करिश्माकी छोरी कविता व्यवसायमा, पार्टी भेन्यूमा लगानी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर व्यवसायी बनेकी छन् । उनको समेत लगानीमा काठमाडौंमा एउटा शानदार पार्टी भेन्यू सञ्चालनमा आएको छ ।

काठमाडौंको भैंसेपार्टीमा स्थापना गरिएको ‘ट्रपिकल आइल्यान्ड रिसेप्सन एन्ड क्याफे’ को भव्य उद्घाटन गरियो । उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थिति थियो । यस्तै, करिश्मा निकट केही कलाकारहरू तथा चलचित्र पत्रकार प्रकाश सुबेदी पनि गएका थिए । सबैले पार्टी भेन्यूको तारिफ गरेर कवितालाई शुभकामना दिए ।

स्रोतका अनुसार यो पार्टी प्यालेसमा कविता र उनका दुईजना साथीहरूको लगानी रहेको छ । लगानीको कुल रकम खुलाइएको छैन ।

आमा करिश्माका अनुसार कविताको रुचि पहिल्यैदेखि आतिथ्य व्यवसायमा थियो ।

उनले भनिन्, ‘कविताले साइकोलोजी पढे पनि उसको पहिल्यैबाट हस्पिटालिटीमा रुचि रहेछ । त्यसमा हामीले पुरा साथ र सहयोग गरेका छौँ ।’

कवितालाई बुवा आमाले बुढानीलकण्ठमा एउटा घर गिफ्ट गरेका थिए । अहिले उनले सो घर बेचेर पार्टी भेन्यूमा लगानी गरेको बुझिएको छ । करिश्माको गोदावरीमै दुई वटा घर छन् ।

एउटा घर पति विनोद मानन्धरको पहिल्यै थियो भने अर्को शानदार बंगला केही समयअघि बनाएकी हुन् । यसअघि केबी स्टुडियो रहेको जग्गामा बंगला निर्माण गरिएको हो । अब पुरानो घरमा पनि करिश्मा दम्पतीले पार्टी भेन्यू जस्तो बनाउने तयारी गरेका छन् ।

करिश्माकी छोरी कविताले अमेरिकामा अध्ययन गरेपश्चात् चलचित्रमा करिअर बनाउन खोजेकी थिइन् । तर, कविताको डेब्यू फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ ले अपेक्षित सफलता नपाएपछि उनको फिल्मी करिअर अगाडि बढ्न सकेन ।

करिश्मा स्वयम्ले छोरीलाई नायिका बनाएर ‘बनबास’ नामक चलचित्र निर्माण गर्ने योजना पनि बनाएकी थिइन् । तर उनको योजना पनि अधुरो रह्यो । अहिले आएर कविताले व्यवसायतिर आफ्नो आफ्नो भाग्य आजमाउन गर्न खोजेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *