रुपन्देही । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको थुनामुक्त मागसम्बन्धी निवेदनमाथिको बहस सकिएको छ ।
यसअघि मंगलबार र बुधबार आफैँले स्थगित गराएको सुनुवाइ आज न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा पेशी चढेको थियो ।
लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए ।
उनको निवेदनउपर बहस सकिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए । उनका अनुसार आदेश आजै आउनेछ ।
लामिछाने आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रूपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ ।
लामिछाने चैत २२ गते नै काठमाडौंबाट पक्राउ परेपछि त्यसयता जिल्ला कारागार भैरहवामा छन् ।

Leave a Reply