रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही- ३ मा हुने उपनिर्वाचनका लागि सर्वसम्मत उम्मेदवार खोजी गर्न प्रयास सुरु गरेको छ । उम्मेदवारीका लागि आवेदन दिएका ९ जनामध्येबाट एक साझा उम्मेदवार तय गर्न पार्टीले कसरत गरेको हो ।
रास्वपाले सबै आवेदकहरूलाई छलफलका लागि आज काठमाडौं बोलाएको छ । दिउँसो १ बजेदेखि ५ बजेसम्म केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूसँग छलफल गर्न लागिएको सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यले बताए । त्यसका लागि सबैजना काठमाडौं पुगिसकेको उनले जानकारी दिए ।
छलफलको सहजीकरण आचार्यले नै गर्नेछन् भने पार्टीका केही पदाधिकारीसहित लुम्बिनी प्रदेश सभापति देवराज पाठकको पनि उपस्थिति रहनेछ । करिब ४-५ घन्टा उम्मेदवारका आकांक्षीसहित छलफलपछि आजै पत्रकार भेटघाट गर्ने कार्यक्रम छ ।
‘केही निर्देशन दिने र केही आकांक्षीका कुराहरू सुन्ने आजको कार्यक्रमको मुख्य उद्देश्य हो,’ पाठकले नेपाल प्रेससँग भने ।
रास्वपाले प्राइमरी इलेक्सनका लागि साउन ७ गतेदेखि २१ गतेसम्म आवदेन माग गरेको थियो । उम्मेदवार हुन इच्छुकका लागि २५ हजार शुल्क तोकेको थियो । साउन २३ गते ९ जना आवेदकको सूची सार्वजनिक गरियो । बुटवलका सुलभ खरेल र मधुप्रसाद अर्याल तथा भैरहवाका पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवालले आवेदन दिएका छन् ।
राप्रपा स्रोतका अनुसार आजको छलफलमा एउटा साझा नाम तय गर्नका लागि पार्टीका तर्फबाट आग्रह गरिनेछ । तर, फलानो नै हुनुपर्ने भनेर पार्टीले दबाब नदिने स्रोतले बतायो ।
‘सकेसम्म सर्वसम्मत उम्मेदवार खडा गर्ने प्रयास हुनेछ, त्यो सम्भव नभए प्रतिस्पर्धाको विकल्प छँदैछ,’ स्रोतले भन्यो ।

Leave a Reply