विजयनगरमा नापी भएको एक महिनामै लालपुर्जा

रुपन्देही । लामो समय लालपूर्जाको लागि प्रकृया कुरिरहेका सर्वसाधारणलाई एक महिनामै पूर्जा पाउने कुरामा विश्वास नै थिएन । शनिवार कपिलस्तुको विजयनगर गाउँपालिका–१ जबाबैराठका थारु समुदायका हातमा पहिलो पटक लालपुर्जा दिने चर्चा गरिरहँदा धेरैलाई विश्वास नै लागेको थिएन ।

बिहानैदेखि गाउँमा पूर्जा पाउने चर्चाले उत्साहको माहौल थियो। लालपुर्जा हस्तान्तरणका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी स्वयं गाउँ पुगेका थिए। वर्षौँदेखि आफ्नो भनिने जमिनमा बसोबास गर्दै आएका तर कानुनी कागज नपाएका भूमिहीन २१ घरधुरीलाई पहिलो पटक जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो।

कपिलवस्तुमा नापी भएको एक महिनाभित्रै भूमिहीन सुकुम्वासीले लालपुर्जा प्राप्त गरेका छन्। विजयनगरका २१ र बाणगंगा नगरपालिकाका मोतिपुरडाँडाका ७ गरी २८ घरधुरीले लालपुर्जा पाएका हुन्। लालपुर्जा वितरण गर्दै मन्त्री अधिकारीले यस वर्षको बजेटमार्फत ५ लाख घरधुरीलाई लालपुर्जा वितरण गर्ने सरकारको लक्ष्य रहेको बताए।

उनले यो आयोगलाई अन्तिम आयोग बनाउने गरी भूमिहीन सुकुम्वासी तथा भूमि सम्बन्धी समस्या देखिएका करिब १५ लाख घरधुरीलाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको स्पष्ट पारे।

मन्त्री अधिकारीले जनताको समस्या समाधानका लागि कानुन बनाउँदा कतिपयले गलत हल्ला फिँजाएको आरोप लगाए। “वन मास्ने भए, सार्वजनिक जग्गा मास्ने भए, भू–माफियालाई जग्गा दिने भए, मिलेमतो गरेर आए, पैसाको चलखेल भयो” जस्ता आरोपको खण्डन गर्दै उनले कानुनमा नमिलेका कुरालाई मिलाउन संशोधनका लागि विधेयक ल्याइएको दाबी गरे।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले भूमिहीन सुकुम्वासीलाई छिटोभन्दा छिटो लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको बताए। जबाबैराठमा असार २९ देखि साउन १ गतेसम्म नापीको काम सम्पन्न भएको थियो।

एक हप्ते दाबी–विरोध र १५ दिन राजस्व दाखिला गर्ने समय तोकिएको थियो। मोतिपुर डाँडामा असार १३ देखि सुरु भएको नापी प्रक्रिया एक सातामै पूरा भएको थियो। आवश्यक प्रक्रिया पूरा गरी २८ भूमिहीनले लालपुर्जा पाएको वडाअध्यक्ष विष्णु गिरीले जानकारी दिए।

लालपुर्जा वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य सिराज अहमद फारुकी, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलगायतले मन्तव्य राखेका थिए। नापी कार्यालय, कपिलवस्तुका प्रमुख जनक भण्डारीका अनुसार आजभोलीमै मायादेवी गाउँपालिकाका करिब २ हजार घरधुरीलाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको छ। वितरण भएका लालपुर्जा करिब दुई महिनाभित्र मालपोत कार्यालयमा स्रेस्ता कायम हुनेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *