काठमाडौं । बालुवाटारको बहुचर्चित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पार्ने कार्यमा संलग्न प्रमुख दोषी तत्कालीन अख्तियार प्रमुख सूर्यनाथ उपाध्याय रहेको भन्दै अनुसन्धानका लागि अख्तियारमै निवेदन दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साउन २७ गते दर्ता भएको उजुरीमा ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिको हो भनेर निर्णय गर्ने तत्कालीन अख्तियार प्रमुख उपाध्यायमाथि छानबिनको माग गरिएको हो ।
तथ्य र प्रमाणहरूले जग्गा व्यक्तिको नाममा लैजाने प्रकरणका प्रमुख दोषी मध्येका एक उपाध्याय रहेको भन्दै विभिन्न मितिका निर्णयहरू समेत पेश गरिएको छ ।
यो समाचार पनि पढ्नुहोस्- ‘टीम सूर्यनाथ’ को त्यो निर्णय- ललिता निवास जग्गा व्यक्तिकै ठहरेपछि भएको थियो किनबेच (प्रमाणसहित)
२०५९ मंसिर २६ गते अख्तियारकै उजुरी छानबिन महाशाखाले बालुवाटारको जग्गा व्यक्तिको नाममा गएकोबारे अनुसन्धान अघि बढाउन मनासिव भएको भन्दै फाइल अघि बढाएकोमा २०६० असार १८ गते उपाध्यायले प्रमुख आयुक्तको हैसियतले उजुरी नै तामेलीमा राख्ने निर्णय गरेको उजुरीमा उल्लेख छ ।
उपाध्यायको निर्णयकै कारण जग्गा सरकारी होइन व्यक्तिको हो भनेर किनबेच गर्ने कानूनी आधार तयार गरिदिएकाले उनीमाथि कारवाही माग गरिएको छ ।
विशेष अदालतले २०७६ माघ २२ मा सो जग्गा प्रकरणमा भ्रष्टाचार भएको ठहर गरिसकेकाले यसका योजनाकार शोभाकान्त ढकाललगायतले उपाध्यायलाई त्यसबेला पटकपटक भेटेको तथ्यका कारण उनी दोषी रहेको दाबी गरिएको छ ।
उजुरीमा उपाध्यायलाई उन्मुक्ति दिएर किनबेचमा संलग्नलाई मात्र कारबाही गरिनु गलत हुने भन्दै उनीमाथि छानबिन गर्न माग गरिएको छ । उजुरी नयाँ बानेश्वरका हरिवहादुर कार्कीले दर्ता गराएका हुन् ।

Leave a Reply