काठमाडौं । नेपालका प्रमुख लगानीकर्ता संघसंस्थाहरूले इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) अर्थात् आइजीन नम्बर सम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन गर्न माग राखेका छन् । समग्र बजारको विकासका लागि पूँजीबजारमा देखिएका विकृतिहरूलाई सम्बोधन गर्न सङ्गठित रूपमा उनीहरूले यस्तो मागहरू अघि सारेका हुन् ।
एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)द्वारा प्रस्तावित अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर सम्बन्धी निर्देशिकाको मस्यौदालाई पूर्ण समर्थन जनाउँदै यसको तत्काल कार्यान्वयनको माग गरेका छन् ।
‘सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आइजीन) सम्बन्धी निर्देशिकाको मस्यौदा तयार गरी लागू गर्न लागेको महत्त्वपूर्ण कदमप्रति हाम्रो पूर्ण समर्थन रहेको कुरा जानकारी गराउँछौँ । गलत क्रियाकलाप रोक्नको लागि दुई वटा आइजीन नम्बर प्रयोग गर्नु स्वागतयोग्य कदम भएको र निश्चित अवधिपछि नियमअनुसार उक्त दुई वटा आइजीन नम्बर समायोजन गर्ने नीतिगत व्यवस्था हुन लागेकोमा हामी स्वागत गर्न चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ ।
केही कम्पनीका संस्थापक लगानीकर्ताले कर्मचारीको मिलेमतोमा एउटै आइजीन नम्बरको गलत प्रयोग गरी कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत नहुँदै दोस्रो बजारमा उच्च मूल्यमा बिक्री गर्दै आएकोले यसको तत्काल छानबिन गरी कारबाही गर्न समेत उनीहरूले माग राखेका छन् ।
केही कम्पनी र संस्थागत लगानीकर्ताहरूले कर्मचारीसँगको मिलेमतोमा एउटै आइजीन नम्बरको दुरुपयोग गरेको गम्भीर आरोप लगाइएको छ । उनीहरूका अनुसार संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत नहुँदै दोस्रो बजारमा उच्च मूल्यमा बेचेर अनुचित फाइदा लिइएको घटना सार्वजनिक भएको छ । यस विषयमा तत्काल छानबिन गरी दोषीउपर कडा कारबाही गर्न संघहरूले जोडदार माग गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्ने संस्थाहरूमा जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ, र नेपाल सेयर बजार लगानीकर्ता संघ रहेका छन् । विज्ञप्तिमा क्रमशः दीपक कार्की (अध्यक्ष), घनश्याम पाण्डे (अध्यक्ष), अम्बुजंग सिंह (अध्यक्ष), र डा. केशव प्रसाद श्रेष्ठ (अध्यक्ष) लगायतका पदाधिकारीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply