कैलाली कारागार प्रकरणमा राजेन्द्र महताेकाे पार्टीले गृहमन्त्रीकाे राजीनामा माग्याे

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले सरकारको लापरबाहीकै कारणले कैलाली कारागारभित्र कैदीबन्दीहरुको दुई समूहबीच भएको हिंसात्मक झडप भएको आरोप लगाएको छ। झडपमा परेर भरत चौधरी मृत्यु हुनुका साथै ४८ जना कैदीबन्दी घाइते भएका थिए।

पार्टीका प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कारागार प्रशासनको गम्भीर सुरक्षा लापरवाही र राज्यको उदासीनताले एउटा जीवन समयअगावै समाप्त भयो । राज्यको सुरक्षा नियन्त्रण भित्र यसरी मृत्यु हुनु सामान्य घटना होइन। सुरक्षा संयन्त्रको नियन्त्रणमा पनि नागरिक सुरक्षित नहुने अवस्था गृह प्रशासनको चरम लापरबाहीको रूपमा लिएका छौँ ।‘

यो घटनालाई केवल अचानक भएको झडप भनेर लुकाउन खोज्ने प्रयासलाई अस्वीकार गर्ने बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘५९० भन्दा बढी कैदीबन्दीको हस्ताक्षरसहित कारागारभित्रको सुरक्षा अभाव र तनावबारे राज्य पक्षलाई अग्रिम जानकारी दिइएको थियो, तर आवश्यक सतर्कता, व्यवस्थापन र सुरक्षाको कदम चालिएन।यसको सम्पूर्ण जिम्मेवारी गृह प्रशासनले लिनुपर्नेछ । उपरोक्त घटना स्पष्ट प्रमाण हो, कि यो केवल दुर्भाग्य होइन, बरु गम्भीर लापरवाही र संवेदनहीनताको परिणाम हो ।’

घटनाबारे छानबिन गर्नको लागि ६ बुँदे माग पनि अघि पारेको छ।

– तत्काल स्वतन्त्र तथा निष्पक्ष छानबिन आयोग गठन गरी घटनाका सम्पूर्ण कारण, पृष्ठभूमि र दोषीहरूको पहिचान गरियोस् ।

– दोषीलाई कुनै राजनीतिक या प्रशासनिक संरक्षण बिना कानुनी कारबाहीको दायरामा ल्याइयोस् ।

– घाइते कैदीबन्दीहरूको तत्काल उपचार, पुनः स्थापना र स्वास्थ्य सुरक्षा सुनिश्चित गरियोस् ।

– देशभरका कारागारहरूमा सुरक्षा, स्वास्थ्य र मानवअधिकार मापदण्डअनुसारको सुधार तत्काल सुरु गरियोस् ।

– मृतक भरत चौधरीका परिवारलाई उचित राहत र दीर्घकालीन न्यायको पूर्ण सुनिश्चितता गरियोस् ।

– सुरक्षा संयन्त्र गम्भीर रूपले असफल भएकोले गृह प्रशासनको प्रमुखको हैसियतले सम्पूर्ण घटनाको जिम्मा लिँदै नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा गरियोस् ।

Comments

One response to “कैलाली कारागार प्रकरणमा राजेन्द्र महताेकाे पार्टीले गृहमन्त्रीकाे राजीनामा माग्याे”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    नकचरो गृहमन्त्रीले किन दिन्थ्यो राजिनामा, य्नीहरीको लागी जनताको ज्यान र लामखुट्टेको ज्यानमा किनै फरक छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *