएको स्पष्ट छ, अन्यथा यो स्तरको बितण्डा मच्चाउने हिम्मत हुने थिएन,’ उनले भने, ‘माथिल्लो तहका नेताहरुको छत्रछायाँमै रहेर यो सब भएको छ ।’

Leave a Reply