रुपन्देही । एमालेबाट रुपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवारीका लागि सिफारिसमा परेका एक आकांक्षी हुन् यज्ञजित शाह । उनको पारिवारिक पृष्ठभूमि भने धेरैलाई थाहा नहुन सक्छ ।
पपञ्चायतभन्दा अगाडिका प्रधानमन्त्री डा. केआई सिंहका छोरा हुन् यज्ञजित । सिंहका छोरा शाह कसरी भए प्रश्न स्वतः उब्जिन्छ । यसको जवाफ खोज्न केआइ सिंहकै पृष्ठभूमिमा जानुपर्छ ।
डोटीको शाही ठकुरी परिवारमा जन्मेका केआई सिंह सानैबाट विद्रोही स्वभावका थिए । उनी विद्रोहीकै रुपमा रुपन्देहीको मर्चवारमा आएर बसेका थिए । डोटीमा केआई सिंहको नाम इन्द्रध्वज शाही थियो । त्यहाँको राजपरिवारको सदस्य रहेका उनीहरु तत्कालीन बाइसे राज्यअन्तर्गत सबैभन्दा ठूलो राज्यमा रहेका थिए । अहिले पनि डोटीमा केआई सिंह गाउँपालिका नै रहेको छ ।
केआई सिंहले पाल्पा सेनकी छोरी धौलकुमारी सिंहसँग विवाह गरे । उनीहरुका तीन छोराहरु र एक छोरी भए । जेठा चोलाजित शाह, माइला भोजेन्द्रजित शाह र कान्छा यज्ञजित शाह तथा बहिनी चन्द्रकुमारी शाह हुन् । अहिले रुपन्देहीमा यज्ञजितको परिवार मात्रै छ । हाल सिद्धार्थनगर नगरपालिका वडा नं ९ गोलीगाठमा उनको बसाई छ । जेठा र माइलाको परिवार कैलालीमा बस्छन् भने कान्छी बहिनी भारतको लखनउमा बस्छिन् ।

केआइ सिंहका छोरा यज्ञजित ४२ वर्ष पहिले रुपन्देहीमा आएदेखि विभिन्न कालखण्डका फरक–फरक राजनीति धारमा जोडिँदै आएका छन् । उनी डोटीमै जन्मेपनि भारतमा पढाई सकाएपछि सिधै रुपन्देही आएको बताउँछन् ।
‘म २२ वर्षको छँदा २०३९ सालमा बुवाको मृत्यु भएको हो, त्यसपछि अध्ययन सकाएर म रुपन्देही आएँ’, उनले भने, ‘बुबाले २०३८ सालमा रुपन्देहीबाट चुनाव जित्नुभएको थियो, त्यतिबेला जिल्लाबाट दुई जनाले धेरै मतका आधारमा जित्ने नियम रहेकोमा बुवा पहिलो र दीपक बोहोरा दोस्रो हुनुभएको थियो ।’
चुनाव जितेपछि भने केआई सिंह बिरामी परे । क्यान्सरको उपचार नेपालमा थिएन बैंककमा उपचारका क्रममा ०३९ सालमा उनको मृत्यु भएको थियो । उनकी आमा धौलकुमारी सिंहको भने ०५८ सालमा मृत्यु भयो ।
केआई सिंहको मृत्यु भएपछि योे ठाउँमा उपनिर्वाचन भयो । यो निर्वाचनमा सिंहका माइलो छोरा मुन्ना सिंह भनेर चिनिने भोगेन्द्रजित शाह उम्मेदवार भए । त्यतिबेला सरकारी पक्षबाट केआई सिंहकी श्रीमती धौलकुमारी सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव आए पनि उनी तयार नभएपछि मुन्नालाई उठाइएको थियो । तर सरकारी पक्षबाट पहिले नै उम्मेदवार राम्रो नभएको मानिएपछि उनले चुनाव हारे ।
‘सरकारी टोलीलाई छोराहरु राजनीतिमा नलागुन् भन्ने रहेछ, दाईले चुनाव हार्नुभयो र त्रिवेणी कुर्मीले जित्नुभयो । चुनाव हारेपछि केही समयमा दाई कैलाली नै फर्किनुभयो । त्यहाँ हाम्रो पुराना जग्गाजमिन थियो, जहाँ दुई दाईको परिवार रहेको छ’, यज्ञजितले बेलिविस्तार लगाए ।
त्यो बेलासम्म यज्ञजित अध्ययनकै क्रममा थिए । ४० सालमा रुपन्देही आएको स्मरण गर्छन् उनी । अंग्रेजी साहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका शाह रुपन्देही आएपछि भने राजनीतिमा निरन्तर लागेको बताउँछन् ।
‘बुबाको किरिया काठमाडौंमा गरियो । त्यसपछि पढाइ सक्न फेरी लखनउ गएँ । मैले धेरै भारतमै पढेको हो । त्यसपछि बुवाको विरासत जोगाउन यतै बसेँ । अहिलेसम्म खटिएकै छु । ०४३ सालमा पञ्चायतको अन्तिम समयमा त म उम्मेदवार बनेर राम्रो मत ल्याएको थिएँ । दीपक बोहोरा पहिलो, निरन्जन थापा दोस्रो म तेस्रो भएको थिएँ । बढी मत ल्याएका दुई जना मात्रै छानिने नियम थियो । तर पहिलो पटकमै राम्रो मत ल्याएपछि मलाई हौसला भयो’, उनले सुनाए ।
रुपन्देही आएपछि नै उनी कांग्रेसका नेताहरुसँग नजिकिएका थिए । उनले ०४६ सालको आन्दोलनमा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्रकारको नेतृत्वमा लामो समय काम गरे, जतिबेला कांग्रेस नेता बालकृष्ण खाँण विद्यार्थी मोर्चामा थिए भने भरत शाह राजनीतिमै आएका थिएनन् ।
‘भरत शाहलाई त मैले नै राजनीतिमा ल्याएको हुँ, सुरुमा मेरो प्रचारमा हिंडेपछि पार्टीमा जोडेँ’, यज्ञजितले भने ।
०४८ सालमा उनी रुपन्देहीमा कांग्रेसबाट उम्मेदार बने । तर मधेस बाहुल्य क्षेत्रमा कांग्रेसको मत धेरै आएन । ०५१ सालमा भने उनलाई कांग्रेसले टिकटै दिएन । त्यो समयमा कांग्रेसमा देशव्यापी विद्रोहको अभियान चलेको थियो । पार्टीले टिकट नदिएपनि उनी विद्रोही उम्मेदार बनेर १२ हजार ५०० मत ल्याएका थिए । देशभर विद्रोह गरेमध्ये आफ्नो धेरै मत आएपछि नेताहरुले बोलाएर समझदारी गरेपछि उनी पुनः कांग्रेसमै जोडिए ।
शाहले थप बेलिविस्तार लगाए, ‘पूर्वसमझदारीअनुसार नभएपछि विद्रोह गरेको थिएँ । नेताहरु बसेर अब त्यसो नहुने समझदारी गरेपछि पुनः जोडिएँ । तर ०५६ मा फेरि उस्तै धोका खाएपछि कांग्रेस छाडेको हो । त्यसपछि नेपाल सद्भावना पार्टीबाट चुनाव लडेर संसदमा पुगेँे ।’
यति लामो इतिहास भएको पार्टी किन छोड्नुभयो भन्ने प्रश्नमा उनले भने ‘राजनीतिमा इमान्दारी नभएपछि साथ दिन सकिएन । त्यो बेला माधव नेपालले एमालेमा ल्याउन ठूलै कसरत गर्नुभएको थियो । तर रुपन्देही ५ मा एमालेको कुनै संगठन नै थिएन । त्यसैले सद्भावनाबाट लडेको हुँ । देशभरबाट ५ जनाले जितेका थियौं । तर त्यसपछि त्यो पार्टी पनि टुटफुट भयो र सबै सकियो ।’
तत्कालीन समयमा उनी सदनको पछाडिपट् बस्ने र पटक्कै नबोल्ने गरेको त्यो समयमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुको स्मरण छ । त्यसपछि उनी केही समय स्थिर बसेका थिए । नाकाबन्दीको समयमा भारतले गरेको गलत व्यवहार र हेपाई उनलाई चित्त बुझेको थिएन ।
तत्कालीन पराराष्ट्रमन्त्री सुष्मा स्वराजले दिएको अभिव्यक्तिजस्तै भारतका लागि तत्कालीन नेपाली राजदूत दीपकुमार उपाध्यायले दिएको भनाइले उनलाई चित्त बुझेको थिएन । त्यही समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिएको अडानप्रति प्रभावित भएको बेला एमाले नेता विष्णु पौडेलले ओलीसँग भेटाएपछि उनको बाटो फेरि मोडियो ।

‘विष्णुप्रसाद पौडेल लाजिम्पाट घरमै आएर प्रस्ताव गर्नुभयो । यति ठूलो राजनीतिक इतिहास भएको मान्छेलाई हामीले अन्याय हुन दिँदैनौ भन्नुभयो । अनि बालकोट गइयो । त्यहाँ केपी ओलीका कुरा सुनेपछि त केही बोल्नै नसकिने भइयो । यी नेताहरुलाई साक्षी राखेर म बोलेको छु, कुनैबेला तपाईंको मन दुखाउने छैनौं, भनेपछि के भन्नु ? संयोगले बुबाको मुख हेर्ने दिन रहेछ । त्यसमै रमाएर फर्किएँ । तर अहिलेसम्म कतै केही जिम्मेवारी पाएको छैन । पौडेलजीले भेट हुँदा अहो, तपाईंलाई कतै सेट गर्न सकिएको छैन भन्नुहुन्छ । अध्यक्ष कमरेडले किन अझै उहाँलाई कतै केही नगरेको भन्नुहुन्छ ? म आश्चर्यमा छु’, शाहले गुनासो सुनाए ।
०७९ सालको चुनावमा पनि उम्मेदारका लागि उनको नाम रुपन्देही ३ बाट गएको थियो । तर त्यो बेला चुनावी तालमेल हुँदा यो क्षेत्र पार्टीको भागमा परेन ।
‘राजनीतिमा नैतिकता हुनुपर्छ, म यही भूगोलमा बसेको छु, हिजोको समझदारीअनुसार अघि बढ्नुपर्छ भन्ने बाहेक अरु मेरो कुरा के हुन्छ ?’ उनले भनेका छन् ।

Leave a Reply