काठमाडौं । रुपन्देही र कैलाली कारागार अनुगमनपछि राष्ट्रिय मानव अधिकार आयोगले औपचारिक भनाइ सार्वजनिक गरेको छ ।
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई राखिएको रुपन्देही कारागार आयोगकी सदस्य डा. लिली थापासहितको टोलीले हिजो अनुगमन गरेको थियो ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा रवि लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा हावा पास हुन नसकेको, कोठाबाहिर हिँडडुल गर्न नदिइएको उल्लेख छ ।
‘कोठासँगै खुला ट्वाइलेट रहेको, स्वास्थ्यको दृष्टिकोणले निजलाई राखिएको कोठा उपयुक्त नभएको र अदालतबाट आदेश हुँदा समेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको छ’, आयोगले भनेको छ ।
रुपन्देही कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, ज्येष्ठ नागरिक र बिरामीलाई राख्ने छुट्टै स्थान नभएको, पर्याप्त पत्रपत्रिका उपलब्ध नभएको, सामाजिक सुरक्षा भत्ता पाउनुपर्नेहरू वञ्चित रहेको, बेलाबे जेलमा सर्प छिर्ने गरेको र आधारभूत आवश्यकता व्यवस्थापनका लागि पर्याप्त बजेट नभएको पाइएको आयोगले बताएको छ ।
यसैगरी कैलाली कारागारमा हिंसात्मक मुठभेड हुँदा राज्य संयन्त्रले समस्या समाधानको पर्याप्त पहल नगरेको, सुरक्षाकर्मीको संख्या न्यून रहेको, सुरक्षा चेकजाँच अत्यन्तै फितलो हुनुका साथै स्थानान्तरण प्रक्रिया अपारदर्शी रहेको आयोगको निचोड छ ।
कारागारको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन, कारागारलाई सुधार गृहको रूपमा विकास गर्न, कारागार व्यवस्थापन र कारागारभित्रको प्रशासनिक क्रियाकलाप पारदर्शी बनाउन, कैदीबन्दीप्रति मानवोचित व्यवहार गर्न साथै देशभरका कारागारलाई मानव अधिकारमैत्री बनाउन सरकारलाई आयोगले निर्देशनसमेत दिएको छ ।


Leave a Reply