रुपन्देही । बुटवल उपमहानगरपालिकाको वडा नं ११ को कार्यालय भवन निर्माण गरेर ०७८ मै धूमधामका साथ उद्घाटन गरियो तर अहिलेसम्म त्यसमा ताल्चा लगाएरै राखियो । १६ हजारभन्दा बढी मतदाता रहेको र १ लाखभन्दा बढी जनसंख्या रहेको यो वडाको पहिले नै आफ्नै कार्यालय थियो तर त्यो साँघुरो भयो भनेर यसअघिकै मेयर शिवराज सुवेदीका पालामा नयाँ भवन निर्माण भएर उद्घाटनसमेत गरियो तर त्यसलाई सञ्चालन नै गरिएन ।
उद्घाटन भएको ४ वर्षसम्म नखोलिएको नयाँ भवनकै नजिकै शनिवार अर्को नयाँ भवन बनाउन फेरि शिलान्यास गरिएपछि स्थानीय आश्चर्यमा परेका छन् किन भवन चाहिएको हो भनेर सोधिरहेका छन् । अब यो वडाका तीन वटा आफ्नै भवन हुनेछन् तर ०७८ मा बनाएको भवन किन बनाइयो ? र किन अहिलेसम्म प्रयोगमा नै आएन ? भन्ने प्रश्नको जवाफ अहिलेसम्म स्थानीयले पाउन सकेका छैनन् । अहिले उपमहानगरका मेयर त फेरिए तर त्यो वडाको वडाध्यक्ष फेरिएका छैनन् ।
चार वर्षअघि त्यति धेरै लगानीमा बनाइएको भवन प्रयोगमा नआउँदा त्यसका झ्याल ढोका तोडफोड भएका छन् भने वरिपरिका रेलिङसमेत भाँच्चिएका छन् । वडा कार्यालयको अवस्थाबारे चिन्ता गर्दै स्थानीय माधवप्रसाद पौडेलले यसरी हचुवाको भरमा भवन निर्माण गरेर राख्ने अनि संरक्षण पनि नगर्ने भनेर प्रश्न गरेका छन् । ‘भवन किन बनाइयो र किन अलपत्र छाडियो, झ्यालका सिसाहरू फोरिएका छन्, फलामका रेलिङ तोडिएका छन्, यस्तो दुर्दशा देखेर चिन्ता लाग्यो, नागरिकले तिरेको करबाट बनेका संरचनाहरू यस्तो गरिनुभएन नि’ उनले भनेका छन् ।
वडा सदस्य नकुल शाहीले बिनायोजना त्यो बेला बनाइएको भवन प्रयोगमा नआएका कारण झ्यालहरू तोडफोड भएको र संरक्षण नभएको स्वीकार गरेका छन् । ‘दुई तलाको भवनमा झ्यालहरू फोरिएका छन्, केही फलामका रडहरू पनि टुटाइएको छ, प्रयोगमा नआएपछि स्थानीय बालबालिका पुगेर खेल्ने ठाउँ बनेको छ, अब त्यसको नजिकै अर्को भवन निर्माणमा लागि ठेक्का भएको छ’ उनले भने ।
यसअघि पनि वडाध्यक्ष रहेका रामचन्द्र क्षेत्रीले तत्कालीन समयमा बिनायोजना भवन निर्माण भएकाले त्यसको कुनै प्रयोगमा नआएको र पुरानो भएको भवन साँघुरो भएकाले अर्को भवनका लागि ठेक्का भएको स्वीकार गर्दछन् । ‘म यही वडाको वडाध्यक्ष भए पनि त्यो बेला केही सोधिएन, तत्कालीन प्रमुख कार्यकारी अधिकृत चक्रपाणि शर्माले जिरीमा यस्तै भवन बनेको भनेर डिजाइन गरेर ठेक्का भएको हो, मैले यस्तो भवन नबनाउन धेरै आग्रह गरेको हुँ मेरो केही चलेन’ उनले भने–‘डिजाइन नै वडा कार्यालयका लागि फिट भएन, कहाँ पहाडको दुर्गममा कम जनसंख्या भएका ठाउँमा डिजाइन यहाँ बनाएर चल्छ त ? त्यहाँ कुनै कोठामा बसेर सेवा दिन सक्ने अवस्था नै छैन, सानासाना कोठा छन् हाम्रो वडामा यति ठूलो जनसंख्या छ ।’ खनालका अनुसार त्यो समयमा १ करोड भवन निर्माणका लागि छुट्टाएपनि टेण्डर केही कममा भएको थियो तर सबैले निर्माण सम्पन्न भएपछि मात्रै आँखा लगाएकाले समस्या भएको हो । दुई तले यो भवन चार वर्षमा यतिकै बसेको छ ।
बुटवल ११ को वडा कार्यालयको भवन निर्माणका लागि सो क्षेत्रमा दुई बिगाह जग्गा छुट्टाइएको छ तर तत्कालीन कार्यकारी प्रमुखको सनकमा बनाइएको दुई तले भवनको कुनै प्रयोगमा आएको छैन । त्यसो त अहिले पनि यो वडाको आफ्नै भवन होराइनजनचोक नजिकै छ । कुलो छेउमा रहेको यो भवन वडाका सबैलाई केन्द्रमा पर्ने भए पनि पार्किङको समस्या रहेको स्थानीय विष्णुप्रसाद आचार्य बताउँछन् । ‘नयाँ नबेको र बन्न लागेको भवनमा त वडावासीलाई धेरै टाढा पर्छ तर जग्गा जहाँ भयो त्यही बनाउनुपर्यो, अहिले पुरानो भवनबाट सेवा दिएको छ तर सेवाग्राहीलाई पार्किङको केही समस्या भने छ, अरू खासै समस्या छैन’ उनले भने, ‘०७८ सालमा भवन बनेर उद्घाटन पनि भएको हो तर खै जाने कुरा भएन अब अर्को बन्ने कुरा आएको छ ।’
जनप्रतिनिधिका अनुसार वडा नं. ११ को थप कार्यालय भवन निर्माणका लागि दास निर्माण सेवालाई ठेकका दिइएको छ । यसको शनिवार भव्य शिलान्यास कार्यक्रम पनि भयो । नयाँ भवनका लागि १ करोड २२ लाखमा ठेक्का दिइएको हो । स्थानीय ईश्वर शाही ठकुरीका अनुसार ४ वर्षदेखि चौरमा उभिएको भवन छाडेर किन नयाँ भवन थालियो भन्ने जवाफ स्थानीयले पाएका छैनन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले नबुझेको र मेरो जिज्ञासा यसलाई अन्यथा नसोचिदिनुहोला, देवीनगर चौरमा तीन वर्षदेखि ठिङ्ग उभिएको भवन छ बाहिरको रङरोगन हेर्दा सरकारी भवनजस्तो पनि छ र धेरैको मुखबाट सुनेको यो भवन वार्ड नम्बर ११ को वार्ड कार्यालय भन्ने । आज फेरी मेयरसाबको फेसबुक पेजबाट वार्ड कार्यालयको शिलान्यास गरियो भनेर आयो । नयाँ भवन छँदाछँदै अर्को भवन बनाउनु पर्ने के समस्या आई पर्यो ? स्थानीयले त जवाफ पाएकै छैनन् नि ।’
बुटवलका मेयर खेलराज पाण्डेले यसअघिको भवन अपर्याप्त भएकाले नयाँ भवन निर्माण थालिएको बताए । पुस महिनासम्म यसको निर्माण सकिने गरी अघि बढाइने उनले जनाएका छन् । ’यति ठूलो भवन बनेर किन प्रयोग गर्न सकिएन ? यसको संरक्षण किन भएन ? भन्ने प्रश्न उठेका छन्, अब जनप्रतिनिधिमाथि उठ्ने प्रश्नबारे सबै सचेत हुनुपर्छ’ उनले भने ।

Leave a Reply