काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यहीँ सपना पूरा गर्न चलचित्रको मुख्य पात्रले गर्ने संघर्षलाई देखाएको छ । ट्रेलर कोरिया जान मुख्य पात्रले गरेको संघर्ष र काठमाडौं आएपछि ठगिएको कथा वरिपरि घुमेको छ।
ट्रेलरको केन्द्रमा चलचित्रको तीन मुख्य पात्रहरू अभिनेता विजय बराल, अभिनेत्रीद्वय केकी अधिकारी र मिरुना मगर छन् । पारिवारिक कथामा बनेको यो चलचित्रले आम नेपालीको मन जित्नेमा निर्माण पक्ष ढुक्क छन् ।
चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ यहीँ भदौ ६ गते रिलिज हुँदैछ । हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत छन् ।
चलचित्रमा विजय, केकी र मिरुनासँगै सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ । पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बराल मुख्य भूमिकामा रहेको यो उनको दोस्रो चलचित्र हो ।

Leave a Reply