काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भाद्रको पहिलो साता काठमाडौंमा ‘हिन्दू कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने भएको छ ।
समितिले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै वन, परराष्ट्र, राष्ट्रिय योजना आयोगको समन्वय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा आगामी भाद्र २ र ३ गते काठमाडौंमा हिन्दू कुश हिमालय संसदीय सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने सम्मेलनमा नेपालका साथै भारत, चीन, बंगलादेश, भूटान, म्यानमार र पाकिस्तानका प्रतिनिधिहरुको सहभागीता रहने समितका सदस्य सांसद वीरबहादुर बलायरले जानकारी दिए ।
सम्मेलनमा क्रममा जलवायु परिवर्तन, वातावरण प्रदुषण र जैविक विविधताका विषयमा छलफल हुने उनले बताए ।
हिन्दू कुश क्षेत्रमा जैविक विविधताको क्षति, वायु प्रदूषण, तीव्र आर्थिक तथा सामाजिक परिवर्तनले मानव जीवनमा पारेको गम्भीर असरहरु बारे ज्ञान आदान–प्रदान गर्न आयोजना लागेको सम्मेलन निकै महत्वपूर्ण हुने समितिले जनाएको छ ।
वातावरणमा आइरहेको परिवर्तनले हिमालय क्षेत्रमा परिरहेको प्रभावका विषयमा सम्मेलनमा छलफल हुने समिति सभापति कुशुमदेवी थापाले जानकारी दिए ।

Leave a Reply