काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले आफू पक्षधरहरुको गुट भेला बोलाएका छन् । बत्तिसपुतलीस्थित तपस होटलमा अहिले भेला जारी रहेको छ ।
असन्तुष्ट पक्षले मोर्चाबन्दी कसेपछि लिङदेन पनि आफ्नो गुटीय कसरतमा लागेका हुन् । आजको भेलाबाट असन्तुष्ट पक्षलाई कसरी ठिक पार्ने भनेर रणनीति तय हुने एक नेताले बताए । त्यसो त भेलामा असन्तुष्ट पक्षसँग नजिक केही नेताहरुलाई पनि डाकिएको छ । भेलामा खाजाको समेत व्यवस्था रहेको एक नेताले जानकारी दिए ।
यो भेलालाई लिएर असन्तुष्ट पक्ष भने थप चिढिहेका छन् । पार्टीभित्रको विवाद मिलाउनुपर्नेमा अध्यक्ष आफै गुट भेला गरेर हिँड्नु आश्चर्यजनक रहेको असन्तुष्ट पक्षको भनाइ छ ।
महामन्त्री डा. धवलशम्शेर राणासँग निकट केन्द्रिय सदस्य रमेश कार्कीले आज अध्यक्षले भेला डाकेको सुनेको तर आफूलाई खबर नआएको बताए ।
‘सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट भेलाको विषयमा थाहा पाएँ, मलाई कुनै खबर गरिएन,’ उनले भने, ‘अध्यक्षले नै पार्टीभित्र यसरी गुटबन्दी गर्नु दुर्भाग्य पूर्ण हो ।’भेलामा मिडियाकर्मीलाई प्रवेश दिइएको छैन ।

Leave a Reply