काठमाडौं । पाठ्याक्रम विकास केन्द्रले ९ कक्षाको अनिवार्य नेपाली कितामा गीतकारको नाम गलत उल्लेख गरेर गम्भीर त्रुटी गरेको पाइएको छ । ४९ वर्ष अगाडि रेकर्ड भएको अरुणा लामाले गाएको ‘पोहोर साल खुसी फा्टदा’ गीतका गीतकार राजेन्द्र थाहा हुन्, तर संगीतकार अम्बर गुरुलाई श्रेय दिइएको छ ।
वि.सं. २०३३ सालमा राजेन्द्र थापाले लेखेको ‘पोहोर साल खुसी फाट्दा’बोलको गीतमा गीतकारको रुपमा संगीतकार अम्बर गुरुङलाई श्रेय दिइएको छ । जब कि गुरुङ संगीतकार मात्रै हुन् ।
कक्षा ९ को नेपाली विषयको ५४ औं पेजमा ‘दिइएको सन्दर्भ पढ्नु्होस् र तोकिएको कार्य गर्नुहोस्’ भन्दै लेखिएको छ, ‘अन्जलीका बुबाले आफ्नी छोरीलाई सही बाटामा हिँड्न अभिप्रेरीत गर्दै भन्नुभयो, ‘आफ्नो लक्षमा निरन्तर लाग्नुपर्छ । निरन्तर लागे एक न एक दिन सफलता प्राप्त हुन्छ भन्ने कुरा अरुणा लामाको जीवनीबाट प्रष्ट हुन्छ । ‘यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने…’ भन्ने अरुणा लामाको गीत निकै चर्चित छ । अम्बर गुरुङद्धारा रचित यस गीतमा सुमधुर स्वर भर्ने अरुणा लामाको जीवन दुःखैदुःखले भरिएको थियो ।’
गीतको मूल शीर्षक पनि राखिएको छैन, ‘पोहोर साल खुसी फाट्दा’ नराखेर दोस्रो लाइन ‘यसपालि त मनै फाट्यो’ राखिएको छ । यस विषयमा गीतकार थापालाई सम्पर्क गर्दा उनले सीधै भने, ‘अम्बर गुरुङ रचना भनिदिएको रहेछ, यो गलत हो । शिक्षा मन्त्रालयले क्षमायाचना माग्नुपर्यो । लेख्ने मान्छे हो, मेरै नाम कटाइदिएर हुन्छ त ?’
उनले थप भने, ‘हामी सर्जकहरुको सृजनालाई तोडमोड गर्न पाइँदैन । हाम्रो कपीराइटको अधिकारलाई पनि सुरक्षित गरिदिनुपर्छ । विद्यार्थीलाई त्यसरी गलत सूचना दिएर हुन्छ ? यो नैतिक अपराध हो ।’
यसरी गीतकारको नाम नै नलेखिएपछि संगीतकर्मीहरुले पनि विरोध जनाइरहेका छन् । गायक शिव परियारले लेखेका छन्, ‘नेपालको शैक्षिक क्षेत्रमा कला र कलाकारका बारेमा बुझाइको अवस्था यस्तो दयानीय छ । अनि अरुबाट के आशा गर्ने ? कोर्सबुकमा जीवनी पनि आ-आफ्ना मान्छेको छाप्ने, कविता आ-आफ्ना मान्छेको छाप्ने रोग त पुरानै भइहाल्यो ।’
संगीतकार दिपक शर्माले पनि गीतकार थापालाई मेन्सन गर्दै लेखेका छन्, ‘नेपालमा पाठ्याक्रम बनाउने र त्यसलाई पास गर्ने तोरी लाहुरे महाविद्वानहरुलाई सय तोपको सलामी छ । राजेन्द्र सर चित्त नदुखाउनु होला, हामी नेपालमा जन्मिएका हौं ।’
यस त्रुटीबारे बुझ्न नेपाल गीतकार संघका पदाधिकारी शिक्षामन्त्री रघुजी पन्तको सचीवालय नै पुगेका छन् । संघका अध्यक्ष वसन्त वित्यासी थापाका अनुसार शिक्षामन्त्रीको सचिवालयलाई यस विषयमा ध्यानाकर्षण गराइएको छ ।
थापाले भने, ‘शिक्षा मन्त्रालयमा हामीले जानकारी गराएका छौं । हेर्छौं, जाँचबुझ गर्छौं । गल्तीलाई चाँडोभन्दा चाँडो सुधार्न लगाउँछौं भनेर भन्नुभएको छ । यो सर्जकमाथि ठूलो अन्याय मात्रै होइन, सृजनामाथिको गम्भीर हेलचेक्राइँ पनि हो ।’
गायिका लामा र संगीतकार गुरुङको देहान्त भइसकेको छ ।


Leave a Reply