काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप हुनुअघि नै जिल्ला कारागार प्रशासनलाई सूचित गराएकाे पाइएकाे छ ।
सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले पाँच दिन अघि नै जिल्ला कारागारलाई पत्र पठाउँदै सूचित गराएकाे पाइएकाे हाे ।
कार्यालयले जिल्ला कारागार, कैलालीमा रहेका करिब ५९० जना कैदीबन्दीहरूको संयुक्त निवेदन दिएका थिए । कैदीहरुकाे निवेदनपछि आयाेगले कारागारलाई त्यहाँकाे अवस्थाबारे जानकारी दिँदै १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएकाे थियाे ।
आयोगमा प्राप्त निवेदनमा कैदीबन्दीहरूले कारागार प्रशासनसँगको असहज सम्बन्ध, आन्तरिक व्यवस्थापनमा पारदर्शिताको अभाव, गैरकानुनी आर्थिक लेनदेन, लागुऔषध तस्करी, बाह्य व्यक्तिहरूसँग अवैध सम्पर्क गराउने, मनमुटाव र मुठभेडको अवस्था सिर्जना गराउने प्रयास, चौकीदाररनाइकेको छनौटमा अनियमिता, र रातारात कैदी स्थानान्तरणजस्ता गम्भीर आरोपहरू उल्लेख गरेका थिए ।
आयाेगकाे पत्रलाई वेवास्ता गर्दा गएराति कारागारमा कैदीबन्दीबीच कुटाकुट भएकाे थियाे ।


Leave a Reply