अनेरास्ववियु गण्डकीमा विवाद : केन्द्रको सर्कुलरविपरीत भेला, निर्णय पुनर्विचार गर्न माग

पोखरा । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गण्डकी प्रदेशमा केन्द्रको सर्कुलरविपरित भेला गरिएको छ । केन्द्रले विधि विधानभन्दा बाहिर गएर संयोजक तोकेको भन्दै सुरज सापकोटाको अध्यक्षतामा आइतबार बागलुङमा भेला भएको हो ।

अनेरास्ववियु गण्डकीका अध्यक्ष प्रवीण श्रेष्ठले साउन ४ गते दुई उपाध्यक्षलाई बाइपास गर्दै सचिव सुरजलाई संयोजकको जिम्मेवारी प्रदान गरेका थिए । जसबाट उपाध्यक्षद्वय सुसन घिमिरे र विश्वदर्शन पराजुली असन्तुष्ट बने ।

त्यसपछि केन्द्रले साउन १६ गते सुरजलाई संयोजक बनाउने प्रदेश अध्यक्षको निर्णय बदर गर्दै उपाध्यक्ष सुसन घिमिरेलाई संयोजक बनाएर सर्कुलर पठायो ।

जसमा अर्का उपाध्यक्ष विश्वदर्शन र सचिव सुरजलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको थियो । सोही सर्कुलरलाई असन्तुष्ट जनाउँदै सुरज पक्षधरले आज भेला गरेका हुन् ।

भेलामा ८ जिल्ला अध्यक्ष र ७ केन्द्रीय सदस्यको सहमति रहेको सुरजको दाबी छ । उक्त भेलाले केन्द्रको निर्णय पुनर्विचार गर्न मागसहित पत्र पठाउने निर्णय गरेको उनको भनाइ छ ।

‘केन्द्रले विधि र विधानविपरित प्रदेशलाई हस्तक्षेप गरेको छ । त्यसकोविरुद्ध ११ मध्ये ८ जिल्ला अध्यक्ष र ७ केन्द्रीय सदस्य उभिनुभएको छ’, उनले भने, ‘मनाङ, मुस्ताङ र लमजुङका अध्यक्षज्यूहरुले भेलाको निर्णयमा समर्थन छ भन्नुभएको छ । समय अभावका कारण उहाँहरु उपस्थित हुन सक्नु भएन । अन्य सबै उपस्थित हुनुहुन्थ्यो ।’

कास्की, तनहुँ र नवलपुरका जिल्ला अध्यक्षहरुले भने केन्द्रको निर्णयमा सहमति जनाएको सुरजले बताए । केन्द्रले प्रदेश संयोजक र सहसंयोजकसँगै बागलुङ, पर्वत, तनहुँ र नवलपुरका संयोजकसमेत तोकेको थियो ।

प्रदेश संयोजक सुसन घिमिरेले उक्त भेला आधिकारिक नभएको प्रतिक्रिया दिए । उनले केन्द्रले पठाएको सर्कुलर आधिकारिक हुने भन्दै त्यसबाहेकको कुनै पनि भेला आधिकारिक नहुने टिप्पणी गरे ।

‘भेलाले जे दाबी गरेको गलत छ । उहाँले केन्द्रको सर्कुलरविपरित पुराना अध्यक्षहरुलाई डाकेर भेला गर्नुभएको छ । जुन संगठनको अनुशासनविपरित छ । अब कुन ढंगले अगाडि बढ्ने भन्नेबारे संवादमा छु’, उनले भने ।

प्रदेश अध्यक्षले दुई उपाध्यक्ष हुँदाहुँदै सचिवलाई संयोजक तोक्ने निर्णय केन्द्रले सच्याएको घिमिरेको भनाइ छ । उक्त भेला संगठनभन्दा बाहिर रहेकाहरुको जोडबलमा भएको उनको दाबी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *