बत्तिसपुतलीमा राप्रपाको भेला, असन्तुष्ट पक्षलाई बोलाइएन

काठमाडौं । पार्टीभित्र विवाद र अन्तरद्वन्द्व चर्किँदै गएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई मजबुत पार्न आन्तरिक कसरत सुरु गरेका छन् ।

उनले आज काठमाडौंको एक होटलमा एउटा अनौपचारिक वैठक राखेका छन्, जसमा असन्तुष्ट पक्षका नेताहरुलाई खबर गरिएको छैन ।

लिङदेनले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै महामन्त्री डा‍‍. धवलशम्शेर राणा नेतृत्वको समूहले प्रतिवाद जारी राखेपछि संस्थापन पक्षको रणनीति तय गर्न भेला बोलाइएको हो ।

संस्थापन पक्षका एक नेताका अनुसार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई भेलामा बोलाइएको छ । खुलेर डा। राणाको गुटमा लागेकाहरुलाई भने खबर गरिएको छैन ।

ती नेताले भने, ‘निर्वाचन आयोग धाउने र नेतृत्वविरुद्ध वक्तव्यबाजी गरिरहेका १०–१५ जनाबाहेक सबैलाई खबर गरिएको छ ।’
आज दिउसो ३ बजेबाट भेला सुरु हुने बताइएको छ ।

अध्यक्ष लिङदेनले संस्थापन इतर पक्षका नेताहरुलाई छानिछानि कारवाही गर्न थालेपछि राप्रपाभित्र अन्तरद्वन्द्व चर्किएको छ । इतर पक्षले सामूहिकरुपमा नै अध्यक्षविरुद्ध जेहाद छेडिरहेका छन् ।

तीन दिनअघि डा. राणाको नेतृत्वमा हात्तिसारमा असन्तुष्ट पक्षको भेला आयोजना गरिएको थियो, जसमा केही पदाधिकारीसहित ७० जना सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *