डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–५ का युवा जयबहादुर शाहीले लामो समयसम्म गैरसरकारी संस्थाहरूमा काम गरे । कृषि प्राविधिक (जेटिए) पढेका उनी पछिल्लो समय किसानीमा लागेका छन् ।
उनले जिल्ला सदरमुकाम नजिकै कृषि तथा पशुपालन व्यवसाय सुरु गरेका छन् । तरकारी खेती, कुखुरा पालन, तरकारीका बेर्ना उत्पादन, बङ्गुर पालन र बाख्रा पालनमा आफ्नो भविष्य खोज्दै छन् उनी । डोटीमा पहिलो पटक व्यावसायिक रूपमा गोब्रे च्याउ उत्पादन गर्ने किसान शाही नै हुन्।
आदर्श गाउँपालिका–१ का २४ वर्षीय मुकुन्द अवस्थी पनि अचेल किसानीमै व्यस्त छन् । तीन वर्षे कृषि विज्ञान (आईसीएजी) अध्ययन सकेका मुकुन्द विदेश जाने तयारीमा थिए । तर विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले उनी विदेश जान पाएनन् ।
त्यसपछि उनी व्यावसायिक कृषिमा होमिए । अचेल मुकुन्द तरकारी खेतीमा व्यस्त छन् । उनी कृषि पेसाबाट राम्रो आम्दानी भइरहेको बताउँछन् ।
जोरायल गाउँपालिका–१, गैराका भास्कर भट्टले व्यावसायिक कृषि खेती सुरु गरेका छन् । भट्टले ३५ रोपनी जमिनमा किवी खेती थालेका हुन् । उनले किवीको नमुना बगैँचा बनाएका छन् । गत वर्ष १० क्विन्टल किवी भारत पठाएको भट्ट बताउँछन् ।
पछिल्लो सयम डोटीका किसानहरू व्यावसायिक कृषिमा अग्रसर हुन थालेका छन् । विगतमा गुजारामुखी कृषि कार्य गर्दै आएका किसानहरू केही वर्षयता व्यावसायिक कृषिप्रति आकर्षित भएका हुन् ।
कृषि ज्ञान केन्द्र डोटीका अनुसार जिल्लामा व्यावसायिक रूपमा खेती गर्नेको सङ्ख्या बढ्दै छ । तरकारी खेती, फलफुल खेती, चैते धान, च्याउ खेती, मौरी पालन लगायतका क्षेत्रमा किसानहरू आफ्नो भविष्य खोज्न थालेका छन् ।
ज्ञान केन्द्र डोटीका अनुसार गत आर्थिक वर्ष (२०८१/८२) १७.५ हेक्टरमा आलु खेती विस्तार भएको छ । यस्तै, प्याज र लसुन खेती पनि बिस्तार भएको छ । किसानहरूले व्यावसायिक रूपमा गोब्रे र सिताके च्याउको उत्पादन गर्न थालेका छन् ।
डोटी जिल्लामा पहिलो पटक कफी बगैँचा स्थापना भएको ज्ञान केन्द्रका प्रमुख गङ्गादत्त अवस्थी बताउँछन् । उनले भने ‘अमिला जातका फलफूल नर्सरी स्थापना गर्ने कार्य सम्पन्न भएको छ ।
‘किसानहरूले व्यावसायिक रूपमा चैते धान बाली लगाउन सुरु गरेका छन्’ ज्ञान केन्द्र प्रमुख अवस्थीले भने ‘तीन हेक्टर क्षेत्रफलमा मेसिनबाट धान रोपिएको छ, आठ हेक्टरमा मानिसले रोपेर धान खेती गरेका छन् ।’
रोड काेरिडरमा व्यावसायिक तरकारी खेती, गँड्यौला मल उत्पादनमा वृद्धि भइरहेको अवस्थीले बताए । उनले परीक्षणको रूपमा किन्नो, उन्सु, स्ट्रबेरीको खेतीको सुरुवात गरिएको जानकारी दिए ।
किसानहरूलाई कृषि प्रविधिका विषयमा जानकारी दिन नियमित रूपमा कृषि पाठशाला सञ्चालन भइरहेका ज्ञान केन्द्र प्रमुख अवस्थीले बताए । उनले गत आर्थिक वर्षमा पाँच ओटा कृषि पाठशाला सञ्चालन भएको जानकारी दिए ।
कृषि व्यवसायमा आशालाग्दा धेरै कामहरू भएको अवस्थीको भनाई छ । उनले चालु आर्थिक वर्षमा ‘एक पालिका, एक नमुना बगैँचा’ स्थापना गर्ने ज्ञान केन्द्रको कार्यक्रम रहेको बताए । एक पालिका एक व्यावसायिक उत्पादन क्षेत्र, चैते धान खेती बिस्तार, मुङ, कोदो, बसन्ते मकै, चिनो लगायतका परम्परागत बालीहरूको बिस्तार लगायतका कार्यक्रमहरू यस आर्थिक वर्षमा अघि बढाइने उनी बताउँछन् ।
नवीनतम प्रविधि (फोहोरा सिँचाई, थोपा सिँचाई, मल्चिङ, विड म्याड) लाई यस आर्थिक वर्षमा प्राथमिकतामा राखिएको बताउँदै अवस्थीले भने ‘हिउँदे फलफूलको नर्सरी र बगैँचा सुदृढीकरणमा जोड दिइनेछ ।’

Leave a Reply