काठमाडौं । १२ वर्षपछि अभिनेत्री, निर्देशक तथा निर्मात्रीद्वय दीपा श्री निरौला र नीता ढुङ्गानाले एउटै चलचित्रमा सहकार्य गर्ने भएका छन् । ‘नीता फिल्म्स’को प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘पार्वती’मा दीपाश्री अनुबन्ध भएसँगै यी दुईले फेरि एकपटक सहकार्य गर्ने पक्का भएको हो।
अभिनेत्री नीता ढुङ्गानाले दिपा श्री निरौलालाई आफ्नो चलचित्र ‘पार्वती’ मा अनुबन्ध गराएकी हुन्। दीपाश्रीलाई अनुबन्ध गराएपछि उनी भन्छिन्,‘हामी अगाडिदेखि सल्लाह गरेर मौखिक रुपमा ओके थियो। मंगलबार भने दिदी फाइनल हुनुभयो। मेरो प्रोजेक्टमा दीपा दिदी हुनु भनेको मेरो लागी सौभाग्यको कुरा हो।’
चलचित्रमा नीताले दीपालाई नायिकाको रुपमा अनुबन्ध गराएकी हुन्।
चलचित्रमा अनुबन्ध भएपछि पुराना दिन सम्झिँदै दीपाले भनिन,‘आजभन्दा १२ वर्षअघि २०७० सालमा ‘छ एकान छ’मा नीताले हामीलाई हेल्प गरेकी थिइन् ।
१२ वर्षपछि खोलो फर्किन्छ भने झैँ नीताले आज मलाई उनको चलचित्रमा अनुबन्ध गराईन। शिव– पार्वतीको यस्तो पवित्र साउन महिनामा ‘पार्वती’ जस्तो चलचित्रमा लिड रोल पाए। धन्यवाद सबैलाई मलाई सम्झेकोमा।’
‘पार्वती’मा दिपासँगै नीता स्वयंले मुख्य भुमिकामा अभिनय गर्दैछिन्। उनकै निर्देशन तथा लेखनमा तयार भएको यो चलचित्रको असोजदेखि छायांकन सुरु हुनेछ। छायांकन अघि नै चलचित्रको दुई वटा पोस्टर सार्वजनिक भइसकेको छ भने माघ १ गते लाई प्रदर्शन मिति तय गरिसकिएको छ।

Leave a Reply