डोटी । पहलवान सिंह राजमार्ग अन्तरगत डोटी-अछाम सिमानामा पर्ने चौखुट्टेबाट करिब २५ मिनेटको कच्ची सडकको यात्रापछि एकान्त लेकमा एक भैँसीको गोठ भेटिन्छ ।
गोठमा सानाठुला गरी ३३ भैँसी छन् । तीन दुधालु छन्, दुई बासाभोली ब्याउने छन् । आठ बाली लाग्ने बेला भएका भैँसी र अन्य दुई÷तीन वर्षका पाडापाडी छन् ।
डोटीको काडाँमाण्डौं गाउँपालिका-५ का युवा कृषक गणेश साउँदको भैँसी गोठ हो यो । उनले चार वर्षअघिदेखि भैंसीपालन व्यवसाय सुरु गरे । सुरुवात गर्दा नै उनले चार वर्षको अवधिमा आफ्नो गोठमा ७० भैँसी पुर्याउने लक्ष राखेका थिए । तर गत वर्ष उनका सात भैँसी मरेपछि लक्षमा पुग्न गा¥हो भयो । तर पनि उनले हिम्मत हारेका छैनन्, भन्छन् ‘एक सय भैँसी पालन गर्ने सपना छ मेरो ।’
गणेशले भैंसीपालनका लागि दुई जना सहयोगी समेत राखेका छन् । ‘म आफू यसैमा खटेको छु, दुई जना अरूलाई पनि राखेको छु’ उनी भन्छन् ‘भैँसीको संख्या बढ्दै गएपछि जनशक्ति पनि थप्दै जाने सोचेको छु ।’

कसरी पलायो भैँसी पालन गर्ने सोच !
लामो समयदेखि भारतमा गाडी चालकको रूपमा काम गर्दै आएका गणेश विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको समयमा घर फर्किए । कोरोनाका कारण तत्कालै फर्केर रोजगारीका लागि भारत जान नसक्ने अवस्था भएपछि अव के गर्ने भन्ने सोच्न थाले उनी । पूर्वीचौकी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घराज बोगटीले उनलाई आफ्नै देशमा खेती किसानी गर्न सुझाए ।
‘उहाँ (पूर्व अध्यक्ष बोगटी) ले कृषि क्षेत्रका धेरै सम्भावनाहरूको विषयमा मलाई जानकारी दिनु भयो, त्यसमध्ये भैँसी पालनको सम्भावना पनि राम्रो छ भन्नु भयो’ गणेश भन्छन् ‘मैले पनि गाउँमा भैँसी लोप भइरहेको देखेँ, भैँसी पालेपछि भैँसीको संरक्षण पनि हुने र आफ्नो गुजारा पनि चल्ने देखेपछि यसैमा लागेँ ।’
उनी आफू यस पेसाप्रति सन्तुष्ट रहेको बताउँछन् । गणेश भन्छन्, ‘अर्काको देशमा गएर हप्कीदप्की सहनु भन्दा बरु आफ्नै देशमा सम्मानसँग बाँच्न सकिन्छ, आफ्नो काम आफ्नो हिसाबले गर्न सकिने भयो, अरूको काममा त उनीहरूको आदेश अनुसार चल्नु पर्ने हुन्छ ।’ गणेशले भैँसी पालनसँगै आलु खेती पनि गरिरहेका छन् ।
बैङ्कबाट ऋण लिएर भैँसीमा लगानी
भैँसी पालन गर्ने अठोट गरेका गणेशलाई लगानी जुटाउन सकस भयो । ‘आफूसँग पैसा थिएन, गाउँमा ऋण खोज्दा यति पैसा कोसँग हुनु !’ गणेश भन्छन्, ‘पछि बैङ्कबाट ऋण लिएर काम सुरु गरेँ ।’ उनी हालसम्म १५/२९ लाख रुपैयाँ जति लगानी लागेको बताउँछन् ।
अहिलेसम्म कतैबाट अनुदान नलिएको गणेशले बताए । ‘गत आर्थिक वर्षमा वडा कार्यालयबाट एक लाख रुपैयाँ प्राप्त भएको थियो, त्यसबाट उ त्यो गोठ बनाएको छु’ उनी भन्छन् ‘अन्त कतैबाट अनुदान लिएको छैन ।’ उनी गोठ सुधार र दूध भण्डारणमा कसैले सहयोग गरिदिए सजिलो हुने आस गर्छन् । रातीको दूध बिहानसम्म राख्नु परेपछि फाट्न सक्ने भएकाले भण्डारणका लागि फ्रिज र दूध बोक्ने भाँडाको सहयोग पाए काम गर्न थप हौसला मिल्ने उनी बताउँछन् ।
‘मैले भैँसी खरिद गर्नमा आफै लगानी लाएको छु, यसमा पछि पनि आफै लगाउँछु’ उनी भन्छन्, ‘तर गोठ सुधार र दूध भण्डारणका लागि सहयोग पाए सजिलो हुने थियो ।’ उनी भैँसी पालनबाट आएको रकमबाट थप भैँसी किन्ने बताउँछन् ।
आफ्नो भैँसी पालन व्यवसायलाई गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय नेतृत्वको टोलीले अनुगमन गरेको गणेश बताउँछन् । उनी भन्छन् ‘अध्यक्ष ज्यूले राम्रो व्यवसाय सुरुवात गरेको भन्दै धन्यवाद दिनु भएको छ र आफूले सक्दो सहयोग गर्ने बताउनु भएको छ, मलाई आशा पनि छ उहाँले सहयोग गर्नु हुनेछ ।’

गणेशको आग्रह: विदेश नजानुहोस्, यतै काम गरौँ
रोजगारीको लागि विदेशमा भौँतारिने युवाहरूलाई स्वदेशमै केही गर्न आग्रह गर्छन् गणेश । आफू लामो समयसम्म आफ्नो घरपरिवार छोडेर, जमिन समेत बाँझो राखेर भारतमा रोजगारीका लागि बसेको सम्झँदै गणेशले भने ‘तर अन्ततः आफ्नै देश चाहिने रहेछ, तागत छँदासम्म अर्काको देशमा रगत र पसिना बगाउनु पर्ने, काम गर्न नसक्ने भएपछि फर्केर यतै आउनु पर्ने अवस्था अन्त्य गरौँ ।’
उनी सरकारले पनि देशमै केही गर्छु भन्ने युवाहरूलाई सहयोग गर्नु पर्ने बताउँछन । अनुदान भनसुनका आधारमा नभई परिश्रमका आधारमा दिनु पर्ने र कृषि पेशालाई सम्मानित पेशा बनाउनु पर्ने उनको माग छ । उनी थप्छन् ‘हामी भारत वा तेस्रो मुलुकमा गएर जस्तो सुकै काम गर्न पनि तयार हुन्छौँ, तर आफ्नै देशमा कुटो कोदालो चलाउन लजाउँछौँ ।’ उनी सरकारले केही गरिदिएन भन्दै गाली गरेर मात्रै समाजको विकास नहुने बताउँछन् ।

Leave a Reply