व्यक्तिको विरोध होइन, विधिमा जोड हो : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद तोसिमा कार्कीले केन्द्रीय समिति बैठकमा आफूले विधिको प्रश्न उठाएको तर व्यक्तिको विरोध नगरेको जनाएकी छन् । शुक्रवारको केन्द्रीय कमिटी बैठकमा रिक्त सहमहामन्त्रीमा दीपक बोहराको नाम प्रस्तावित भएपछि त्यसमा उनले असहमति राखेको विषय बाहिर आएको थियो ।

कार्कीले आज सामाजिक सञ्जालबाटै आफ्नो स्पष्टीकरण दिँदै आफूले व्यक्तिको विरोध नगरेको र पार्टीलाई विधिमा लैजानुपर्ने प्रस्ताव गरेको बताएकी छन्।

उनले आफूले व्यक्तिको विरोध नभई निर्णय प्रक्रियालाई विधिबाट टुङ्गाउन  प्रश्न उठाएको बताएकी छन्।

कार्कीका अनुसार, हिजो सम्पन्न केन्द्रीय समिति बैठकमा एजेन्डामा नभएको सहमहामन्त्री नियुक्तिको प्रस्ताव आएको थियो। उक्त प्रस्ताव विधिसम्मत नभएको भन्दै आफूले अस्वीकार गरेको उनले बताएकी छन् ।

‘रिक्त पदमा इच्छुक र योग्य महिलाबाट विधिपूर्वक नियुक्ति गर्नुपर्छ भन्ने मेरो मत हो’ कार्कीले सामाजिक सञ्जालमार्फत लेखेकी छन्। यसअघि सो पदबाट सुमना श्रेष्ठले राजीनामा दिएपछि खाली रहेको छ ।

उनले सहमहामन्त्री पदमा आफ्नो कुनै दाबी नरहेको स्पष्ट गर्दै, आफूलाई ‘पदलोलुप’ जस्तो नदेखाउन आग्रह गर्दै भनेकी छन्। ‘मैले विरोध गरेको व्यक्ति होइन, विधि हो’ उनले भनिन्। बैठकमा उठेको विवादबारे कार्कीले भनेकी छन्,‘यो एजेन्डा फिर्ता गरी थप गृहकार्यसहित ल्याउने निर्णय भएको छ। यसकारण म गर्वका साथ भन्छु—रास्वपा आन्तरिक लोकतन्त्र र विधिमा विश्वास गर्ने पार्टी हो। ’

कार्कीले अघिल्ला अधिवेशनमा पनि पार्टी पदाधिकारीहरू चुनावमार्फत चयन हुने नीतिको पक्षमा भूमिका खेलेकी थिइन्। उनले कुनै पदमा दाबी गर्नुपरे चुनावमार्फत नै आउने जनाएकी छन् । उनको असहमतिपछि शुक्रवार बोहराको नाम प्रस्ताव भएपनि कुनै निर्णय भएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *