प्रकाश सपूतका ‘खराब दिन’

प्रकाश सपूत सृजनात्मक छन् । सामाजिक मुद्दाहरूलाई टिपेर आफ्ना गीतका शब्दहरूमा टपक्क राख्न सिपालु छन् । शब्दहरूमा मीठो लय सृजना गरेर गाउन खप्पिस छन् । गीतका म्युजिक भिडियोहरूमा चलचित्रकै शैलीमा कथा हाल्नमा उस्ताद छन् । बोली उस्तै मिजासिलो छ । र, त प्रिय छन् ।

सबैको प्रिय हुँदाहुँदै पनि सपूत गीतको शब्दका कारण, भिडियोको कथाका कारण विवाद र बहसको घेराभित्र परिरहन्छन् । कहिले ‘पीर’, ‘सकमबरी’जस्ता गीतबाट उनी आलोचकको तारो बन्छन् त कहिले ‘बोल माया’ जस्ता गीतमा आँसु बेचेको आरोप खेप्छन् । कहिले नेताको प्रशंसा गरेर दर्शक/स्रोताको निशानामा पर्छन् त कहिले ‘अहंकारयुक्त’ अभिव्यक्तिका कारण विवादमा अलमलिन्छन् ।

प्रकाश सपूतका पछिल्ला दिनहरू त्यति ठिकठाक चलिरहेका छैनन् । गत वर्ष प्रदर्शनमा आएको र ब्लक बस्टर भएको चलचित्र पूर्णबहादुरको सारङ्गीको प्रमोसनका दौरान कन्ट्रोभर्सीमा परेदेखि उनलाई निरन्तर एकपछि अर्को व्यवधान परिरहेको छ ।

सपूतले ‘पूर्णबहादुरको सारङ्गी’ को सन्दर्भमा एउटा लामो स्ट्याटस लेखेका थिए । सपूतका अनुसार ‘वसन्त’ पछि मात्रै ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शन गर्ने सम्झौता भएको थियो । तर, सपूत ‘वसन्त’कै छायाङ्कनमा रहेको बेला ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन मिति तय भयो,- २०८१, कात्तिक १५ गते ! २०८१ चैत २२ गते प्रदर्शन मिति घोषणा गरिएको ‘वसन्त’भन्दा पाँच महिनाअघि नै ‘पूर्णबहादुरको सारङ्गी’ को प्रदर्शन मिति घोषणा गरिएपछि सपूत असन्तुष्ट बने ।

सामाजिक सञ्जालमा लामो स्टाटसमार्फत् उनले दु:खेसो र आक्रोश एकसाथ देखाए । सँगै उनभित्र सुषुप्त अवस्थामा रहेको दम्भ पनि प्रकट भयो । स्टाटसमार्फत् उनले गरेको तर्कलाई मनोवैज्ञानिक रूपमा नियाल्ने हो भने त्यहाँ गुनासोको लेपनमा सपूतको दम्भ प्रष्टै दृष्टिगोचर हुन्छ ।

आलोचनाले घेरिएकै बीच चैत २२ मा ‘वसन्त’ प्रदर्शनमा आयो । समीक्षात्मक रूपले मिश्रित प्रतिक्रिया पाए । तर बक्स अफिसमा चलचित्र फेल भयो । महँगो बजेटमा बनेको ‘वसन्त’ले दुई करोड १० लाख मात्रै ग्रस कलेक्सन गर्‍यो । कलेक्सनको हिसाबले निर्माताको हातमा घरेलु बक्स अफिसबाट ७५ देखि ८५ लाखको बीचमा रकम हात लाग्यो । जब कि चलचित्रमा चार करोडमाथि लगानी गरिएको थियो ।

उनले एक ठाउँमा लेखेका थिए, ‘पर्दामा सपना, संघर्ष र इमानको कथा बनाएर बाहिर चाहिँ अरुको सपना, संघर्ष र इमानमाथि बेइमानी र बदनामी गर्नेहरूसँग फेरि जोडिन नपरोस् ।’ उनले थप लेखेका थिए, ‘सृजना दर्शकको शुभेच्छा र स्वयं सृजनाको दमले चल्छ । सर्जक, निर्माता र कलाकारको दम्भले होइन ।’

खासमा दुवै पक्षले आ-आफ्नो स्वार्थका लागि दाउ छोपेका थिए । सपूतलाई आफ्नो स्टारडम वसन्तमा प्रयोग गर्नु थियो, पूर्णबहादुरको सारङ्गीका निर्मातालाई भने वसन्तअघि नै प्रकाशको स्टारडम प्रयोग गर्नु थियो । त्यसैले निर्माताको निर्णयले सपूत क्रुद्ध भए । पूर्णबहादुरको सारङ्गीको ट्रेलर लन्च कार्यक्रमसम्ममा गएनन् । बरु चेतावनीयुक्त स्ट्याटस पोष्ट्याए । उनको स्टाटसको भाषा कोमल थियो, मुलायम थियो, तर आशय निकै कठोर र उग्र थियो ।

पूर्णबहादुरको सारङ्गी ब्लकबस्टर भयो । इतिहासकै सर्वाधिक सफल नेपाली चलचित्रको कीर्तिमान राख्यो । तर, चलचित्रका एक महत्त्वपूर्ण पात्र हुँदाहुँदै पनि यसको सफलताको जस सपूतलाई गएन । सबै श्रेय विजय बरालले लिए । कारण, सपूतले चलचित्र रिलिजअघि प्रमोसनमा साथ नदिनु । जब दर्शक हलमा धुइरिए, त्यसपछि मात्रै सपूतले पनि हलहरूमा पाइला राखेका थिए । तर, त्यसले कुनै क्षतिपूर्ति भएन । उल्टै दर्शक देखेपछि लोभिएर हलमा दौडिएको अर्को आरोप खेप्नुपर्‍यो ।

धेरै आलोचना आउन थालेपछि सपूतले माफी माग्दै एक स्ट्याटस लेखे, ‘जानी-नजानी मन दुखाएकोमा माफी चाहन्छु । कमजोरीहरू सुधार्दै जाउँला । अब त उमेरले पनि अलि पाको हुँदै गइयो । सस्तो चर्चा, परिचर्चा, सफलता, व्यस्तताभन्दा पनि एउटा राम्रो विचार र व्यवहारसहितको व्यक्ति बन्न चाहन्छु । यसरी खबरदारी चाहिँ गर्दै गर्नुस्, तर राम्रो ऊर्जा पनि दिनुस् न है ।’

त्यसबेलादेखि ‘नाइँ भनेसि नाइँ’ सम्म आइपुग्दा सपूत ओरालो यात्रामा देखिएका छन् । एक वर्षदेखि सपूतले अप्ठ्यारोहरू झेलिरहेका छन् । नयाँ गीत ‘नाइँ भनेसि नाइँ’ ले अपेक्षित भ्यूज नपाएको चर्चा व्याप्त छ । ७ दिनमा ७ लाख लाख भ्यूज अरुका लागि धेरै हो, तर सपूतका लागि कम । समीक्षा अधिकारी र एलिना चौहानजस्ता अहिलेका हटकेक गायिकाहरूलाई लिएर पनि सपूतले राम्ररी सदुपयोग गर्न सकेनन् । उनका अन्य गीतहरूले जस्तो यो गीतले कुनै बहसको सिर्जना पनि गर्न सकेन ।

सफलताको शिखर चुमिसकेपछि सपूतले गुजारेको सम्भवतः प्रतिकुल समय यही एक वर्ष हो । सात वर्षअघिको ‘बोल माया’ देखि सपूत दर्शकको मायाले पुलपुलिएका मात्रै थिए । बितेको एक वर्ष तिनै दर्शकले सपूतलाई प्रश्न गरे । उनको अभिव्यक्ति र गतिविधिहरू विवादित बने ।

प्रकाश सपूत स्वभावतः अहंकारी होइनन् । उनले एक पटक यो पंतिकारसँग भनेका थिए, ‘मलाई देख्नेहरूले भुईँबाट उठेको देख्लान्, तर त्यसो होइन । म भुईँभन्दा तल खाडलबाट उठेको हुँ । अहिले म सबैले देख्ने ठाउँमा छु भनेर गर्व लाग्दैन । यो उचाइबाट एक दिन त झर्नैपर्छ । तर, खुसी यसमा लाग्छ कि अब झर्दा पनि म भुईँसम्म मात्र झर्छु, त्यो खाडलमा झर्नु पर्दैन ।’

सपूतको यो अभिव्यक्तिको जग भने उनले झेलेर आएको गरिबी र अभाव हो । सामाजिक संरचनाको पिँधमा रहेर उनले भोगेको विभेद हो । अनि सपना प्राप्तिको लागि उनले गरेको ज्याद्रो संघर्ष हो ।

प्रकाशका हजुरबा बागलुङको धम्जा गाउँमा बोरा बोकेर विष्टकहाँ अन्न उठाउन जान्थे । बुवाको पालामा घरमा भैँसी पाल्न सक्ने भए । घरको आधा भागमा भैँसी र आधा भागमा परिवार बस्थे । सपूत त्यही आधा घरमा हुर्किए ।

सपूत स्वयंले होटेलमा काम गरे । दोहोरीमा गाए । २०६९ सालमा एल्बम पनि ल्याए । दुर्भाग्य ! गीतहरू चलेनन् । पारिवारिक जीवन चलाउनु थियो, उनले विदेश जानेबारे सोचे । तर, उनले विदेश गइहाल्न परेन । बिस्तारै उनको करियरले पिक अप लिँदै गयो । र आजको प्रकाश सपूत बने ।

दोहोरी ब्याटलदेखि ‘बोल माया’, ‘गलबन्दी’, ‘सकमबरी’, ‘कुरा बुझ्न पर्च’, ‘बदला बरी लै’, ‘पीर’ जस्ता गीतहरूले सपूतको बेग्लै इमेज निर्माण गर्‍यो । दर्शक/स्रोताले सपूतलाई अविरल माया दिइरहे । उनका गीतहरूले करोडौँ भ्यूज पाइरहे । दर्जन बढी गीतहरू करोड क्लबमा पुगेका छन् ।

सपूतको सृजनात्मक विशेषता हो, आम मानिसको कथालाई संवेदनायुक्त तवरले दर्शक/स्रोतालाई भन्नु !  ‘बोल माया’, ‘बदला बरी लै’जस्ता गीतहरूले आम मानिसको संवेदनालाई च्वास्सै छोएर जान्छन् । ‘पीर’, ‘सकमबरी’ जस्ता गीतले सामाजिक/राजनीतिक मुद्दाहरूलाई ज्वलन्तरूपमा उठाएका छन् ।

गीतहरूमा सपूत लय मात्रै हाल्दैनन्, कहानी पनि हाल्छन् । गीतमार्फत उनी कथा भन्छन् । कथासँगै मुद्दा पनि उठाउँछन् । बहस सृजना गर्छन् । सपूतको गीत आउनु भनेको बहस पनि सँगसँगै आउनु हो भन्ने भाष्य नै निर्माण भइसकेको छ । सयौँ कलाकारको भिडमा सपूतले निर्माण गरेको आफ्नो परिचय विल्कूल पृथक छ ।

उनले प्रशंसाका दुईचार शब्द-फूल ओलीमाथि छर्किदिए । अनि त के चाहियो ! उनलाई एमालेको ‘झोले’ को ट्याग लाग्यो । कलाकार निष्पक्ष बस्नुपर्नेमा सपूतले खुलेआम एउटा नेताको प्रशंसा गरेको भन्दै दर्शक/स्रोताको निशानामा उनी परे । यतिसम्म उनको खेदो खनियो कि ‘वसन्त’ बहिष्कार गर्नुपर्छ भन्नेसम्मका प्रतिक्रिया आए ।

अर्कातिर कतिपयले त सपूतले विवादकै लागि समेत गीत ल्याउँछन् भन्न भ्याएका छन् । ‘सकम्बरी’ गीतमा साहित्यकार पारिजातको उपन्यास ‘शिरीषको फूल’ की पात्र सकमबरीलाई कमजोर र निरीह देखाइएको भन्दै उनको चर्को आलोचना भयो । तत्कालीन समाजको मूल्य र मान्यताविपरीत आफ्नो अस्तित्वको वकालत गर्ने बागी पात्र सकमबरीलाई शरीर बेच्न विवश निरीह पात्र देखाइएको धेरैले रुचाएनन् ।

अध्येता यादव देवकोटाले सपूतलाई प्रश्न गरेका थिए, ‘आफैँले सहरमा ल्याएर जागिरको प्रलोभनमा पारेर यौन शोषण गरेको युवतीको बारेमा पुरुषलाई बडो क्रान्तिकारी चिन्ता छ,- तिम्रो कानको झुम्का कसरी आयो ? पाउजु कसरी किन्यौ ? रातो स्कुटर कसले किन्दियो ? तिम्रो बैँसको आयु कति छ ? ओ गायक ! तिम्रो इज्जत महिलाको योनीले कति बोकिरहनुपर्ने हौ ?’

अर्को गीत ‘पीर’ मा माओवादी पूर्वछापामारलाई देहव्यापारमा लगाएको भन्दै माओवादी नेताहरूले सपूतको चर्को आलोचना गरेका थिए । उनीहरूले गीत हटाउन दबाब दिए । चौतर्फी दबाब आएपछि सपूतले बाध्य भएर गीत हटाए । लगत्तै एडिटेड भर्सन अपलोड गरेका थिए, जहाँ यौनकर्मीको दृश्य हटाइएको थियो ।

अर्कातिर ‘बोल माया’, ‘बदला बरी लै’जस्ता गीतहरूमार्फत पाएको सकारात्मक प्रतिक्रियाले सपूतलाई चर्चाको केन्द्रमा राखेको थियो ।

गीत गाउँदै, गीतमार्फत कथा भन्दै थिए सपूत । सङ्गीतको दुनियाँमा जबरजस्त उपस्थिति जनाइरहेका थिए । तर, उनलाई चलचित्रमा ‘हिरो’ बन्ने  ‘भूत’ चढ्यो । राजेश हमाल, निखिल उप्रेती, दिलीप रायमाझीहरूलाई पर्दामा हेरेर हुर्किएका सपूत ‘परदेशी २’मा हिरो समेत बने । चलचित्रले बक्स अफिसमा झण्डै सात करोडको व्यापार गर्‍यो ।

पहिले गीतबाट हिट, पछि चलचित्र पनि हिट ! ‘परदेशी २’ हिट बनेपछि सानैदेखि सुषुप्त रूपमा हिरो बन्ने महत्त्वाकाङ्क्षा पालेका सपूत हौसिए । हिरो बन्ने उनको तिर्खालाई ‘परदेशी २’ले मात्रै मेटाउन सकेन । त्यसपछि उनी भटाभट एकपछि अर्को चलचित्र साइन गरिरहेका छन् । अहिले पनि उनी अभिनयमै बढी व्यस्त छन्, जुन उनको मुख्य विधा होइन ।

दर्शक/स्रोताको मायाले पुलपुलिएका सपूत गत वर्ष नै अर्को ठूलो कन्ट्रोभर्सीमा फस्न पुगे । उनी ‘वसन्त’को प्रचारमा व्यस्त थिए । गत फागुन १९ मा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लेखिएको किताब ‘केपी ओली : सपना, संघर्ष र सङ्कल्प’ पुस्तक विमोचन कार्यक्रमका लागि उनलाई निम्तो आयो । प्रधानमन्त्रीकै किताब विमोचन कार्यक्रम भनिएपछि उनले टार्न सकेनन् । गएपछि किताबको प्रशंसा गर्नैपर्‍यो । किताबका पात्रको गुणगान गाउनैपर्‍यो ।

सपूतले भने, ‘सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, संघर्ष गर्न पछि हट्नेहरूका लागि केपी शर्मा ओलीज्यूजको जीवन साँच्चिकै प्रेरणादायी छ । उहाँको जीवनको ग्राफलाई मात्रै हेर्ने हो भने पनि जीवनमा असम्भव केही हुन्न रहेछ भन्ने प्रेरणा लिइरहेको हुन्छु ।’

सपूतले वाध्यात्मक परिस्थितिमा ओलीको प्रशंसा गरे । सार्वजनिक मञ्चमा उभिएर, निज व्यक्तिकै उपस्थितिमा आलोचना गर्ने कुरा पनि आउँदैनथ्यो । उनले प्रशंसाका दुईचार शब्द-फूल ओलीमाथि छर्किदिए । अनि त के चाहियो ! उनलाई एमालेको ‘झोले’ को ट्याग लाग्यो । कलाकार निष्पक्ष बस्नुपर्नेमा सपूतले खुलेआम एउटा नेताको प्रशंसा गरेको भन्दै दर्शक/स्रोताको निशानामा उनी परे । यतिसम्म उनको खेदो खनियो कि ‘वसन्त’ बहिष्कार गर्नुपर्छ भन्नेसम्मका प्रतिक्रिया आए ।

आलोचनाले आजित बनेका सपूतले फागुन २२ मा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औँ साधारण सभामा अतिथिको रूपमा पोखरा पुगेर भने, ‘मलाई कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथिबारे धेरै बोल्न मन थियो । तर, म बोल्न होइन, गीत गाउन नै ठिक रहेछु ।’ यति भनेर उनले दुई वटा गीत गाएका थिए ।

आलोचनाले घेरिएकै बीच चैत २२ मा ‘वसन्त’ प्रदर्शनमा आयो । समीक्षात्मक रूपले मिश्रित प्रतिक्रिया पाए । तर बक्स अफिसमा चलचित्र फेल भयो । महँगो बजेटमा बनेको ‘वसन्त’ले दुई करोड १० लाख मात्रै ग्रस कलेक्सन गर्‍यो । कलेक्सनको हिसाबले निर्माताको हातमा घरेलु बक्स अफिसबाट ७५ देखि ८५ लाखको बीचमा रकम हात लाग्यो । जब कि चलचित्रमा चार करोडमाथि लगानी गरिएको थियो । सीधा भन्नुपर्दा सपूतलाई ‘वसन्त’ले निराश बनायो ।

‘वसन्त’ पछि सपूत पुनः सांगीतिक संसारमै फर्किए । पाँच दिन अगाडि मात्रै ‘नाइँ भनेसि नाइँ’ (बदला बरी लै २) सार्वजनिक भयो । तर, यो गीतको बारेमा माथि नै चर्चा गरियो ।

सपूतको पछिल्लो एक वर्षको करियरको अडिट गर्ने हो भने साँच्चिकै उनको दिनहरू खराब चलिरहेको स्वीकार्नै पर्छ । चलचित्रले भनेजस्तो व्यापार गर्न सकेन, गीतले सोचेजस्तो भ्युज प्राप्त गर्न सकेन । माया गर्ने दर्शक/स्रोताबाटै आलोचित हुनुपर्‍यो । सफल भएको ‘पूर्णबहादुरको सारङ्गी’ बाट पनि क्रेडिट पाएनन् ।

आउँदो दसैँको फूलपातीमा सपूतको ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकै दिन प्रदर्शनमा आउँदैछन् । यी चलचित्रले नै निर्धारण गर्नेछ, सपूतको अभिनय यात्रा अब कसरी अगाडि बढ्नेछ । सङ्गीत-सृजना र चलचित्र-अभिनय दुई डुङ्गामा सपूतले एकै पटक खुट्टा राखिसकेका छन् । दुई वटा डुङ्गामा खुट्टा राखेर कुनै ठेगानामा पुग्न सकिँदैन भन्ने आहान नै छ । हेरौँ, सपूतले कुन डुङ्गाबाट आफ्नो खुट्टा झिक्छन् !

Comments

3 responses to “प्रकाश सपूतका ‘खराब दिन’”

  1. Rohit Shelby Avatar
    Rohit Shelby

    यस्तै यस्तै विषय र समाचारहरुले आज आफ्ना कला र प्रतिभा हुँदा हुदै पनि

  2. कमला भुसाल Avatar
    कमला भुसाल

    ओलिको सभा भन्दा अगाडी सम्म करियर ठिक थियो । त्यस बाट ओलि ले जहाँ हात राख्यो, त्यही डुबाउछ भन्ने उदाहरण बन्न गयो ।

  3. हरिहर Avatar
    हरिहर

    जसले जे भने पनि प्रकाश सपुत नेपाली युवाका तारा हुन । यिनलाई मन पराउने अरू नै छन् । भुक्नेहरू भुकिरहून् । यस्ता पत्रकारका खोस्मेराले गरेको टिप्पणीको वास्ता नगरी बढ प्रकाश, गन्तव्य अघि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *