भेषावकरदेखि रौनकसम्म : एनपीएलमा ‘अनसोल्ड’ रहेका यी चर्चित खेलाडी

काठमाडौं । दोस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपिएल) को मिनि अक्सन शनिबार सकियो । हरेक टोलीले आफ्नो आवश्यकताअनुसार खेलाडी खरिद गर्दै मार्कीसहित ११ जनालाई टोलीमा अनुबन्ध गरे । अब ट्यालेन्ट हन्टबाट समान एकएक नेपाली खेलाडी भित्र्याउनेछन् । यस्तै हरेक टोलीले ४ देखि ६ विदेशी खेलाडी टोलीमा अनुबन्ध गर्नेछन् ।

अक्सनमा रहेका १६४ खेलाडीबाट ३७ खेलाडी मात्र एनपिएलमा अनुबन्ध भए । १२७ खेलाडी एनपीएल खेल्नबाट बञ्चित भए । यसअघि नाम दर्ता गराएका तर, अक्सनमा नपरेका २९४ खेलाडी पनि यसपटकको एनपिएलबाट टाढा रहनेछन् ।

विशेष गरी को को खेलाडी यसपटकको एनपीएलबाट टाढा रहनेछन् ? यो लेखमा हामी ती खेलाडीहरुको बारेमा चर्चा गर्नेछौं ।

अक्सनमा अनसोल्ड हुने खेलाडीको पहिलो नम्बरमा पर्छन् अनुभवी खेलाडी शरद भेषावकर । अघिल्लो संस्करणमा १० लाखमा चितवन राइनोजमा अनुबन्ध भएका शरदलाई यसपटक किन्न कुनै टीमले इच्छा जनाएनन् । उनी क्याटेगोरी ‘ए’ मा थिए । पहिलो संस्करणमा ४ म्याच खेलेका उनले कुल ३८ रन मात्र बनाउन सके । त्यसपछि उनले कुनै पनि आधिकारिक प्रतियोगिता खेलेका छैनन् ।

नेपालले सन् २०१४ मा टी–२० विश्वकप खेल्दा शरद महत्वपूर्ण सदस्य थिए । अहिले उनी राष्ट्रिय टोलीबाट समेत टाढा छन् । घरेलु क्रिकेटबाट पनि शरद पछिल्लो एक वर्षदेखि टाढिएका छन् । उनीसँगै खेलेका पारस खड्का क्यानका सचिव भइसकेका छन् । ज्ञानेन्द्र मल्ल, शक्ति गौचन पनि प्रशिक्षणमा लागिसकेका छन् ।

क्याटेगोरी ‘ए’ मै रहेका सुनम पनि कुनै पनि टोलीको रोजाई पर्न सकेनन् । सन् २०२३ मा भएको नेपाल टी–२० लिगमा काठमाडौं किंग्सबाट खेलेका सुनम त्यसयता नेपाली क्रिकेटमा जोडिएका छैनन् । एनपिएलको पहिलो संस्करणमा अनशोल्ड भएका सुनमले यसपटक पनि क्याटेगोरी ‘ए’ मै नाम दर्ता गराएको थिए । तर, बिक्न सकेनन् ।

क्याटेगोरी ‘बी’ मा रहेका मौसम ढकाल, भुवन कार्की, सन्तोष कार्की, आशुतोष घिरैया, सुनिल धमला, पृथु बास्कोटा, रित गौतम, सुमित महर्जन, अनिल खरेल र प्रदीप ऐरी पनि यसपटकको एनपिएलमा देखिने छैनन् ।

सन्दीप लामिछानेको अनुपस्थितिमा मौसमले राष्ट्रिय टोलीमा मौका पाएका थिए । नेपाल ‘ए’ टिमका महत्वपूर्ण सदस्य रहेका मौसम घरेलु क्रिकेट एपिएफबाट खेल्दै आएका छन् । मौसम अघिल्लो संस्करणमा १० लाखमा कर्णाली याक्समा अनुबन्ध भएका थिए । स्पिनर ढकालले एक खेलमा मात्रै अवसर पाए । पहिलो खेलमा एक विकेट लिएर महंगो सावित भएका मौसमलाई ट्यालेन्ट हन्टबाट भित्रिएका विपिन शर्माले प्रतिस्थापन गरे ।

भुवन कार्कीले पनि पहिलो संस्करण कर्णाली याक्सबाट खेलेका थिए । दुई खेलमा खासै राम्रो प्रदर्शन गर्न नसकेपछि स्पिनर कार्कीले त्यसपछि अवसर पाएका थिएनन् । कर्णालीले रिलिज गरेपछि अक्सनमा नाम दर्ता गराएका उनलाई कुनै टोलीले पनि किन्ने इच्छा देखाएनन् ।

सन्तोष आर्मीबाट घरेलु क्रिकेट खेल्दै आएका ब्याटर हुन् । घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका ओपनिङ ब्याटर सन्तोष कुनै पनि टोलीको रोजाईमा पर्न सकेनन् । पहिलो संस्करणमा चितवन राइनोजबाट खेलेका उनले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । उनले ८ खेलबाट १०८ रन मात्रै जोड्न सके ।

पहिलो संस्करणमा लुम्बिनी लायन्सबाट खेलेका आशुतोष यसपटक अनसोल्ड भए । बागमती प्रदेशबाट घरेलु क्रिकेट खेलिरहेका आशुतोष सम्भावना भएको युवा ब्याटर हुन् । नेपाल ‘ए’ टिमबाट खेलिसकेका उनलाई कुनै पनि टिमले अनुबन्ध गरेनन् । घरेलु क्रिकेटमा मध्यम प्रदर्शन गरिरहेका सुनिल पनि यसपटक कुनै टिमको रोजाईमा पर्न सकेनन् ।

पहिलो संस्करणमा कर्णाली याक्सबाट खेलेका ब्याटर रित गौतम यसपटक भने अनसोल्ड भए । पछिल्लो समय फर्मबाहिर हुँदा उनलाई कुनै टोलीले पनि अनुबन्ध गरेनन् । बागमतीबाट घरेलु क्रिकेट खेल्दै आएका पृथुप्रति पनि कुनै पनि टोलीले विश्वास गरेनन् । पहिलो संस्करणमा काठमाडौं गोर्खाजबाट खेलेका सुमित महर्जनले पनि दोस्रो एनपिएल खेल्ने छैनन् । उनले पहिलो संस्करणमा काठमाडौंबाट मध्यम प्रदर्शन गरेका थिए ।

उमेर समूहमा नेपालको कप्तानी गरिसकेका रिजु रिजाल पनि कुनै पनि टोलीको रोजाईमा पर्न सकेनन् । उनी पहिलो संस्करणमा काठमाडौं गोर्खाजमा आवद्ध भएपनि खेल्ने अवसर पाएका थिएनन् । पुराना अलराउन्डर प्रदीप ऐरी यसपटक पनि एनपिएलमा अनुबन्ध भएनन् । उनलाई घरेलु क्रिकेट एपिएफबाट खेल्दै आएका छन् ।

अघिल्लो संस्करणमा विराटनगरका किंग्सबाट खेलेका अनिल खरेल पनि यसपटकको एनपिएलमा देखिने छैनन् । उनलाई विराटनगरले रिलिज गर्दा अन्य कुनै पनि टोलीले किन्ने इच्छा जनाएनन् ।

उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रौनक श्रीवास्तवलाई पनि कुनै पनि टोलीले एनपिएलमा अनुबन्ध गरेनन् । नेपालले एसीसी यू–१६ इस्ट जोन कपमा रौनक सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटर घोषित भएका थिए । उक्त प्रतियोगितामा रौनकले एक शतकसहित २९६ रन बनाएका थिए । घरेलु क्रिकेटमा पनि उनले गण्डकी प्रदेशविरुद्ध २१६ रनको दोहोरो शतक प्रहार गरेका थिए । तर, एनपिएलमा उनलाई कुनै टिमले पनि किन्न चाहेनन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *