चितवन । नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख इन्जिनियर शालिकाराम लम्साललाई कार्यालय समयमा नै नचिनेका व्यक्तिले कालो मोसो दलेका छन् ।
आज मह्यान्ह कार्यालय समयमा नै नचिनेका मानिसहरु प्रवेश गरि कालो मोसो दल्नुका साथै दुर्व्यवहार समेत गरेका हुन् ।
कार्यालय प्रमुख लम्सालका अनुसार मुखमा मास्क लगाएका दुई जना व्यक्तिले हातमा झुण्ड्याएको झोलामा ल्याएको कालो पदार्थ उनलाई फालेका हुन् । उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘म कार्यालयमा काम गरिरहेको थिएँ, अचानक नचिनेका दुई जना व्यक्तिहरु सेवाग्राहीको भेषमा आएर ममाथि कालो पदार्थ फालेका हुन् ।’
लम्सालले जाने बेलामा नेकपा बहुमत पार्टी जिन्दावाद भन्दै गएको पनि नेपाल प्रेसलाई जानकारी दिए । आफूलाई कालो पदार्थ हान्ने व्यक्तिहरु पहिचान भइसकेको र प्रहरीमा जाहेरी दिने तयारी गरेको उनले बताए ।
लम्साललाई कालो मोसो फाल्ने व्यक्तिहरु गएपछि उनीहरुले शालिकराम लम्साललाई कारबाही किन भन्ने पर्चा सामाजिक सञ्जालमा राखेका छन् ।
पूर्वी चितवनको विभिन्न ठाउँमा कित्ता काट गर्दा घुस लिएको, कित्ताकाट गर्न नमिल्ने जग्गालाई पनि कित्ताकाट गरेर भुमाफियालाई सहयोग गरेको, सेवाग्राहीसँग रकम लिने गरेको लगायतका आरोप लगाइएको छ ।
गत असार ३० गते बहुमत पार्टीका क्षेत्र नम्बर ३ इन्चार्ज दिपकले नापी कार्यालय खैरहनी, पर्साका नाममा पत्र काटेर सहयोग रकमको माग गरेका थिए ।



Leave a Reply