विद्या भण्डारीबारे शेरधन- पार्टीको सर्वसम्मत निर्णय हो, कतै पनि बहस र छलफल नगर्नू

धनकुटा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी इन्चार्ज शेरधन राईले पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण नगर्ने पार्टीमा सर्वसम्मत निर्णय भइसकेकाले यसलाई बहसको विषय नबनाउन निर्देशन दिएका छन् ।

धनकुटाको हिलेस्थित होटल कान्जिरोवामा हिजोदेखि जारी प्रदेश कमिटी बैठकलाई बुधबार सम्बोधनको क्रममा उनले भण्डारीबारे पार्टीले लिएका निर्णय राजनीतिक भएकाले व्यक्ति विशेषका रूपमा लिन नहुने तर्क गरे ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले भने, ‘एउटा कुरा प्रष्ट पार्छु विद्या भण्डारीबारे पार्टीले लिएको निर्णयलाई व्यक्ति विशेषका रूपमा गरेको निर्णय भनी बुझ्न हुँदैन । एउटा थिति प्रणाली पार्टीको लोकतान्त्रिक निर्णय गरेको सन्दर्भमा अब थप विषय र पात्रमा जोडेर बहस गर्नु हुँदैन ।’

एमाले विधि र नीतिका हिसाबले अगुवा र गुरु पार्टी भएको भन्दै राईले यसले गरेका निर्णय अरु पार्टीले सिक्दै आइरहेको जिकिर गरे ।

भण्डारीबारे कुनै कमिटी र बाहिर पनि छलफल र बहसको विषय बनाउन राम्रो नहुने उनको भनाइ छ ।

राईले थपे, ‘विधान महाधिवेशनमा मत र तर्कहरू आउन सक्छन् । तर, ठाउँ त्यो हैन । यो पार्टीमा सबैतिर सर्वसम्मत हुँदै निर्णय भएको अवस्था हो । एकजना कमरेडले नोट अफ डिसेन्ट राख्नुभयो भन्ने कुरा पनि आएको छ । थाहा थिएन हामीलाई । त्यो अन्तर पार्टीभित्र आउने गरिको हो कि के हो थाहा छैन ।’

Comments

One response to “विद्या भण्डारीबारे शेरधन- पार्टीको सर्वसम्मत निर्णय हो, कतै पनि बहस र छलफल नगर्नू”

  1. ksp pyl Avatar
    ksp pyl

    ठिक कुरा गर्नुभयो शेरधन सरले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *