आयुषलाई आफ्नै आमाले हालिन् गाली-बेइज्जतीको मुद्दा, पुरानो कन्ट्रोभर्सी ब्युतिँदै ?

काठमाडौं । टिकटकर आयुष सिंह ठकुरी र उनको आमाबीचको पारिवारिक झमेला अदालतसम्म पुगेको छ । आयूषलाई आफ्नै आमा नानु सिंह ठकुरीले गाली-बेइज्जतीको मुद्दा हाल्दै अदालतमा तानेकी हुन् ।

आयुषसँगै उनकी श्रीमती अलिजे जमालीलाई पनि यो मुद्दामा प्रतिवादी बनाइएको छ । काठमाडौं जिल्ला अदालतमा जेठ २५ मै दायर भएको यो मुद्दाबारे आफूहरुले हिजो मात्र जानकारी पाएको आयूषले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘गाली र बेइज्जत गर्यो भनेर मुद्दा हाल्नुभएको रहेछ । कहिलेको कुरा गर्नुभएको हो मलाई नै थाहा छैन । अहिले हामीबीच केही भएको छैन, सायद पुरानै कुरा होला ।’

आफूले अदालतमा मुद्दा परेको खबर पाएपछि सबै जिम्मा आफ्नो वकिललाई दिएको आयूषले जानकारी दिए । तर, आयूषका वकिल पर्वतराज चापागाईंले पनि मुद्दा राम्ररी अध्ययन नगरेकाले अहिले केही भन्न सक्ने अवस्था नरहेको बताए । जेठमै मुद्दा दर्ता भएकाले पुरानै कुरा हुन सक्ने उनको अनुमान छ ।

केही महिना अगाडी आयुष सिंह ठकुरी र उनकी आमा नानू सिंह ठकुरीको कन्ट्रोभर्सी आएको थियो, जसले लामो समय टिकटक हल्लायो । आयुष चर्चामा आउँदै गर्दा एकाएक उनकी आमा पनि टिकटकमा छाएकी थिइन् । आमा र छोरा सँगै नबस्ने कुरा थाहा भएपछि त्यहीँबाट विवादको सुरुवात भएको थियो । यो विवादमा दुवै जनाको फ्यान र शुभचिन्तक दुई भागमा बाडिएका थिए ।

अहिले आमासँग खासै कुरा नहुने र केही काम पर्दा मात्र आमाले सम्पर्क गर्ने गरेको आयुषको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *