काठमाडौं । ‘झरी परेपछि हिलोले बोटामा हिँड्ने स्थिति हुँदैन । अरूको घरको भित्ता समाउँदै हिलाम्मे सडक पार गर्नुपर्ने स्थिति छ’, बुटवलकी शुभद्रा भट्टराई शङ्खमूलस्थित वडा नं ३१ को सडकको बिजोग देखेर भन्छिन्, ‘छि ! सडक ।’
यहाँ असारे बजेट खर्च गर्नैका लागि काठमाडौं महानगरपालिका-३१ ले धमाधम सडक खनेको थियो, तर त्यसको व्यवस्थापन भएन, जसले गर्दा सडकछेउका नागरिक र यही बाटो भएर आउनेलाई निकै सास्ती भएको छ ।
‘घर आउने यो बाटोको अर्को विकल्प छैन । दिनहुँ हिँड्नै पर्छ,त् हिँडेपछि सास्ती । अस्ती सानी नातिनी हिलोमा चिप्लिएर लडी । हामी बूढाबूढी पनि हिँड्न पनि त्यस्तै जोखिम छ’, शङ्खमूल डेरा गरेर बस्ने भट्टराई सुनाउँछिन् ।
कोटेश्वर, बालकुमारी करिडोर सडक भएर बानेश्वर वा बबरमहल निस्किने अधिकांश यात्रीले यहाँको दुर्दशा देखिरहेका छन् । जेठ/असार लागेपछि बाटो खन्ने र समयमै सम्पन्न नभए पनि सामान्य व्यवस्थापनसमेत नगरेको भन्दै धेरैजसो आक्रोशित छन् । दैनिक यो बाटो प्रयोग गर्नै पर्ने बाध्यतामा रहेका स्थानीय झनै आक्रोशमा छन् ।
वडाले खानेपानीका पाइप, बिजुलीको तार, ठूला ढल राख्ने भनेर बाटो भत्काए पनि सामान्य हिलोसमेत नफाली छोड्दा व्यापार व्यवसायमा पनि समस्या परेको छ । तरकारी व्यापारी माया तामाङ हिलोका कारण आवातजावत गर्न समस्या भएकाले मान्छेको चहलपहल कम भएको र यसले व्यापारीले घाटा बेहोर्नु परेको गुनासो गर्छन् ।
सकड हिलाम्मे हुँदा फोहोर उठाउन पनि त्यत्तिकै सास्ती छ । स्थानीयले फोहोर बटुलेर चोकसम्मै पुग्नु परिरहेको छ । अधिवक्ता एवं स्थानीयवासी भूपेन्द्र पोख्रेलले विकासका नाममा जनताको सामान्य हिँड्डुल गर्ने स्थितिको हेक्का नै नगरी सडक खन्नु गैरजिम्मेवारपूर्ण कार्य भएको बताए ।
सडक खन्ने पनि जनताले कसरी हिँड्डुल गर्लान् भनेर हेक्का नै नराखी काम गरेको उनको भनाइ छ ।
‘मान्छे कहाँबाट हिँड्छ त, सोच्नु पर्दैन ? विकासको नाममा भत्काएर अलपत्र छोड्ने होइन, त्यो पनि बर्खामासमा । वडाले चाँडोभन्दा चाँडो हिलोबाटोलाई व्यवस्थापन गरेर हिँड्डुल गर्न सक्ने बनाउनुपर्छ’, पोख्रेल भन्छन् ।
कोटेश्वरदेखि शङ्खमूलस्थित स्कुलमा छोरा लिएर आउने शङ्कर कार्कीले हिलो सडकका कारण निकै समस्या भएको बताए । शङ्खमूल गणेशमार्ग नजिकै रहेको उक्त सडक बालकुमारी, कोटेश्वर, तीनकुने करिडोर भएर आउनेहरू आउजाउहरूले सास्ती भोगिरहेको उनले सुनाए ।
किराना पसल व्यापारी रमेश लामिछानेले असारे विकासका नाममा धमाधम सडक खनेर त्यत्तिकै छोड्दा आफूहरूको दैनिक गुजारा गर्ने व्यवसाय नै ठप्पजस्तै भएको बताए ।
वर्षाभरि हिलोले सताउने भयो, चैत–वैशाखमा धुलोले पिरोल्ने । विकासको नाममा उल्टै नागरिकको दैनिकी नै नराम्ररी प्रभावित हुनेगरी काम गर्नु निन्दनीय छ’, उनले भने ।
यस विषयमा स्थानीय मिलेर वडा कार्यालयमा ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको लामिछानेले गुनासो गरे ।
‘खाल्टो खन्दा सडकबाट निस्किएको हिलोलाई व्यवस्थापन गरेर अलिकति समथल बनाइदिए काम चल्थ्यो, तर यहाँ जसरी भत्काइयो, त्यस्तै छ । यो जनप्रतिनिधिको लापरबाही हो’, उनले भने ।
काठमाडौं महानगरपालिका-३१ का वडाअध्यक्ष सरोज ढकाल ढल व्यवस्थापनसँगै अन्य काम पनि एकैपटक गर्ने योजनाका कारण गत आर्थिक वर्षको अन्तिममा सबै काम नसकिएपछि समस्या भएको बताउँछन् ।
‘५० वर्षअघि राखिएको छ इन्चको ढल प्रतिस्थापन गरी हाल ४२ इन्चको ठूलो ढल राखिएको छ । खानेपानीको पाइप र बिजुलीका तार एकैसाथ बिछ्याउने तयारी भएको हुँदा यस्तो भएको हो । पाइप, ढल राख्न सडक खन्नै पर्यो । हिलोमा ग्राभेल गर्न सकिँदैन । स्थानीयलाई गाह्रो भएको छ, तर अरू उपाय छैन । तीन-चार महिनापछि त पहिलेको भन्दा राम्रो सडक बनिहाल्छ नि’, उनले भने ।
-रासस

Leave a Reply