जनकपुरधाम । जनकपुरधाममा केही अधिवक्ताहरूले पत्रकारमाथि गरेको सांघातिक आक्रमणको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । आयोगको मधेश प्रदेश कार्यालयले घटनाको सत्यतथ्य बुझ्न पत्रकार महासंघको कार्यालयमा पुगेर जानकारी लिएको हो ।
गत साउन २७ गते जनकपुरधाम वडा नम्बर ४ स्थित स्वर्गद्वारी नजिकको गुठीको जग्गा प्राप्त गरेपछि आयोजना गरिएको पत्रकार सम्मेलनपश्चात् अधिवक्ताहरूको एक समूहले पत्रकारहरूलाई घेरा हाली आक्रमण गरेको थियो । सोही घटनाका बारेमा विस्तृत अनुसन्धान गर्न मानव अधिकार आयोगको टोली सक्रिय भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेशका मानव अधिकार अधिकृत किरण घिमिरे र राहुल कुमार ठाकुर तथा सूचना तथा प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झासहितको टोलीले नेपाल पत्रकार महासंघ, मधेश प्रदेशको कार्यालयमा पुगी घटनाबारे विस्तृत जानकारी लिएको हो ।
आक्रमणमा परी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको छ भने पत्रकार अनिल कुमार निरालाको आँखा सुनिएको र पत्रकार दिवाकर रायको टाउकोमा गम्भीर चोट लागेको जानकारी महासंघले आयोगको टोलीलाई गराएको छ ।
त्यसैगरी, महिला पत्रकार ज्योति झा (उपाध्यक्ष, मधेश प्रदेश) र विनीता यादवमाथि लैङ्गिक संवेदनशीलतालाई समेत बेवास्ता गर्दै आपत्तिजनक स्थानमा हातपात र दुर्व्यवहार गरिएको जानकारी पनि महासंघले आयोगलाई गराएको छ ।
महासंघका पदाधिकारीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आयोगलाई आग्रह गरेका छन् । यसका साथै, नेपालमा संवैधानिक सर्वोच्चता र कानुनी राज्यको मर्यादा कायम गर्नका लागि आवश्यक सिफारिस गर्नसमेत उनीहरूले आयोगसँग अनुरोध गरेका छन् ।
यो जानकारी लिने क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, मधेश प्रदेशका अध्यक्ष श्याम प्रसाद बन्जारा, सचिव हदिस खुददार र धनुषा शाखाका अध्यक्ष पुरण गुप्तासहितका पत्रकारहरूको सहभागिता रहेको थियो । आयोगको टोलीले अनुसन्धानपछि तत्काल प्रतिवेदन पेस गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस घटनालाई लिएर अन्य निकायले पनि चासो देखाएका छन् । मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवसहितको टोलीले पनि नेपाल पत्रकार महासंघको कार्यालयमा पुगी घटनाबारे जानकारी लिएको छ ।
यसअघि यादवसहित आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा र इन्सेक मधेश प्रदेशका कार्यालय प्रमुख राजु पासवानको टोलीले प्रादेशिक अस्पताल जनकपुरधाममा गएर घाइते पत्रकारहरूसँग भेटघाट गरी घटनाबारे जानकारी लिएका थिए ।

Leave a Reply