काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले ‘पोहोर साल खुसी फाट्दा’ बोलको गीतलाई लिएर गरेको त्रुटि सच्याएको छ । आज एक विज्ञप्ति जारी गर्दै यसबारे पाठ्यक्रम केन्द्रले जानकारी दिएको हो ।
पाठ्यक्रम अधिकृत कुमार घिमिरेद्वारा जारी विज्ञाप्तिमा भनिएको छ, ‘कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकको पाठ ५ पृष्ठ सङ्ख्या ५४ को बोध र अभिव्यक्ति खण्डको अभ्यास १३ मा रहेको ‘यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने’ भन्ने गीतको रचनाकार अम्बर गुरुङ भनी उल्लेख भएकामा सोको आधिकारिकता खोजी गर्दा उक्त गीतको रचना राजेन्द्र थापाले गर्नुभएको पुष्टि भएकाले पाठ्यपुस्तकमा सोहीबमोजिम सच्याइएको हुँदा सम्बन्धित शिक्षण संस्थाहरूले अद्यावधिक तथ्यअनुसार शिक्षण सिकाइ क्रियाकलाप गर्नु गराउनुहुन निर्णयानुसार अनुरोध छ ।’

केन्द्रले कक्षा ९ को नेपाली पुस्तकमा अरुणा लामाको स्वर, अम्बर गुरुङको संगीत र राजेन्द्र थापाको शब्द रहेको ‘पोहोर साल खुसी फाट्दा’ बोलको गीत एक सन्दर्भमा राखेको थियो । तर, रचनाकार भनेर थापाको ठाउँमा गुरुङको नाम उल्लेख गरिएको थियो ।
मूल सर्जकको नाम नराखेर संगीतकारलाई शब्दका क्रेडिट दिइएपछि गीतकार थापाले विरोध जनाएका थिए । शिव परिवार, दिपक शर्मा लगायत संगीतकर्मीले पनि सामाजिक सञ्जालमा विरोध जनाएका थिए । नेपाल गीतकार संघ अध्यक्ष वसन्त वित्यासी थापाको नेतृत्वमा सच्याउन माग गर्दै शिक्षा मन्त्रालय पुगेको थियो । अहिले भने पाठ्यक्रम विकास केन्द्रले गल्ती स्वीकार गर्दै सच्याउने जनाएको छ ।
बहुचर्चित गीत ‘पोहोर साल खुसी फाट्दा’ २०३३ सालमा रेकर्ड भएको थियो । ४९ वर्षअघि रेकर्ड भएको गीतका गायिका र संगीतकारको निधन भइसकेको छ ।

Leave a Reply