क्यान्सरदेखि मानसिक रोगसम्मका रोगलाई व्यवसायजन्य रोगको कानूनी मान्यता (सूचीसहित)

काठमाडौं । तपाइलाई दिनभर काम गर्ने उद्योगको धुलो, केमिकल वा मेसिनको आवाजले स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ? वा लगातार कम्प्युटरमा काम गर्दा हात वा नाडी दुख्ने समस्याले सताइरहेको छ ? अब यस्ता समस्यालाई व्यक्तिगत मात्र नभई सरकारले ‘व्यवसायजन्य रोग’को कानुनी मान्यता दिएको छ ।

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत व्यवसायजन्य रोगको सूची राजपत्रमा प्रकाशित गरेको हो । श्रम नियमावली, २०७५ ले दिएको अधिकार प्रयोग गरी सार्वजनिक गरिएको यो सूचीले पहिलो पटक कामको प्रकृति र कार्यस्थलको वातावरणका कारण श्रमिकमा देखिने दर्जनौँ शारीरिक तथा मानसिक स्वास्थ्य समस्यालाई औपचारिक रूपमा व्यवसायजन्य रोगको मान्यता दिएको छ ।

यसले लाखौँ श्रमिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न र रोजगारदातालाई थप जिम्मेवार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने देखिएको छ । यो सूचीले रोगलाई विभिन्न कारक तत्त्व, प्रभावित अंग प्रणाली र क्यान्सर गरी विभिन्न वर्गमा बाँडेको छ ।

कुन पेशामा कस्तो रोगको जोखिम ? रासायनिक पदार्थको सम्पर्कबाट हुने रोग

कार्यस्थलमा प्रयोग हुने केमिकलको सम्पर्कमा आउँदा विभिन्न गम्भीर रोग लाग्न सक्छ । सूचीमा यी प्रमुख कारक तत्त्व र तिनबाट हुने रोग समावेश छन् ।

क्रोमियमः स्टेनलेस स्टील, पेन्ट, छाला प्रशोधन र धातु प्लेटिङ उद्योगमा काम गर्नेलाई यसको कम्पाउन्डबाट विभिन्न रोग लाग्न सक्छ ।

लिड (सिसा): लिड एसिड ब्याट्री, ग्याल्भेनाइजेसन, पेन्टिङ र इलेक्ट्रोनिक्स एसेम्बलिङ उद्योगका श्रमिक यसको उच्च जोखिममा छन् ।

मर्करी पारा थर्मोमिटर, फ्लोरोसेन्ट बत्ती बनाउने र दन्त चिकित्सामा अमलगम भर्ने काम गर्नेलाई पाराबाट हुने रोगको खतरा हुन्छ ।

बेन्जिनः लुब्रिकेन्ट, प्लास्टिक, रबर, रङ र रासायनिक प्रयोगशालामा काम गर्नेहरूमा बेन्जिन र यसका यौगिकहरूले रोग निम्त्याउन सक्छन् ।

कार्बन मोनोअक्साइड, हाइड्रोजन सल्फाइड–साइनाइडः श्वासप्रश्वासमा अवरोध गर्ने यी ग्यासको सम्पर्कमा आउने श्रमिक प्रभावित हुन सक्छन् ।

सल्फर अक्साइडः सल्फरयुक्त इन्धन प्रयोग गर्ने र चिनी उत्पादन गर्ने उद्योगका श्रमिकमा यसबाट श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्छ ।

जिंकः ग्याल्भेनाइजिङ र ड्राई सेल ब्याट्री उद्योगमा काम गर्ने जिंकको कम्पाउन्डबाट प्रभावित हुन सक्छन् ।

अन्यः अर्गानिक सोल्भेन्ट्स, क्लोरीन ९कागज र ब्लिचिङ पाउडर उद्योग० र फार्मास्युटिकल एजेन्टबाट हुने रोगहरूलाई पनि सूचीकृत गरिएको छ ।

२. भौतिक कारणले हुने रोग

कार्यस्थलको भौतिक वातावरणले पनि श्रमिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ ।

उच्च ध्वनि: ठूलो आवाज निकाल्ने मेसिन चल्ने उद्योग वा कार्यस्थलमा काम गर्नेमा श्रवण शक्ति ह्रास हुने समस्यालाई व्यवसायजन्य रोग मानिएको छ ।

विकिरण: वेल्डिङ, लेजर वा अन्य प्रक्रियाबाट निस्कने अल्ट्राभायोलेट, भिजिवल र इन्फ्रारेड जस्ता किरणको सम्पर्कमा आउँदा आँखा र छालामा पर्ने असर ।

अत्यधिक तापक्रमः उच्च तापक्रममा काम गर्नुपर्ने जस्तै, भट्टी वा फलाम पगाल्ने उद्योगका श्रमिकलाई हुने स्वास्थ्य समस्या ।

३. जैविक तत्त्वबाट हुने संक्रामक रोग

विशेषगरी स्वास्थ्यकर्मी र पशुपालक किसान विभिन्न संक्रामक रोगको जोखिममा हुन्छन् । हेपाटाइटिस बी–सी र एचआईभीः बिरामीको रगत वा शारीरिक तरल पदार्थको सम्पर्कमा आउने चिकित्सक र स्वास्थ्यकर्मी ।

ब्रुसेलोसिस र एन्थ्रेक्सः गाईवस्तु पालन र मासु प्रशोधन गर्नेमा जनावरबाट सर्ने यी रोगको जोखिम हुन्छ ।

टिटानसः खिया लागेका औजार वा वस्तु प्रयोग हुने कार्यस्थलमा ।

क्षयरोगः जुनसुकै कार्यस्थलमा पनि सर्न सक्ने सम्भावना भएकोले यसलाई समेत समावेश गरिएको छ ।

लेप्टोस्पाइरोसिसः पशुपालनमा संलग्नलाई जनावरको मूत्रबाट सर्न सक्ने यो रोग ।

४. श्वासप्रश्वास प्रणालीमा असर पार्ने रोग

कार्यस्थलको धुलो र धुवाँ फोक्सोका लागि सबैभन्दा ठूलो शत्रु हो ।

निमोकोनियोसिसः यो फोक्सोमा धुलो जमेर हुने रोग हो ।

सिलिकोसिस, एन्थ्राकोसिस, एस्बेस्टोसिसः सिलिका, कोइला र एस्बेस्टोसको खानी वा प्रशोधन केन्द्रमा काम गर्नेहरूलाई लाग्ने फोक्सोको गम्भीर रोग ।

साइडरोसिसः फलाम पगाल्ने वा फलामको धुलोमा काम गर्नेमा देखिने रोग ।

ब्यागासोसिसः उखुको धुलोमा काम गर्ने (विशेषगरी चिनी मिल) श्रमिकलाई हुने ब्रोन्कोपल्मोनरी रोग ।

दीर्घकालीन अवरोधक पल्मोनरी रोगः कोइला, ढुंगा, काठ, अन्न वा कपडाको धुलोमा लामो समय काम गर्नेमा देखिने यो रोगलाई पनि व्यवसायजन्य रोग मानिएको छ ।

५. छाला र मांसपेशी तथा हाडजोर्नीका रोग

लामो समयसम्म एउटै प्रकृतिको काम गर्दा शरीरका विभिन्न अंगमा असर पर्छ ।

छालाका रोगः कामको सिलसिलामा सम्पर्कमा आउने रसायन वा अन्य वस्तुका कारण हुने एलर्जिक र इरिटेन्ट कन्ट्याक्ट डर्माटाइटिस ।

मांसपेशीगत रोगः कार्पल टनेल सिन्ड्रोमः हात र नाडीको अत्यधिक वा दोहोरिने प्रयोग, कम्पन हुने मेसिन चलाउनेमा देखिने नाडीको नशा च्यापिने समस्या ।

टेनोसिनोभाइटिस र एपिकोन्डिलाइटिसः नाडी र कुहिनामा दोहोरिने र बलपूर्वक गरिने कामबाट हुने दुखाइ र सुजन ।
बर्साइटिसः कुहिना वा घुँडा टेकेर लामो समय काम गर्दा हुने सुजन ।

मेनिस्कस लिजन्सः लामो समय घुँडा खुम्च्याएर वा बसेर काम गर्दा घुँडामा हुने चोट ।

६. मानसिक तथा व्यवहारिक रोग

यो सूचीमा सबैभन्दा राम्रो पक्ष मानसिक स्वास्थ्यलाई पनि समेटिएको छ ।

आघातपछिको तनाव रोगः कामको सिलसिलामा कुनै भयानक वा आघातजन्य घटना (जस्तैः दुर्घटना, हिंसा) भोग्नुपरेका श्रमिकमा देखिने मानसिक समस्यालाई व्यवसायजन्य रोगको रूपमा मान्यता दिइएको छ ।

७. व्यवसायजन्य क्यान्सर

सूचीमा सबैभन्दा गम्भीर रोग क्यान्सरलाई पनि समेटिएको छ, जसले निश्चित पदार्थको सम्पर्कमा आउने श्रमिकलाई क्यान्सरको जोखिम हुने तथ्यलाई कानुनी रूपमा मान्यता दिएको हो ।

क्यान्सरका कारकः एस्बेस्टोस, क्रोमियम भीआई, कोइला टार, बेन्जिन, आयोनिक विकिरण, काठको धुलो, आर्सेनिक, क्याडमियम र हेपाटाइटिस बी–सी भाइरसको सम्पर्कमा आउने कामलाई क्यान्सरको जोखिमयुक्त मानिएको छ ।

व्यवसायजन्य रोगलाई सरकारले मान्यता दिएपछि अब के हुन्छ ?

व्यवसायजन्य रोगलाई सरकारले मान्यता दिएर सूची प्रकाशित गरेसँगै अब कुनै पनि श्रमिकलाई आफ्नो कामको कारणले यीमध्ये कुनै रोग लागेको प्रमाणित भएमा, उसले सामाजिक सुरक्षा कोष वा सम्बन्धित निकायमार्फत उपचार खर्च र क्षतिपूर्ति दाबी गर्न सक्नेछन् ।

यसले रोजगारदातालाई पनि आफ्नो कार्यस्थललाई सुरक्षित बनाउन, जोखिमयुक्त पदार्थको प्रयोगमा सावधानी अपनाउन र श्रमिकको नियमित स्वास्थ्य परीक्षण गराउन कानुनी रूपमा बाध्य पार्नेछ । यो निर्णयले नेपालमा व्यावसायिक स्वास्थ्य र सुरक्षाको क्षेत्रमा एक नयाँ अध्यायको सुरुवात गरेको छ ।

के छ श्रम ऐन, २०७४ र नियमावलीमा व्यवस्था ?

श्रम ऐन २०७४ को परिच्छेद १२ मा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी व्यवस्था रहेको छ । जसको दफा ८२ मा व्यवसायजन्य रोगको उपचार सम्बन्धी विशेष व्यवस्था उल्लेख छ । उपदफा १ मा कुनै प्रतिष्ठानको काम गर्दा कुनै श्रमिकलाई तोकिए बमोजिमको कुनै व्यवसायजन्य रोग लागेमा उक्त प्रतिष्ठानले त्यस्तो रोगको उपचारको लागि तोकिए बमोजिमको उपचार खर्च तथा त्यस्तो रोगको उपचार हुन नसक्ने भएमा तोकिए बमोजिमको क्षतिपूर्ति रकम श्रमिकलाई दिनु पर्ने व्यवस्था छ । उपदफा २ मा श्रमिकले सामाजिक सुरक्षा कोषबाट व्यवसायजन्य रोगको उपचार खर्च वा क्षतिपूर्ति रकम पाउने भएमा प्रतिष्ठानले उपदफा १ बमोजिमको उपचार खर्च वा क्षतिपूर्ति रकम दिनु नपर्ने उल्लेख छ ।

श्रम नियमावली २०७५ को नियम ५२ मा व्यवसायजन्य रोगको सूची निर्धारण तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था रहेको छ । जसको उपनियम १ मा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी ऐनको दफा ८२ को उपदफा १ बमोजिमको व्यवसायजन्य रोगको सूची तोक्ने व्यवस्था छ ।

यस्तै उपदफा २ मा कुनै श्रमिकलाई उपनियम १ बमोजिमको कुनै व्यवसायजन्य रोग लागेको हो वा होइन भन्ने कुराको विवाद भएमा सम्बन्धित श्रमिकले यकिन गर्नको लागि कार्यालयमा निवेदन दिन सक्नेछ । उपनियम ३ मा उपनियम २ बमोजिम निवेदन परेमा वा कुनै श्रमिकलाई लागेको रोग व्यवसायजन्य रोग हो वा होइन भन्ने सम्बन्धमा विवाद उत्पन्न भएमा सरकारले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मापदण्डलाई आधार मानी विशेषज्ञ चिकित्सकको समिति गठन गरी त्यस्तो समितिबाट प्राप्त प्रतिवेदनको आधारमा आवश्यक निर्णय लिने छ ।

उपनियम ४ मा उपनियम ३ बमोजिम कुनै श्रमिकलाई व्यवसायजन्य रोग लागेको ठहर भएमा त्यस्तो श्रमिकलाई रोजगारदाताले दिनुपर्ने उपचार खर्च र क्षतिपूर्तिको रकम निर्धारण गर्ने तथा त्यस्तो रकम उपलब्ध गराउने सम्बन्धी अन्य व्यवस्था श्रम मन्त्रालयले तोके बमोजिम हुने व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *