नर्वेमा नेपाली उज्यालो

‘दाइ, म सानो हुँदा ऊ त्यो भित्ताको बस्तीमा आमासँग केही महिना बसेको छु नि !’

धरानमा भेटिँदा निराजन बस्तीतिर देखाउँदै ती किशोरले यसो भनेको पनि २८ वर्ष भइसकेछ ।

यति लामो समयको अन्तरालपछि त्यसबेलाको उनै किशोर प्रकाश आङ्देम्बेलाई हालै सोधेँ, ‘भाइ, तपाईंहरू त्यो सुकुमबासी बस्तीमा किन थोरै समय मात्रै बस्नुभएको ?’
‘सुकुम्बासी बस्ती, त्यसमाथि हामी आमाछोरा त डेरा पो गरेर बस्थ्यौँ त दाइ । त्योबेला एउटा छाप्रो हाल्नेसम्मको हैसियत थिएन नि, हाम्रो’, प्रकाशको स्पष्टीकरणले मर्ममै स्पर्श गर्‍यो ।

प्रकाशकी जननी साँच्चिकै बघिनी रहिछन् । त्यसबेला दमकबाट साहित्यिक कार्यक्रम भ्याउन धरान आएका बेला पहिलोपटक प्रकाशको अनुहार हेर्दा नै उनी डमरुजस्ता लाग्थे । उनमा लघुताभाषको कुनै छेकछन्द थिए ।

दमकमा रहेर पूर्वी नेपालमा सिर्जनाका धुनले धुम मच्चाइरहेको बेला केवल दाँतको होइन, आँतैको हाँसोबाट उनको मुहारमा जहिल्यै उज्यालो आभा पोतिएको देखिन्थ्यो ।

ती सङ्घर्षका दिन

डेराको बास थियो, पेशा पूर्णकालीन लेखक अनि शून्य आम्दानी, खल्ती जहिल्यै खालि । त्यसमाथि उनैको डेरामा श्रष्टाको ठूलो जमघट चल्थ्यो, ‘जोगीको घरमा सन्यासी पाहुना’ को तालजस्तो !

दमकमा बस्दा पूर्वमा नाम चलेकै कविको काठको घरमा डेरा थियो, उनको । महिना मर्नासाथ घरधनी कवि भाडाका लागि ढोका ढक्ढक्याउँथे, टक…टक…टक…। खाली खल्तीवाल पूर्णकालीन लेखक प्रकाशले यो वा त्यो बाहना झिकेर एक दुई महिना त घरधनीलाई छक्याउँथे, अर्जेन्टिनी मेसीले बल छक्याएझैँ । तर, बाहना सकिएपछि उनी साहित्यिक यात्रामा निस्कँदारहेछन्, कहिले पाँचथर, कहिले इलाम अनि कहिले झापा । कतै प्रमुख अतिथि त कतै विशेष अतिथि बनेर । गजल र रुवाई वाचनले तालीको गड्गडाहट पाउँदा खालि खल्तीको पीडा केही क्षणलाई भए पनि बिर्सन ठूलो सहयोग मिल्दोरहेछ ।

एक दिन अर्का पूर्णकालीन कवि चन्द्रवीर तुम्बापोसँग मेरो कुरा हुँदै थियो, कुराकानीको सेरोफेरोमा आइपुगे, उनै प्रकाश आङ्देम्बे । प्रकाश कतिसम्म गर्दारहेछन् भने, राति अध्यारोमा एउटा हातमा खुकुरी र अर्को हातमा टर्चलाइट लिएर मिल्ने साथीलाई साथमा लिई डेराबाट निस्कँदारहेछन् । अनि, पानी बग्ने वा जम्ने होलीतिर टर्च बालेर खुकुरीले प्वाक्क प्रहार गर्दा रहेछन् ।

यसरी राति हुँदो माछाको शिकार गरेर पनि भोजन व्यवस्थापन गरेको बिर्सिनसक्नुका सम्झना प्रकाशका लागि मूल्यमा दाँज्न नमिल्ने सम्पतिका रूपमा संग्रहित छन् । यस्ता अनुभवको संगालोले प्रकाशलाई आगतको यात्रामा फड्को मार्ने ठूलो ऊर्जाको काम गरिरहेको छ ।

वास्तवमा गरिब भए पनि धीरताले, कुरूप भए पनि विनयशीलताले, बासी खाना भए पनि तताएर, अनि पुरानै लुगा भए पनि धोएर जीवनलाई सुशोभित बनाउन सकिन्छ । आँधीमय संघर्षसँगको सामनामा प्रकाशले यही नियमलाई आत्मसात गरेको देखिन्छ ।

नाडीमा बाँधिएको महंगो घडीले समयलाई आफ्नो खटनमा राख्नै सक्दैन । समय बलवान छ । त्यही बलवान समय प्रकाशको पक्षपाति भएर आयो । त्यो समय थियो, पूर्वमा गजल लेख्ने बहारको समय । पूर्वका उमेरदार युवापुस्ता गजल भनेपछि हुरुक्क भएर निस्कँदा गजललाई प्रेमिलो र गेयात्मक बनाउन रदिफ र काफिया सिकाउने होनहार गुरु भएर निस्के, प्रकाश ।

कतिसम्म भने झापाका अग्रज साहित्यकार केशव आचार्य (पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सहोदर जेठान) ले पनि झण्डै नाति पुस्ताका प्रकाशलाई गुरु थापे । प्रकाशको जन्मदिनमा शुभकामना दिँदै आचार्यले यसबारे हालै फेसबुकको भित्तामा सम्झनाका शब्द टाँसेका छन् । वाह, गजल गुरु प्रकाश आङ्देम्बे !

विस्तारै प्रकाशको डेरामा सहकाल छाउन थाल्यो । उनको चेलावेटा-चेलीवेटी तथा शुभचिन्तकले गुरु दक्षिणाको रूपमा चामल, दाल र आलुका बोरा पठाउन थाले । नुन, भुटुन र मसलाका सामान्य जो हो, प्रकाश आफैँले गरिहाल्थे । उनका डेरामा पहिलेदेखि नै पाहुनाको अटुट ताँती लागेकै हुन्थ्यो । त्यसबेलाका उनको डेराका नियमित पाहुनामध्ये अहिले उपेन्द्र सुब्बा चलचित्रकर्ममा छन्, चर्चित अनि उस्तै व्यस्त । अर्का नियमित पाहुना राजन मुकारुङ प्रज्ञा प्रतिष्ठानको प्राज्ञ छन् ।

त्यो बेला शिविरमा रहेका भूटानी शरणार्थीसँग स्थानीय युवाको झडप भइरहन्थ्यो; कुनै सामान्य, कुनै अचाक्ली अप्रिय । यी दुई पक्षबीच शान्ति स्थापनामा अगुवाइ गरेका प्रकाशले शिविरभित्र साहित्यिक आयाम पनि ल्याए । शरणार्थीलाई सिर्जनामा प्रेरित गरे । आफू पनि शरणार्थीको मर्म र व्यथाका गहिराई नाप्दै कलम चलाउन थाले । उनी शरणार्थीको मनभित्र पक्का र सच्चा साथी बनेर पसे । परिणाममा ‘देश खोज्दै जाँदा’ चलचित्र नै निर्माण हुन पुग्यो ।

जता प्रकाश, त्यतै उज्यालो

आफ्नो देश भुटानबाट लखेटिएर आफ्ना अभिभावकसँगै देशविहीन भएकी एक जना योङहाङ्मा लिम्बूनी सानु सुब्बासँग उनको आँखा जुध्यो । आँखा हुँदै उनको मुटुतिर पुगेर प्रकाश अडिए । दुवै घरजम गर्ने निर्णयमा पुगे । दुवैसँग उस्तै पीडा थियो, प्रकाश आफ्नै घरमा परदेशीजस्तै बास खोज्दै हिँडिरहेका । दुवैले एकअर्काको मुटुमा घर बसाए । मन मिलेपछि त सबथोक पो मिल्दोरहेछ । उनीहरूले प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धी त खुसी हो । एकअर्काको प्राप्तीमा दुवै दिलखुस भए ।

तेस्रो देश पुनर्वासको क्रममा सानु नर्वे पुगिन् । पारिवारिक भिसामा प्रकाशको पनि नर्वे-नेपाल आऊजाऊ चलिरहेको थियो । सन् २०२१ मे महिनादेखि उनले पनि त्यतैतिर अलि लामै बसाईको तारतम्य मिलाए । सामान्यतय विदेश गएकामध्ये लगानीको क्षमता भएकोले व्यापार गर्छन्, पढाइका लागि जानेले काम गर्दै पढ्छन् भने कामका लागि जानेको नियतिचाहिँ जुवामा जोतारोले बाँधिएर नारिएको गोरुजस्तै हुन्छ ।

प्रकाशले पनि नर्वे पुगेर काममा जोतिनुपर्ने नै अवस्था थियो । तर, उनमा त्यहाँको समाज र संस्कृति बुझ्ने चाहना भयो । समाज र संस्कृति बुझ्नका लागि भाषा बुझ्नुपर्ने भयो । त्यसैले उनले नर्वेजियन भाषाको औपचारिक ‘कखरा’ शुरू गरे ।

‘रवि नपुगेको ठाउँमा कवि पुग्छ’ भन्ने उक्तिलाई यथार्थमा परिणत गरिरहेछन्, प्रकाश यतिखेर । नर्वेजियन भाषामै ५० वटा कविता लेखिसिध्याएका उनी अहिले त्यसको सङ्ग्रह प्रकाशको तयारीमा छन् ।

त्यो सभ्य देश हो; जसले कला, साहित्य र संस्कृतिको ठूलो इज्जत गर्छ । त्यही सभ्य देशमा पुगेर नेपाल चिनाउने अभियानमा लागेका उनी आफ्नो फोटोग्राफीको कला देखाएर ‘आर्टिष्ट अफ् दी मन्थ’ घोषित भइसकेका छन् ।

उनी स्वभावैले चुपचाप बस्ने खालका परेनन् । नर्वेजियन चलचित्रकर्मी मुना हिल्टनसँग मिलेर ‘माङफुली माङफुल’ (रोजगारी जीवनको विविधता) नामको बृत्तचित्र बनाउन भ्याइसकेका छन् । शरणार्थी समस्यासम्बन्धी बृत्तचित्र निर्माण गर्ने जिम्मेवारी पनि उनले पाइसकेका छन् । १० भागको उक्त बृत्तचित्रको एक भाग हालै निर्माण भइसकेको छ । उनी अहिले भूटानी शरणार्थीमध्ये तेस्रो देशमा पुगेर पनि न्याय नपाइरहेकाहरूको अधिकारवादी अभियानसँग पनि जोडिएका छन् ।

अचम्म चाहिँ के छ भने, छोटै अवधिमा उनले यति विश्वास जिते कि उनी नर्वेजियन प्रतिनिधिकै रूपमा कहिले रोमानियामा चलचित्रसम्बन्धी तालिम दिन पुग्छन् भने कहिले नर्वेकै नेतृत्व गरेर इटालीमा आयोजित चलचित्रसम्बन्धी कार्यशालामा भाग लिन पुग्छन् ।

पोहर साल उनीसम्बद्ध शरणार्थी तथा आप्रवासीसम्बन्धी संस्था ‘लोपे’ का लागि उनीलगायत सहकर्मी पेरी इल्का टिकम्यान, एलेना मन्डिका र एमी अन्वेन त्यहाँका प्रतिष्ठित पुरस्कार ‘मङ्फोल्ड पुरस्कार’ २०२४ बाट पुरस्कृत भए । यो संस्थालाई नर्वेको समावेशीकरण तथा विविधता निर्देशनालय (आईएमडीआई) का वरिष्ठ सल्लाहकार क्विन ससिना वाकु जरामोले पुरस्कृत गरेकी थिइन् ।

एउटा नेपालीको छोरोले नर्वेजस्तो देशमा पुगेर छोटै अवधिमा यतिसम्म गरिभ्याउनु चानचुने कुरा हो र ?

हेनरिक इब्सनको घरछेउमा

नेपालमै रहँदा आख्यान, नाटक कविता, रुवाइ, गजल आदिमा धुम मच्चाउँदै कृतिसमेत प्रकाशन गर्न भ्याइसकेका प्रकाशले सिर्जनाका नयाँ आयाममा पछिल्लो समय चलचित्र र फोटोग्राफीको मियोमाथि अर्जुनदृष्टि लगाएका छन् ।

नेपालमै रहँदा नाट्यक्षेत्र पनि प्रकाशका साधनाको विधा थियो । पहिले गुरुकूलमा हेरेको नाटक ‘पुतलीको घर’ को प्रभावले प्रकाशलाई भुतुक्क पारेकै थियो । छोरीको विद्रोह चेतना यस नाटकको मूल सन्देश हो ।

नर्वेजियन नाटककार हेनरिक इब्सनको विश्वप्रसिद्ध यो नाटकको प्रभावले भुतुक्क भएका प्रकाश सन् २०१६ मा भिजिट भिसामा नर्वेकै सियान सहर पुगे, जहाँ उनको मुटुको टुक्रा सानु सुब्बाले तेस्रो देश पुनर्वासको क्रममा बसोबास शुरु गरेकी थिइन् ।

त्यहाँ पुग्दा उनी ठूलै खुसीले उफ्रिए । पारिवारिक पुनर्मिलनमा युरोप पुग्न पाएको खुसीभन्दा पनि ठूलो खुसीको कारण थियो, त्यहीँ सहरमा उनै विश्वप्रशिद्ध नाटककार हेनरिक इब्सन जन्मेका थिए । उनको घर अहिले पनि संरक्षण गरेर राखिएको छ । समाजमुखी र यथार्थवादी नाटककार इब्सनको घरछेउ हुँदै हिँड्डुल गरिरहँदा उनी नतमस्तक हुन्छन् । उनको घर लामो छ, इब्सनले आफ्नो घरलाई पनि नाटकघर नै बनाएका रहेछन् ।

इब्सनको अर्को खण्डकाब्य छ, ‘टार्ज भिगेन’, नेपालमा देवकोटाको ’मुनामदन’ जस्तै लोकप्रिय । यो खण्डकाव्यमा सन् १८०७-१८१४ को नेपोलियन युद्धकालीन कथावस्तु समेटिएको छ, जुनबेला नर्वेमा बेलायती नाकाबन्दीका कारण ठूलो भोकमरी फैलिएको थियो ।

खण्डकाव्यका नायक टार्ज भिगेन एक साहसी नाविक हुन् । उनले ज्यानको बाजी लगाएर समुद्री बाटो हुँदै डेनमार्क पुगी परिवारको भोक शान्त बनाउन अन्न ल्याउने योजना बनाउँछ । अन्न लिएर आफ्नो सानो डुंगामा फर्कंदै गर्दा बेलायती युद्धपोतले समाउँछ । उनलाई युद्धबन्दी बनाएर युद्धको अन्त्यसम्म पाँच वर्ष राखिन्छ । युद्ध सकिएर जब उनी घर फर्किन्छन्, उनकी पत्नी र छोरी भोक र रोगले मरिसकेका हुन्छन् ।

वृद्धवस्था र एक्लो टार्ज भिगेन एक दिन समुद्रमा आफ्नो सानो डुंगा खियाइरहेको बेला एउटा बिलासी याट समुद्री आँधीमा फस्छ । टार्जले याटका सबै यात्रुको सकुशल उद्धार गर्छ । याटको मालिक त उनलाई अनाहकमा पाँच वर्ष बन्दी बनाउने बेलायती कप्तान पो हुन्छ, जसका कारण उनका पत्नी र छोरी भोकभोकै मर्नु परेको थियो ।

टार्जमा पुरानो कुरा सम्झेर बदलाभाव आउँछ । कप्तानको पत्नी र सानी छोरी पनि डुब्न लागेका हुन्छन्, त्यतिखेर उनले आफ्ना दिवंगत पत्नी र छोरीलाई सम्झन्छ । त्यसपछि उनमा बदलाभाव हराउँछ र सबैको ज्यान बचाउँछ ।

नर्वे पुगेपछि एरिक नामका लेखकसँग प्रकाशको परिचय साटासाट भयो । उनले प्रकाश पनि लेखक हुन् भन्ने थाहा पाएपछि ठूलो इज्जत दिए । अनि, उनलाई खण्डकाव्यको हरफ हरफ वाचन गर्दै ‘टार्ज भिगेन’ मा वर्णित लोकेसनको सप्रसंग व्याख्यासहित ग्रीम्सतातको समुद्रीकिनार र टापु घुमाए । सन् १८६२ मा प्रकाशित उक्त खण्डकाव्यका रचनागर्भसम्मै पसेर त्यसको अन्तर्वस्तु नियाल्न पाएको त्यो क्षणले प्रकाशलाई उपल्लोकोटीकै आनन्द दिलायो । उनले एरिकसँग सिर्जनात्मक आनन्दमयी तीन रात बिताए ।

आहा, सिर्जना र स्रष्टाको सम्बन्ध कति न्यानो, कति आत्मिय ! प्रकाश आङ्देम्बे जहाँ पुग्छन्, त्यहीँ छरिन्छ उज्यालो ।

इतिहासको त्यो विरासत

एउटा सानो थुम्कोको रूपमा दक्षिणतर्फ बाँझगराबाट जुरुक्क उठेर उत्तरतिर महाभारत पर्वत श्रृङ्खलालाई भेट्न दौडिए पनि छेवैमा पुगेर पनि किन हो विजयपुर डाँडा टक्क रोकिएको छ । यहाँ १६ औँ शताब्दिमा राजा विजयनारायण रायले मोरङको बाराताप्पाबाट आफ्नो राजधानी सारेपछि यो थुम्कोको नाम विजयपुर कहलायो ।

यसको उत्तरी डीलमा सेनकालीन दरबारको भग्नावशेष छ । त्यहीँ दरबारमा बसेर गोरखालीसँग वि.सं. १८३१ साउनमा सम्झौता गर्ने लिम्बू सुब्बा हुन्, सुन राय, कुम राय र जंग राय । विजयपुरकै दक्षिणतिर डीलमा छ, पिण्डेश्वर मन्दिर । पिण्डेश्वर डाँडामुनिको भित्तामा रहेको छ, निराजन वस्ती ।

एउटा गजबको संयोग, त्यहीँ बस्तीमा भूमिहीनले हालेको छाप्रोमा आफ्नी आमासँग कुनै बेला डेरा गरेर बस्ने प्रकाश आङ्देम्बे विजयपुरकै सेनकालीन दरबारमा रहेर पृथ्वीनारायण शाहका भारदार अभिमानसिंह बस्न्यात, पारथ भण्डारी तथा बलि बानियाँसँग सम्झौता गर्ने लिम्बू सुब्बा कुम रायका सन्तति हुन् ।

विविध विडम्बनाले कुनै बेला आफ्नी आमाले अनेकन दुःखका भुक्तमान खेपेर हुर्काइएका प्रकाश दुःखसँग पौठेजोरी खेल्दा पनि त्यतिकै हाँस्न सकेका होइनन् । किनकि उनीसँग छ, इतिहासको गौरवमय विरासत ।

अहिले उनी छ महिना रात र छ महिना दिन हुने देश नर्वेमा छन्, जहाँ उनी नेपाली उज्यालो छरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *