विद्रोही विमला, राधिका र निर्मलालाई सलाम !

३० वर्षे निरंकूश कालारात्रि कम्युनिष्टहरू देख्नै नहुने दिन थियो । अर्थात्, जसले परिवर्तनको कुरा गर्छ, ऊ व्यवस्थाविरोधी हुन्थ्यो । त्यसैले त्यस भेग र बस्तीबाट क्रान्तिको मसाल बोकेर कृष्णप्रसाद सापकोटा, भीम न्यौपानेहरू सुनौलो दिन ल्याउनका लागि उठे । ‘जनता नै देशको मालिक हुन्’ भन्ने कथन सिकाए ।

जनतालाई मार्क्सवाद र लेनिनवादको आलोकमा जनताको बहुदलीय जनवादको स्वर्णीम सपना बाँडे । आज जसोतसो मार्क्सवादको आँखीझयालबाट सपना बाँडेका भीम न्यौपाने त बाँचिरहेका छन्, एउटा वर्गीय, तर समावेशी समाजको आशमा । यो एउटा नमीठो अतीत हो ।

यिनै सपना बुनेका कृष्णप्रसाद सापकोटा त्यस भेगबाट आस्ताए । कथित जनयुद्धका नाममा अतिवादका शिकार भए । कृष्णप्रसाद सापकोटाले महिला अधिकार र समानतका लागि जीवनको आहुति दिए । यो कुरा जनताले मनमा साँचेर राखेका होलन् । आज कम्युनिष्टहरू बास बस्ने ठाउँ, अर्थात् सेल्टरदाता हरिप्रसाद सापकोटा हामीमाझ हुनुहुन्न । आज तीन दिन भयो ।

भूमिगत कालको त्यो कालो, अँध्यारोमा जब क्रान्तिको सपना आँखाभरि सजाएर हिँडेका कम्युनिष्ट योद्धा राज्यद्वारा लखेटिन्थे, त्यहीबेला उनीहरूलाई अन्नको एक गाँस र रातको एक ओत दिने घरको नाम थियो, सापकोटा परिवार ।

पनौतीको रयाले गाउँस्थित त्यही घरमा कहिले कमरेड शिवबहादुर देउजा, कहिल कमरेड केपी बञ्जारा त कहिले कमरेड केपी सापकोटा, तुईकाजी ताम्राकार, शिव भुर्तेल, रामप्रसाद अधिकारी र शीला कतिलाहरूले शरण पाएका थिए । त्यो घर केवल चुल्हो वा ओछ्यानमात्र होइन, त्यो क्रान्तिको आधारशिविर थियो । जहाँबाट क्रान्तिको बिगुल बज्थ्यो ।

जसरी युद्धमा मोर्चा अगाडि हुन्छ, त्यस्तै शान्तिपूर्ण भूमिगत संघर्षमा त्यस्ता घर ‘सेल्टर’ मात्र होइन, विचारका ढोका थिए । त्यही घरका मुख्य धरोहर, स्वर्गीय हरिप्रसाद सापकोटा, अब हामीबीच रहेनन् । ९१ वर्षको जीवन समर्पण गरेर उनी बिदा भए, सादगीसाथ, सहर्ष ।

तर, यहाँ कथा केबल एक क्रान्तिकारी बाबुको अन्त्यको होइन, यो कथा हो ती तीन छोरीको, जसले बाको त्यो क्रान्तिकारी रगतलाई आजको सामाजिक सेवामा, नेतृत्वमा, बुद्धिजीवी अभ्यासमा पुनःजन्म दिएका छन् । विमला सापकोटा बनेपा नगरपालिकाकी उपमेयर, राधिका सापकोटा एमाले, धादिङकी सचिव र निर्मला सापकोटा बौद्धिक परिषद् काभ्रेपलाञ्चोककी एक सशक्त योद्धा । आज, यी तीन दिदीबहिनी आफ्ना स्वर्गीय पिताको किरिया बसेका छन् ।

समाजमा झटारो झैँ प्रश्न उब्जिन्छ, ‘किरिया त छोरा बस्नुपर्ने होइन र ?’ हामी प्रश्न गर्छौँ, के छोरीले आफ्नो बाबाको चितामा श्रद्धा दिन पाउने अधिकार छैन ?’ र ‘के रगत, आस्था र उत्तराधिकार केवल लिंगको आधारमा बाँडिन्छ ?’ समाज र परम्पराको यथार्थ परीक्षण हामी एक यस्तो समाजमा बाँचिरहेका छौं, जहाँ स्त्रीले जन्म दिने अधिकार त पाउँछे, तर अन्तिम बिदाई दिने अधिकार उसलाई छैन ।

पितालाई मुखाग्नि दिनु, किरिया बस्नु, श्राद्ध गर्नुजस्ता कर्मकाण्ड हजारौं वर्ष पुरानो पितृसत्तात्मक सोचको जगमा निर्माण भएका छन् । के पूर्वीय दर्शन भन्नु नै जबर्जस्ती थोपरिएको सामाजिक अनुशासनको नाम हो ? जहाँ छोराहरू ‘कूलदीपक’ मानिन्छ र छोरी ‘पराई घरको पाहुना’। तर, प्रश्न उठ्छ, ‘त्यो छोरा कहाँ छ ? जब बुबाको बिरामीमा छोरीले औषधि किन्छे, बुबाको मलमूत्र सफा गर्छे, बुबालाई काखमा राखेर मृत्यु स्वीकार्छे, तब उसलाई चाहिँ किन केबल ‘दुई आँखा ओभाएका’ पात्रजस्तै देखिन्छ ?’

हाम्रो समाजको सांस्कृतिक अधिरचना अझै पनि धार्मिक पितृसत्ताको नियन्त्रणमा छ । यथार्थमा, हाम्रो उत्पादन प्रणाली बद्लिएको छ, महिला उत्पादनका हरेक साधनमा भागीदार छन्, तर त्यसले सामाजिक चेतनामा अपेक्षित परिवर्तन ल्याउन सकेको छैन ।

मार्क्सवादी चेतनाले भन्छ, ‘सांस्कृतिक अधिरचना भन्नाले त्यो संरचना बुझिन्छ, जुन आधारभूत आर्थिक संरचनाबाट प्रभावित हुन्छ । अहिलेको समाज र अगुवाले यो कुराको ख्याल गर्नुपर्छ कि पदैन ? सामन्तवादी मानसिकताले ‘संस्कार’ नामको झूठो अवरणमा स्त्रीको आत्मसम्मान, स्वत्व र सम्मानमा बिनायुद्ध कब्जा जमाइरहेको छ । तर, अब ती साहसी महिला मूकदर्शक होइनन् ।

विमला, राधिका, निर्मलाजस्ता छोरीले किरियामा बस्नुको अर्थ केवल बाको सम्झनामा आँसु झार्नुमात्र होइन, यो कुसंस्कृतिविरुद्धको एक चूपचाप विद्रोह हो । यो विद्रोह कुनै सडकमा टायर बालेर गरिएको क्रान्ति होइन, यो त गहिरो वैचारिक क्रान्ति हो, जो परम्परागत पुरुषसत्ताको भित्तामा दरार ल्याउँछ । सलाम ती छोरीलाई, आज ती दिदीबहिनीले न केबल आफ्नो बुबाको श्राद्ध गरिरहेका छन्, तर रुढीग्रस्त सामाजिक सोचको अन्त्येष्टि पनि गरिरहेका छन् ।

जब समाजले भन्यो, ‘किरिया बस्न त छोरा चाहिन्छ ।’, तब छोरीहरूले भने, ‘छोरीको छातीमा पनि कर्तव्य बल्छ ।’ यिनले आफैँ साबित गरे, क्रान्ति केवल किताबमा पढिने कुरा होइन । जनताको बहुदलीय जनवादको संस्कारले तिनलाई बनायो, निडर, प्रतिवद्ध र चेतनशील । र त, आज ती कृयामा बसेका छोरी हाम्रा लागि केवल छोरी होइनन्, उनीहरू उत्तराधिकारका साँचो वाहक हुन् ।

ती घटनाले हामीलाई प्रश्न गरिरहेको छ, अब हाम्रो बाटो के ? कृया, संस्कार र श्राद्धजस्ता कार्यमा लैंगिक समानताको स्थापना आवश्यक छ ? नयाँ पुस्ताले पुरानो विश्वासलाई केवल श्रद्धाका रूपमा होइन, अनुसन्धान र विवेकका आधारमा हेर्नुपर्छ की पदैन ?

हाम्रो क्रान्तिकारी आन्दोलनको गाथामा, सेल्टरदाता, बहिनी, आमा, छोरी-सबैको योगदान बराबरीले लेखिनुपर्छ कि पदैन ?

अन्त्यमा, हरिप्रसाद सापकोटा शारीरिक रूपमा अस्ताउनुभयो, तर उहाँको जीवन दर्शन, विचार र संघर्षको बीउ ती तीन छोरीले फेरि रोपे । अझ सशक्त रूपमा, नयाँ युगको माटोमा । त्यसैले, जब एक छोरी बुबाको मुखाग्नि दिन अगाडि सर्छिन्, त्यो केवल एक संस्कारको उल्लंघन होइन, त्यो त सम्पूर्ण इतिहासको पाठशालामा नयाँ अध्याय लेख्ने क्रान्ति हो ।

सलाम ती छोरीलाई । सलाम त्यो परिवारलाई । सलाम त्यो विचारलाई । अनि, हाम्रो यात्रा अगाडि अझै बाँकी छ- मार्सवाद, लेनिनवाद, र जबजको मशाल बोकेर ।

(लेखक प्रेस चौतारी नेपालका महासचिव हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *