किसानको पसिनालाई ब्राण्डिङ गर्दै ‘अन्नपूर्ण दुग्ध उत्पादक सहकारी’ 

कुनै समय थियो– चितवनका किसानहरूले उत्पादन गरेको दूधले बजार देख्न पाउँदैन थियो । तर, अहिले त्यो परिस्थिति पूर्णरूपमा बदलिएको छ । दूधको बिक्री नगर्ने तिनै किसानहरू अहिले उत्पादन गरेको दूध सबैजसो बिक्री गर्छन् ।

चार दशकअघि केही किसानहरूले देखेको एउटा सपनाले आज त्यो परिस्थितिलाई पूर्ण रूपमा बदल्यो । जसका लागि एउटा सहकारीको पनि उल्लेख्य योगदान रहेको छ । जुन सहकारी हो– अन्नपूर्ण दुग्ध सहकारी संस्था लिमिटेड ।

२०४२ सालमा स्थापना भएको चितवनको भरतपुर महानगरपालिका वडा नं. ६ मा रहेको यस सहकारी किसानको पसिनालाई मूल्यवान् ‘ब्राण्ड’मा परिणत गर्ने एक सफल मोडल बनेको छ । यस सहकारीले ती किसानको पसिनालाई ‘ब्राण्ड’ बनाउँदै बजारमा गाउँले स्वाद चखाइरहेको छ ।

आजभन्दा ४१ वर्ष अगाडि (२०४१ साल साउन १ गते) यस संस्था अन्नपूर्ण दुग्ध संकलन केन्द्रको रूपमा दुग्ध विकास संस्थानद्वारा सुरुवात गरिएको चितवन जिल्लाकै पहिलो डेरीको रूपमा स्थापना भयो । शोभाकर चापागाईँको अध्यक्षतामा शुरु भएको यस सहकारी ५० जना सदस्यबाट दैनिक १३० लिटर दुध संकलन गर्थ्यो ।

चोक बजारबाट सुरुवात भएको यस संस्था हालसम्म आइपुग्दा करिब ६५० भन्दा बढी कृषक परिवारहरूको रोजगारीको प्रत्यक्ष/अप्रत्यक्ष साधन बनेको छ । अहिले यस सहकारी दैनिक ८ हजार लिटरसम्म दुध संकलन गर्ने संस्थाको रूपमा विकास भएको छ ।

‘दुग्ध संकलन केन्द्रकारुपमा शुरु भएको हाम्रो यात्रा आज यहाँसम्म आइपुगेको छ । त्यो बेला दैनिक १३० लिट दूध संकलन गरिन्थ्यो । अहिले त्यो बढेर दैनिक आठ हजार लिटर माथि पुगेको छ’, संस्थाका अध्यक्ष प्रदीप तिमल्सेनाले भने ।

उनका अनुसार त्यसबेला कृषकहरूको पहलमा भारतबाट चापागाईँ परिवारले जर्सी गाई र होलिस्टेन गाई नेपाल ल्याएर गाईपालनको सुरुवात गरिएको थियो । जसलाई तत्कालीन सरकारले नेपालको एक मात्र उन्नत गाई क्षेत्र भनेर घोषणा गरेको थियो ।

सुरुवातमा दुध संकलन केन्द्रको रूपमा स्थापना भएको यस संस्था २०४९ पौष ३ गते सहकारी विभागमा दर्ता गरी विधिवत् रूपमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थामा परिणत भएको थियो । कम गुणस्तरीय र महँगो आयातित दाना विस्थापित गर्न र बिचौलियाको मारबाट केही हदसम्म मुक्ति दिलाउन सहकारीले आफ्नै उद्योग समेत स्थापना गरेको छ ।

संस्थाको आफ्नै दाना उद्योग छ । जसको स्थापना वि.सं. २०६० सालमा गरिएको थियो । यसको प्रतिघण्टा १ टन क्षमता छ । यसका साथै संस्थाले २०६१ सालमा ५३०० लिटर क्षमताको दुध चिस्यान केन्द्र स्थापना गरेको थियो ।

संस्था आफैले कार्यविधि बनाई पशु बिमा कार्यक्रमको सञ्चालन गरेको छ ।  यस सहकारीले २०६८ मा उन्नत गाई स्रोत केन्द्र सञ्चालन, २०७१ सालमा दुग्ध विविधीकरण परियोजना मार्फत डेरी उद्योग सञ्चालन गरेको थियो । २०६७ सालदेखि कृषक बचत तथा ऋण कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ ।

यस सहकारीले उत्पादनदेखि बजारीकरणसम्मको काम गर्दै आएको छ । प्याकेजिङ्ग दुध, दही, घ्यू, पनिर, बटर, फ्रेस क्रिम, नौनी लगायतका उत्पादन गर्दै आइरहेको छ । त्यसबाहेक पशु आहार उद्योग अन्तर्गत प्रतिघण्टा ५ टन क्षमताको पशु दाना उद्योगसँगै गोदाम घर, साइलेज उद्योग, आफ्नै जग्गामा नमुना गाई फार्म निर्माण गरिएको छ । जसको निर्माण २०७७ सालमै गरिएको अध्यक्ष तिमल्सेनाले जानकारी दिए ।

अन्नपूर्णको सफलता दूधमा मात्र सीमित छैन । यसले किसानलाई आत्मनिर्भर बनाउन एक पूर्ण इकोसिस्टमको विकास गरेको छ । संस्थाका अध्यक्ष तिमल्सेना भन्छन्, ‘हाम्रो उद्देश्य किसानलाई दूध उत्पादक मात्र होइन, एक सफल उद्यमी बनाउनु हो । यही सोचका साथ सहकारीले आफ्नै स्रोतबाट विभिन्न उद्योगहरू सञ्चालन गरेको छ ।’

संस्थापक अध्यक्ष स्व. शोभाकर चापागाईँले रोपेको बीउ आज विशाल वृक्ष बनेको छ । ‘सफा, स्वच्छ र शुद्धता, अन्नपूर्णको प्रतिबद्धता’ भन्ने नारालाई आत्मसात् गर्दै अगाडी बढेको यस संस्थाले किसानलाई उत्पादनको उचित मूल्य, प्राविधिक सहयोग, पशु बिमा र सहुलियत ऋणजस्ता सुविधा उपलब्ध गराउँदै आएको छ ।

आफ्नो सहकारी नेपालका अन्य कृषि समूहका लागि प्रेरणाको स्रोत बनेको अध्यक्ष तिमल्सेना बताउँछन् । उनी अगाडी भन्छन्, ‘चार दशकको यात्रामा अन्नपूर्णले यो प्रमाणित गरेको छ कि जब किसानको पसिना, सहकारीको सिद्धान्त र कुशल व्यवस्थापन एकै ठाउँमा मिल्छ, तब एउटा सामान्य कृषि उपजले पनि राष्ट्रिय स्तरको ‘ब्राण्ड’ बन्न सक्छ ।’

स्थानीय दूध उत्पादनमा सक्रिय अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले ‘मोही’लाई अलग पहिचान दिने अभियानमा पनि जुटेको छ । यस सहकारीले बजारमा ल्याएको ‘अन्नपूर्ण मोही’ स्थानीय ब्रान्डिङको सफल उदाहरण बन्ने संकेत देखिएको छ ।

सहकारीले किसानबाट संकलन गरिएको दूधबाट प्रशोधित मोही उत्पादन गरेर आकर्षक प्याकेजिङ, गुणस्तर र उपभोक्ता लक्षित रणनीति अपनाउँदै बजारमा पठाउने गरेको छ । यस अभियानले उपभोक्तामाझ ‘सहकारी मोही’को छवि बलियो बनाइरहेको छ ।

सहकारीको मोही अब केवल एक पेय मात्र नभएर स्थानीय स्वाद, श्रम र सामाजिक उद्यमशीलताको प्रतीक बन्दै गएको उनले बताए । अध्यक्ष तिमल्सेनाले भने, ‘हाम्रो लक्ष्य नै कम्तीमा स्वदेशमा भएको उत्पादन हामी आफैँले खाइदियौँ भने विदेशी बहुराष्ट्रिय कम्पनीका कोक, फेन्टा, ड्युलगायतमा बाहिर पैसा जाँदैन । अब बाहिरका पेय पदार्थ होइन स्वदेशी उत्पादनलाई उपभोग गर्नुपर्छ भनेर मोहीलाई ब्राण्डिङ गरिरहेका छौँ । यसमा हामी सफल नै भयौँ ।’

यस सहकारीले चार वर्षदेखि मोहीलाई ब्राण्डिङ गरिरहेको छ । सुरुवाती चरणमा बजार पाउन समस्या भयो । तर, पछिल्लो दुई वर्ष यता भने यस सहकारीको मोहीले उल्लेख्य बजार पाइरहेको छ । अहिले दैनिक १५ सय बोटल मोसी बजारमा पठाउने गरिएको छ । विशेषगरि चितवन, नवलपरासी, गोरखा, लमजुङ लगायतमा मुख्य सहरहरूमा अन्नपूर्ण मोही पुग्ने गरेको छ । देशभरका अन्य मुख्य सहरहरूमा समेत मोही पठाउने यस तयारी छ ।

यस सहकारीको दैनिक बिहान दूध संकलनबाट शुरु हुन्छ । सहकारी आफैले संकलन गरेको दूध प्रशोधन गरिन्छ । जसका लागि सहकारीको आफ्नै प्लान्ट छ । प्रोसेसिङ पछि प्याकेजिङ गरेर चार जिल्लामा पठाइन्छ । र, सहकारी आफैले बिक्री गर्छ ।

यस सहकारीले आफ्ना सदस्य किसानको दूध मात्रै व्यवस्थापन गर्ने गर्छ । उत्पादनदेखि बजारीकरणसम्मका लागि किसानको सहारा बनेको छ ।

दूध खरिदको पैसा यस सहकारीले १५–१५ दिनमा बैंक खातामा भुक्तानी गर्ने गरेको छ । त्यसबाहेक किसानले पालेका गाई भैँसीलाई निःशुल्क खोरेत तथा लम्की स्किन भ्याक्सिनको व्यवस्था गरेको छ । पशु बीमा गरिदिने गरेको यस सहकारीले बिना धितो ५ लाख रुपैयाँसम्म सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराउने गरेको छ ।

यो सहकारी अध्ययनको थलो समेत बनेको बताउँदै उनले अगाडी भने, ‘हामीले सहकारी निष्ठा र सिद्धान्तहरूप्रति प्रतिबद्ध भई विविध क्रियाकलापहरू गर्दै आएका छौँ । हाम्रोमा देशभरिबाट अध्ययन अवलोकन गर्न कृषि तथा पशु विशेषज्ञहरू, राजनैतिक, सामाजिक तथा सहकारी अभियान्ताहरु आउनु हुन्छ । कृषकहरूले यस सहकारीका असल अभ्यासहरूबाट शिक्षा लिइरहेका छन् ।’

पछिल्लो प्रतिवेदन अनुसार यस संस्थाको शेयर पुँजी एक करोड ५६ लाख रहेको छ । २ करोड ८७ लाख रुपैयाँ जगेडा कोषमा रहेको यस सहकारीका वार्षिक आय २७ करोड माथि रहेको छ । यस संस्थाका शेयर सदस्य सङ्ख्या करिब पाँच सय रहेका छन् भने तीन दर्जन बढीले रोजगारी पाएका छन् ।

असल अभ्यास गरिरहेका अन्य सहकारीसम्बन्धी समाचारहरुः   

नोट: केही वर्षयतादेखि सहकारी क्षेत्र संघर्षपूर्ण अवस्थामा छ । सडकदेखि सदनसम्म सहकारी क्षेत्र चर्चामा छ । सहकारीविरुद्ध सडक आन्दोलनदेखि अब चाहिँदैन भन्दै विरोधसम्म भइरहेको छ । समुदायसँग जोडिएको सहकारीका केही बदमासीका कारण यस क्षेत्रको सबल पक्ष ओझेलमा परेको छ । त्यसैलाई मध्यनजर गर्दै नेपाल प्रेसले समुदायका बीच असल अभ्यास गरिरहेका सहकारीबारे जानकारीको शृङ्खला प्रस्तुत गरेको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *