दोलखा । दोलखाको प्रशिद्ध कालिञ्चोक भगवती दर्शनका लागि पुग्ने भक्तजनहरुका लागि शिवाकोटी समाज नेपालले दही चिउरा खुवाउने कार्यक्रम आयोजना गरेको छ । जनै पूर्णिमाको अवसरमा शनिबार यो कार्यक्रम आयोजना गरिएको हो।
कालिञ्चोक मन्दिर नजिकै रहेको पाटीमा करिब १२ सय भक्तजनलाई दही चिउरा खुवाउने कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक तथा शिवाकोटी समाजका उपाध्यक्ष रामकाजी शिवाकोटीले जानकारी दिए ।
उनका अनुसार करिब २०० वर्षअघि देखि शिवाकोटीका पुर्खाहरुले यसरी भक्तजनलाई दही चिउरा खुवाउने प्रचलन थियो। त्यसबेला खान बस्नका लागि अहिलेको जस्तो होटल थिएनन् । खानेपानी पनि थिएन ।
त्यस क्षेत्रका खर्कमा गाईवस्तु पालिने भएकाले गोरस मनग्य पाइन्थ्यो । मानिसहरुले सेवा भावले भक्तजनको सेवा गर्थे । विस्तारै गाईवस्तु पाल्न छोडियो, मानिसहरु शहर झर्न थाले । त्यसपछि यो प्रचलन हराएर गयो ।
दही चिउरा खुवाउन छोडिएको करिब चार दशकअघि अहिले फेरि यो प्रचलन सुरु गरिएको हो । पहिलेजस्तो असुविधा छैन । भक्तजनका लागि सयौं होटल खुलिसकेका छन् । कुरी बजारदेखि मन्दिरसम्म केबलकार समेत सञ्चालनमा छ ।
सेवा सुविधा पुगे पनि पुरानो परम्परा संरक्षण गर्ने उद्देश्यले दही चिउरा खुवाउने कार्यक्रम पुनस् सुरु गरिएको संयोजक शिवाकोटीले जानकारी दिए । त्यस अवसरमा भगवतीको भजन, खैँजडी भजन प्रस्तुत गरिएको थियो भने थामी जातिले आफ्नो सांस्कृतिक झाँकी देखाएका थिए।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष, दोलखाका प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता थियो ।
जनै पूर्णिमाको दिन दही चिउरा खुवाउने कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने शिवाकोटी समाज नेपालले जानकारी दिएको छ ।
विक्रम् सम्वत् २०५८ सालमा स्थापना भएको शिवाकोटी समाजले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । संस्थाका अध्यक्ष जयप्रसाद शिवाकोटी रहेका छन् ।


Leave a Reply