रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न अनलाइनमा आवेदन दिएका ९ जनाको सूची सार्वजनिक गरिएको छ । साउन ७ गतेदेखि २१ सम्म उम्मेदवारले आवेदन दिने म्याद तोकिएको थियो ।
रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीको निर्वाचन आयोगबाट प्राप्त नामावली सार्वजनिक गरेका हुन् ।
आचार्यका अनुसार पार्टीका केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही-३ का सभापति मधु अर्याल, प्रदेश सदस्य तथा ०७९ मा सोही क्षेत्रका उम्मेदार जेबी गुप्ता (शेखर), भैरहवाका डा. लेखजंग थापा, महिला नेतृ ज्ञानु पौडेल, बुटवल सेमलारका शुलभ खरेल, पार्टीको जिल्ला कोषाध्यक्ष रहेकी भैरहवाकै रचना क्षेत्री, भैरहवाकै महिला उद्यमी पुनम अग्रवाल र भैरहवाकै पार्थीवेन्द्र उपाध्यायले आवेदन दिएका छन् ।
यसअघि बुधबार राती प्रदेश सदस्य रहेका प्रकाश ज्ञवालीले आफूले पनि निवेदन दिएको नेपाल प्रेससँग बताएका थिए । तर, उनको निवेदन नपरेको पाइयो । आफूले निवेदन दिनेको भनेर झूटो प्रचार गरेको ज्ञवाली स्वयम्ले स्वीकारेका छन् ।
स्रोतका अनुसार उम्मेदवारीका लागि जम्मा १० जनाको आवेदन परेको थियो । उनीहरुमध्ये ९ जनाको आवेदन स्वीकार गरिएको हो । एक जनाले दिएको उम्मेदवारी रित नपुगेकाले स्वीकार भएन ।
सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यले अब उम्मेदार छनौटको विधिअनुसार अघि बढ्ने जनाए ।
‘यसका लागि साउन २३ र २४ गते उम्मेदारको दाबी विरोध, २५ गते नामावाली प्रकाशनपछि छलफल गर्ने र भदौ ११ सम्म उम्मेदारसँग विभिन्न विषयमा प्रशिक्षण गरिने छ’ उनले भने, ‘भदौ १२ र १३ मा आन्तरिक निर्वाचन गरी १५ गते उम्मेदारको घोषणा गरिने छ ।’
भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म प्रारिम्भक निर्वाचन हुने र त्यसमा रुपन्देही-३ का रास्वपा पार्टी सदस्यहरू र केन्द्रीय सदस्यहरुले मतदान गर्न पाउने आचार्यले बताए ।
प्रारम्भिक निर्वाचनबाट पाउने ५० प्रतिशत अंकभारलाई सय प्रतिशत मानेर चुनाव हुँदा रुपन्देही-३ मा रास्वपा सदस्यको मतभार ८० प्रतिशत र त्यही क्षेत्रमा रास्वपाको समितिमा रहेका सदस्यको अंकभार १० प्रतिशत हुनेछ ।
त्यस्तै केन्द्रीय सदस्यको १० प्रतिशत हुनेछ ।


Leave a Reply