हजुरआमाले बिहान उठ्ने बित्तिकै भन्नुहुन्थ्यो, ‘आज कताबाट नराम्रो खबर आउने हो कोनि, रात भरि हुच्चिल कराको कराई थियो ।’ त्यस बेला त हुच्चिल देखिएन, राती अनौठो आवाज चाहिँ सुनिन्थ्यो । हजुरआमाले भने जस्तै कहिले कोही बितेको खबर पनि आउँथ्यो, कहिले त्यसै टर्थ्यो । हुच्चिल कराउनु र कसैको मृत्यु हुनु सायद संयोग मात्र हुने थियो होला । तर त्यो अनिष्टको संकेत दिने हुच्चिल कराउँदैनन्, दहिचोकमा । हुच्चिल नकराउँदैमा अनिष्ट नहुने भन्ने कुरो पनि भएन । तै जेहोस्, गाउँबाट हुच्चिल हरायो ।
अनिष्टको खबर ल्याउने अर्को पनि जन्तु सुनिन्थ्यो, हाप्सिलो । ‘हाप्–हाप्’ गर्दै कराउने भएकाले होला, त्यो आवाज निकाल्ने जन्तुलाई हाप्सिलो भन्थे ठुला मान्छे । ‘आज राति हाप्सिलो कराको सुन्यौँ ? लौ कताबाट जुठाको खबर आउने भयो ।’ बिहान उठ्ने बित्तिकै तल्लाघर–माथ्लाघरको भयभीत संवाद हुन्थ्यो । अचेल जुठो–सुतकको खबर ल्याउने माध्यम फेरिए, हात हातका मोबाइल काफी भए । तै जेहोस्, गाउँबाट हाप्सिलो हरायो ।
४ कक्षा पढ्दै गरेको बेला हो, विष्णुकट्टा (सिंहदेवी प्रावि) बाट फर्कँदै थियौँ । खोमनाथ बाको घर उत्तर, कमलबाको घर पछाडि सहपाठी विष्णुहरूको गहुँ बारी थियो । दाना पसेको गहुँको बाला चुँडेर पाइन्टको तल्लोभाग बाट छिराउँथ्यौ अनि जति हिँड्यो त्यो त्यति नै माथि सर्थ्यो, त्यसको चिलाई र सक्सक्मा रमाउँथ्यौ । गहुँबारीमा बिचमा पुग्दा नाकै बटार्ने नमिठो सिनो गन्हायो । जति पाइला चाल्यो, उति नै पिरो राग । आलिका फेदमा पुग्दा देखियो, बिरालो जस्तै तर सानो आकारको कुकुर जस्तो जन्तु कहिले हो कहिले मरेको रहेछ । सहपाठी नै हेमसागरले भन्यो, ‘बन ढाडेको पो मरेको रहेछ, अस्ति अस्ति कुखुरा चोरेर खाने यही बन ढाडे होला ।’ अचेल गाउँमा सबै थोक हरायो । न खेतमा गहुँ बारी, न खोरमा कुखुरा, न कुखुरा चोर्ने बन ढाडे । तै जेहोस्, गाउँबाट बन ढाडे हरायो ।
साँझमा छुर र चट्टी खेल्दै गर्दा झमक्कै हुन्थ्यो । पश्चिम रतुवा बगर तिरबाट आवाज आउँथ्यो ‘हु’ गरेर । क्रमशः त्यो फैलिँदै जान्थ्यो गेउरीया खोला तरेर किस्नी तर्फ । अनि उताबाट पनि आउँथ्यो त्यस्तै आवाज । ‘लौ शुरु भयो, स्यालको हुँइया’ भन्ने जान्ने सुन्ने । साँझमा बारी–पारी गर्दा फुत्तै कुकुर जस्तो जन्तु हामीलाई उछिन्थ्यो, कहिले बाटो काटेर झाडीमा हामफाल्थ्यो । अझै पनि छ रतुवा खोला । भ्याएको बेला बग्दैछन् गेउरीया र किस्ने खोला पनि । साँझ उसैगरी पर्दैछ, दहिचोकमा । छुर र छट्टी खेल्ने फुर्सद चाहिँ छैन अचेलका बालबालिकालाई । कैदी बनाएको छ प्रविधिले । तै जेहोस्, गाउँबाट छुर, चट्टी र चुङ्गी मात्रै होइन, स्याल पनि हरायो ।
बालवयकै कुरा हो, सहपाठी लीलाको घर अलि गहिरोमा थियो । सामुन्नेमा बालुवा डाँडो थियो । उसका घरमा म पुग्नु र मेरा घरमा उ आउनु बेहिसाब थियो । उसको घर नजिकै पुग्दा बालुवाको डाँडोमा परेका दुला देखाउँदै भन्थ्यो, ‘हेर, यो ख्याँक्रीको दुला हो, रात भरि खोतलेछन् ।’ बनढाडेसँग मात्रै होइन, ख्याँक्रीसँग पनि कुखुरा जोगाउन उस्तै गाह्रो भन्थे । खुँगीमा राखेका चल्ला बिहान हेर्दा आधा मात्रै देखे पछि आमाहरु भन्थे, ‘आज पनि चल्ला भ्याउसाले लगेछ ।’ अचेल दहिचोकले खुँगीमा कुखुरा पाल्दैन । कसैका चोरिँदैनन् पनि । तै जेहोस्, गाउँबाट ख्याँक्री र भ्याउसो हरायो ।
बर्खाका बेला माछा मार्ने खुब चलन थियो गाउँमा । बल्छी, लोथा थापेर होस् कि जाल थापेर । म भन्दा पनि अरू दौंतरीहरु बल्छी–लोथामा रमाउने । धिमाल दिदी–काकीहरू जाल थाप्ने । पैयाँ, हिले, टुकुना, गैँची, सिंगी, मुङ्ग्री, पोथी अनेक रूप र रंगमा माछा पर्थे । खोला र कुलाका भित्तामा दुला भित्र हात हालेर तननन परेको बाम माछो तान्दा हेर्नेको धुइरो हुन्थ्यो । अचेल गाउँका खोला–कुला प्राणहीन भए । माछा मात्र होइन, भ्यागुता र गंगटा समेत पाल्न छोड्यो गेउरीया खोलो । उही धित मार्न र जिब्राको बिख मार्न खाइने माछाको पालन क्षेत्र पनि फेरियो । बल्छी, लोथा खेल्ने र जाल थाप्ने चलन हरायो । धुर र आलिमा थाप्न बनाइएका ढोक्साहरु मक्किएर गए । तै जेहोस्, गाउँबाट सिंगी, मुङ्ग्रीसँगै बाम पनि हरायो ।
साँझ पर्नु अघि घर हेरिन्न थियो । झाडीबाट झ्याउँकिरीको अर्लामले दिन ढल्किएको संकेत गथ्यो । ‘लु झ्याउँकिरी बास्न थाले, बस्तु थन्क्याउने बेला भयो’ भन्थे घरबुढा–घर बुढीहरू । साँझ परे पछि घरै भित्र नाच्न आई पुग्थे जुनकिरी । पाहुना बनेर आएका ती निर्दोष जुनकिरी भुराभुरीको झ्यालखानामा पर्थे । समाएर सिसाको बोतलमा हालेर उनीहरूलाई कैदी बनाउँदा हामी भुराको अनुहार जुनकिरीको पुच्छर भन्दा बढी चम्किलो हुन्थ्यो । अचेल गाउँमा जुनकिरी भन्दा चम्किला बिजुलीका चिम पुगेका छन् । तर जुनकिरीको मधुरो पुच्छर बल्दा पनि चम्किने अनुहारमा तेजस्वी विद्युतका चिमले पनि आभा भर्न सकेको छैन । झ्याउँकिरी भन्दा बेस्सरी कराउने अर्लाम हात हातमा छ । तर उसले झ्याउँकिरीको धिमा आवाजलाई खिचेर उत्तिसारो सजग पनि बनाउन सकेको छैन । तै जेहोस्, गाउँबाट जुनकिरी र झ्याउँकिरी पनि हराए ।
गोहाबारी स्कुल (वाणी मावि) खेतै खेत गइन्थ्यो । अलिक मास्तिर नेपालका कित्तामा पुगे पछि हिउँदमा, मकैबारीका बिचमा लहरामा फलेको हुन्थ्यो घुर्मी । स्कुल जाँदा भन्दा आउँदा भोकाएका बेला भेटे पाकेको नभेटे कट्मिरो भए पनि अमिलो अमिलो घुर्मी खाँदा कम्ता आनन्द आउँदैन थियो । अलिक ठुलो आकारको, करिब सुन्तला जत्रो त्यही स्वादको फल पनि हुन्थ्यो । त्यसलाई कुर्मी भन्थ्यौँ । घुर्मी र कुर्मीले भोक मेटेर घर पुग्दा मोही र बासीभात खाने हतारो पनि नहुने । तर अचेल मोही र बासीभातले टर्ने भोक पनि हरायो, खेतै खेत स्कुल जाने बाटो पनि हरायो । तै जेहोस्, गाउँबाट घुर्मी र कुर्मी पनि हरायो ।
किन हराए यी बोट, बुट्यान र जन्तु–जनावर ? हराएकाहरू मध्ये केही मात्र झुल्किए अहिले मेरो सम्झनामा । गाउँको खेती योग्य जमिनमा बालुवाको बिस्कुन लाग्यो, प्लटिङ भयो । खेतीमा मेशिन–औजार र विषादीमा बाढी पस्यो, घुर्मी–कुर्मी–पिचिङ्गेडी नासिए । खोलो बग्नै बिर्सियो, माछा मासिए । झाडी फाँडिए–कुला भत्काइए जुनकिरी र झ्याउँकिरी बसाइसरे । दुला–गौँडामा मानिसको अतिक्रमण भयो, ख्याँक्री–स्याल–बन ढाडेको नस्लमै बन्ध्याकरण भयो । अनि अरू पनि धेरै चिज मासिए–नासिए । कतिको त, गुगलमा खोज्दा समेत फोटो सम्म भेटिएन । अब के गरी चिनाउने यस्ता पनि वनस्पति र जीवजन्तु थिए भनेर हाम्रा सन्तानलाई ? हुन त न चिनाउँदा पनि त केनै नापिएला र होइन ?
अनि तपाईँको तिर चाहिँ के के हराए ? के के सम्झनु भएको छ नि ?

Leave a Reply