काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार नियुक्त हुन नसकेका न्याय परिषद्का सचिव यमबहादुर बुढामगर उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् । बिहीबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तीका लागि सिफारिस गर्दा उनलाई पनि सिफारिस गरेको हो ।
बुढामगर मुख्य रजिष्ट्रार बिमल पौडेलसँगै २०५९ साल चैत १८ मा नेपाल न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका थिए । २०६६ चैत ५ मा बुढामगर न्याय सेवाकै उपसचिव पदमा बढुवा भएका थिए । उपसचिव बढुवा भएको ५ वर्षपछि २०७१ माघ २९ मा उनी सहसचिव बढुवा भएका थिए ।
सहसचिव बढुवा भएको करिव १० वर्षपछि २०८१ जेठ १७ मा बुढामगर सचिवमा बढुवा भएका थिए । सचिव बढुवा भएको एक वर्षपछि उनी उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् । उच्च अदालत सुर्खेत अन्तरगत जुम्ला इजलासमा उनको पदस्थापन भएको छ ।
सचिव बुढामगर उच्चको न्यायाधीश सिफारिस भएसँगै न्याय सेवाको बिशिष्ट श्रेणीमा एक जनाको दरबन्दी रिक्त भएको छ । बरिष्ठताको बरियताक्रम अनुसार अब विशेष अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलिया बिशिष्ट श्रेणीमा बढुवा हुने भएका छन् ।
वरियताक्रम अनुसार उच्च अदालत पोखराका रजिस्ट्रार खड्गराज अधिकारी सबैभन्दा बरिष्ठ सहसचिव भए पनि उच्चको न्यायाधीश सिफारिस एसँगै थपलिया बिशिष्ट श्रेणीमा बढुवा हुने देखिएका हुन् । अधिकारीको पदस्थापन उच्च अदालत दिपायलमा पदस्थापनका लागि सिफारिस भएका छन् ।
न्याय परिषद्ले सर्वोच्च अदालतका सहरजिष्ट्रार अच्युत कुइकेललाई पनि उच्च अदालतको न्यायाधीश सिफारिस गरेको छ ।
सहरजिस्ट्रार कुइँकेल सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखा प्रमुखको जिम्मेवारी सहित प्रवक्ताको जिम्मेवारीमा समेत छन् । उनी न्यायपालिका अधिकृत समाजको अध्यक्ष समेत रहेका छन् । कुइकेलको उच्च अदालत पाटनमा पदस्थापन भएको छ ।
उच्च सरकारी वकिल कार्यालयका सह न्यायाधिवक्ता शंकर खत्री र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कोमलबहादुर खत्री पनि उच्चको न्यायाधीशका लागि सिफारिस भएका छन् ।
अहिलेसम्मका मुख्य रजिष्ट्रार न्यायाधीश सिफारिस तथा नियुक्ति भए पनि तत्कालिन मुख्य रजिष्ट्रार देवेन्द्र ढकाल भने न्यायाधीश नियुक्त हुनबाट बञ्चित भएका छन् । उनी न्यायाधीश नियुक्त नभए पनि उनी भन्दा कनिष्ट सचिव तथा सहसचिवले भने उच्च अदालतको न्यायाधीशमा बाजी मारेका छन् ।

Leave a Reply