मुलुकले चाहेको नेतृत्व

डा. विश्वनाथ ‘प्रेम’ को रचनामा लोकप्रिय गायक शिशिर योगीको यो गीतले सारा नेपालीको भावना अभिव्यक्त गरेको छ-

छाडेर काम सारा एक काम रोजिरहेछु, यो देशमा म एउटा मानिस खोजिरहेछु ।

भेटे कहीँ बताए हे राष्ट्रका बटोही, रक्षार्थ जन्मिएका छन् कि सपूत कोही ।।

गीतले भनेझैँ हाम्रो मुलुकले लामो समयदेखि एउटा यस्तो असल सपूतको सक्षम नेतृत्व खोजिरहेको छ जसले देश र जनताले हालसम्म भोगिरहेका तमाम संकट र समस्याबाट मुक्ति दिलाओस् । जनता सुखी र खुशी होऊन् अनि देश समृद्ध बनोस् । ती दिन र त्यस्तो नेतृत्व कहिले आउलान् रु आशा र प्रतीक्षाको घडी वर्षौँदेखि लम्बिएको लम्बियै छ ।

त्यसो त ऐतिहासिक कालदेखि नै नेपालमा थुप्रै प्रभावशाली नेतृत्व जन्मिएका छन् । उनीहरूले देशमा केही राम्रो गर्ने आँट र हिम्मत पनि गरेकै हुन् तथापि मुलुक र जनताको आकाङ्क्षाअनुरूप मुलुकले खोजेजस्तो, सोचेजस्तो र रोजेजस्तो सच्चा नेतृत्व मुलुकले विगतदेखि नै पाउन सकेन ।

प्रभावशाली नेतृत्व दिने यी व्यक्तित्वहरू

आधुनिक नेपाललाई प्रभावशाली नेतृत्व दिने व्यक्तित्वमध्ये पृथ्वीनारायण शाहको नाम अग्रपङ्तिमा आउँछ । उनले छरिएर रहेका राज्यलाई एकीकृत गरी विशाल नेपाल निर्माण गरे । नेपालको अस्तित्व अक्षुण्ण राख्न सफल भए । फलस्वरूप आज हामी साराले नेपालीका रूपमा गर्व गर्न पाएका छौँ । तथापि उनलाई महात्वाकांक्षी, साम्राज्यवादी र विस्तारवादी शासक भनेर आरोप लगाउने र उनकै शालिक फुटाउने काम पनि एकथरी अराजकले गरेकै हुन् ।

जङ्गबहादुर राणाले आम जनतामाथि दमन गरेको र जहानियाँ निरङ्कुश राणाशासन चलाएको भनिए पनि उनीहरूकै पालामा बनेका कतिपय संरचना र सिस्टमहरू आजभोलि राष्ट्रिय सम्पत्ति बनिरहेका छन् । राम्रा-नराम्रा जे-जस्ता काम गरेको पनि उनी नेपालका चर्चित र हिम्मतिला व्यक्तित्व मानिन्छन् ।

जनताको हक र अधिकार स्थापित गर्न आफ्नो बलिदानी दिएर प्रजातन्त्रको बीजारोपण गर्ने अमर सहिदहरूले आफूहरू मरेर पनि देश र जनतालाई मार्गदर्शन गरे । उनीहरू सच्चा र अमर सपुत हुन् ।

प्रजातन्त्रको घाँटी निमोठेर पञ्चायती निरंकूशता लादेको भनेर सत्तोसराप गरिएका राजा महेन्द्रका कतिपय योजना, कार्यक्रम र कार्यहरू कालान्तरमा स्मरणयोग्य हुँदैछन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा एवम् दर्शनशास्त्री वीपी कोराइलाको संघर्ष र योगदान उल्लेखनीय मानिन्छ । प्रजातान्त्रिक समाजवादका सूत्रधार कोइराला राष्ट्रियता, प्रजातन्त्र र समाजवादका त्रिवेणी मानिन्छन् । बीपी कोइराला नेपालको एक महत्त्वपूर्ण नेतृत्वकर्तामा पर्दछन् ।

वामपन्थी आन्दोलनका प्रणेता पुष्पलालले स्थापना र प्रतिपादन गरेको नेपालको कम्युनिष्ट आन्दोलन आजभोलि नेपाली राजनीतिको महत्वपूर्ण मार्ग बनेको छ । कम्युनिस्ट आन्दोलनलाई नयाँ रूप दिई जनताको बहुदलीय जनवादका प्रतिपादक मदन भण्डारी अर्का सफल मार्गदर्शक मानिन्छन् । सशस्त्र युद्धबाटै नेपालमा कम्युनिस्ट व्यवस्था स्थापना गर्न र आमूल परिवर्तन गर्न भन्दै दस वर्षसम्म ‘जनयुद्ध’ गरेका प्रचण्ड-बाबुरामबाट जनताले केही आशा राखेको भए पनि सो आशा समयान्तरमा चरम निराशामा परिणत हुँदैछ ।

गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला तुलनात्मकरूपमा सम्मानित नेतृत्व मानिए पनि उनीहरूबाट समेत विकास र समृद्धिको सपना पूर्ण हुन सकेन ।

विकास र समृद्धिका स्वप्नद्रष्टा केपी ओली

विगत केही वर्षयता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धि र विकासका तमाम सपनाहरू नागरिकलाई देखाइरहेका छन् । समकालीन राजनीतिक नेतृत्वमध्ये वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको भिजन र चिन्तन सबैभन्दा बढी गरिरहेको पाइन्छ । उनी मुलुकको विकास र समृद्धिका चिन्तक, दूरदर्शी र देशभक्त देखिन्छन् । ओलीमा देश बनाउने हुटहुटी पाइन्छ । यो चिन्तन र हुटहुटी फगत गफमा सीमित हुन्छ कि सार्थक यथार्थ बन्छ रु हेर्न भने बाँकी नै छ ।

त्यसो त केपी ओलीले २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेदेखि नै मुलुकको समृद्धि र विकासका तमाम सपनाहरू नागरिकलाई देखाइरहेका छन् । मुलुकमा रेल कुदाउने र पानीजहाज दौडाउने योजना बताइरहेका छन् । लोडसेडिङ सदाका लागि अन्त्य गर्ने संकल्पसहित घरघरमा ग्यासको पाइप पुर्याउने विकल्प सुनाइरहेका छन् ।
हावाबाट बिजुली निकाल्नेजस्ता तमाम योजना पनि भनिरहेका छन् । झट्ट सुन्दा गफझैँ लागे पनि कालान्तरमा यी कुरा नेपालका यथार्थ र आवश्यकता दुबै बन्दैछन् ।
जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गर्न केपी ओलीले भ्रमग्दुर प्रयास गरिहेका छन् । दुई-दुईपटक मिर्गौला फेरेका केपी ओली वृद्धावस्थाको जीर्ण शरीर लिएर पनि युवाशक्ति र सक्रियता देखाइरहेका छन् । आफ्नो उमेर र शारीरिक अवस्थाले त्यति साथ नदिँदा-नदिँदै पनि सुखी नेपाली समृद्ध नेपालको सङ्कल्प यात्रामा अग्रपंक्तिमा खटिएका छन् ।

केपी ओली भारतीय नाकाबन्दीको डटेर सामना गर्ने नेता हुन् । उनले चीनसँग पारवाहन सन्धि गरेर स्वाधीन नेपाल निर्माण गर्ने पहल पनि गरेका छन् । आफ्नो सीमा मिचिँदा र तमाम थिचोमिचोमा परिरहँदा समेत छिमेकीसँग चुइक्क बोल्न नसक्ने नेतृत्व भोगिरहेको यथार्थका बीच केपी ओली मिचिएको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने र त्यसलाई संसदबाटै पास गराउने हिम्मतिला नेता हुन् ।

उनी प्रधानमन्त्री हुँदा नै मुलुकमा भारतीय नाकाबन्दी थियो । सो नाकाबन्दीविरूद्ध उनले जमेर विरोध गरे अनि नेपालको आफ्नो अस्तित्व जमाउन सफल भए । शायद भारतीय नाकाबन्दीको सामना र मिचिएको भूभाग समेटर नयाँ नक्सा जारी गरी राष्ट्रभक्ति प्रदर्शन गरेकै कारण ओलीले पहिलोपटक प्रधानमन्त्री भएदेखि नै आन्तरिक र बाह्य दुबै चुनौतीको सामना गर्नुपरिरहेको छ । विकास र समृद्धिका स्वप्नद्रष्टा र एउटा देशभक्त नेतृत्वले खेप्नुपरेका चुनौती र नानाथरी लाञ्छना देशका लागि सैह्य हुन सक्दैनन् ।

ओली विकास र समृद्धिको राष्ट्रिय आकांक्षालाई मुखरित गर्दै जनतामा हमेशा आशा र उत्साह जगाइरहन्छन् । उनी नेपाल गरिबहरूको देश नभएको तर्क गरिरहन्छन् । नेपाल सधैँ गरिब र पिछडिएको हुनुहुँदैन भनिरहन्छन् । उनले देश र नागरिकका मूच्र्छित सपनालाई निरन्तर उजागर गरिरहे । उनीसँग समृद्ध नेपालको स्पष्ट खाका पाइन्छ ।उनमा न त पारिवारिक लोभ र छुद्र महात्वाकांक्षा देखिन्छ न त सन्तानका लागि सम्पत्ति थुपार्ने तीब्र लालसा नै । बरु आफू र आफ्नी श्रीमतीको नाममा रहेको सारा सम्पत्ति पनि राज्यको नाममा सुम्पेर उदाहरणीय र अनुकरणीय त्यागको नमुना देखाएका छन् ।

तर बिडम्बना, जति राम्रो गरे पनि वा जति राम्रो बोले पनि त्यसलाई फगत नकारात्मक ढंगले व्याख्या गर्ने र समाजमा निराशा फैलाउने काम गरिरहनेहरूलाई यस्ता विकास र समृद्धिका विषय मन परिरहेको छैन । गरेका राम्रा काम केही नदेख्ने, सबै कुरा खराबमात्र देख्ने, जे भने पनि मजाक उडाएर खेदो खन्ने काम गरिरहेकाले मुलुक समृद्ध बनेको र जनता खुशी भएको देख्नै चाहन्नन् ।

मुलुकका मुख्य राजनीतिक पार्टी र प्रमुख नेतृत्वप्रति वितृष्णा जगाउने काम कुनै न कुनै कोणबाट उनीहरू सधैँजसो गरिरहेका छन् । यो अत्यन्त चिन्ताको विषय हो । असल नेतृत्वको सदैव खेदो खन्ने ,अराजकता र असन्तुष्टि सिर्जना गरेर देश र जनतालाई भ्रममा पार्ने अनि आफ्नो स्वार्थ सिद्ध गरेर अस्थिरता सिर्जना गरिरहने यस्ता तमाम हर्कत देश र जनताविरोधी हर्कत हुन् । यस्ता हर्कत र तत्वदेखि सावधान हुनु नै अहिलेको अपरिहार्य आवश्यकता हो ।

देश बन्दैछ, निराशा हट्दैछ

यतिखेर मुलुकको सरकारको नेतृत्व केपी शर्मा ओलीले गरिरहेका छन् । यतिखेर नै विगतदेखि डामाडोल बनेको मुलुकको अर्थतन्त्रका सूचकहरू क्रमशः सुधार हुन थालेका छन् । प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले नेपाललाई यथाशीघ्र ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता पटकपटक व्यक्त गरेका छन् । नेपाल अति कम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन थालेको छ । यो अत्यन्त खुशीको विषय हो ।

देशको निर्यातमा ७७.७७ प्रतिशतले वृद्धि भएको तथ्यांक बाहिर आएको छ । राष्ट्रिय उत्पादनमा क्रमशः वृद्धि हुँदै गएको प्रतिवेदन सार्वजनिक भएको छ । दैलेखमा खरबौँको मिथेन ग्यासको उत्खनन् शुरू भएको छ । नवलपरासीको धौवादी क्षेत्रमा करिब ९९ मिलियन टन फलाम उत्खनन शुरू भएको छ । ग्वार्कोमा अन्तर्राष्ट्रिय स्तरको फ्लाइओभर निर्माण सम्पन्न भएको छ । नारायणघाट-बुटवल सडक स्तरोन्नति तीब्र गतिमा भइरहेको छ ।

मध्य-पहाडी लोकमार्ग सञ्चालन पहाडी क्षेत्रको विकासमा कोशेढुंगा बनेको छ । बुटवल- गोरूसिङ्गे सडक तीव्र गतिमा स्तरोन्नति भइरेको छ । मदन भण्डारी मार्गको तीव्र स्तरोन्नतिले समृद्धिलाई निम्ता दिइरहेका छन् । प्रत्येक पालिकामा साधनस्रोत सम्पन्न अस्पताल र विद्यालय भवनहरू बनिरहेका छन् । सबै जिल्लाका सदरमुकाम र पालिकामा सडक सञ्जाल विस्तार भइरहेको छ । घरघरमा बिजुली, खानेपानी र इन्टरनेटको पहुँच पुग्दै छ । तर पनि यी तमाम सकारात्मक परिवर्तन र विकासका तीब्र गतिलाई समेत नकारात्मक नजरले हेर्ने र विरोध गर्नेहरुको मुलुकमा कमी छैन । आश्चर्य र विडम्बना नै यही हो ।

मुलुक आफैँ समृद्ध बन्दैन । मुलुकलाई समृद्ध बनाउनुपर्छ । मुलुकलाई समृद्ध बनाउन सही दृष्टिकोण, सार्थक योजना र दह्रो अठोट आवश्यक हुन्छ । दृष्टिकोण, योजना र अठोट व्यक्तिले नै दिने हो । आजको सन्दर्भमा त्यस्तो योजना, अठोट र दृष्टिकोण दिने काम केपी ओलीले गरिरहेका छन् । यो अत्यन्तै महत्वपूर्ण र प्रशंसनीय पक्ष हो ।

अन्त्यमा, समकालीन नेपाली राजनीतिक नेतामध्ये केपी ओली नै सबैभन्दा बढी ‘भिजनरी’ देखिएका छन् । ओलीभित्र देश र जनताका लागि केही गर्ने हुटहुटी र सङ्कल्प भेटिन्छ । स्पष्ट अडान र दह्रो अठोट पाइन्छ । नेपालको विकास र समृद्धिको यात्रामा केपी आलीले महाथिर, लि कुआन यू, इतो हिरोबुमी मेइजीजस्ता महान् नेताको झझल्को दिएका छन् ।

केपी ओली नै यतिबेला मुलुकले चाहेको, खोजेको र रोजेको नेतृत्व बन्ने देखिन्छ । यो तथ्य र वास्तविकताबारे तुलनात्मक अध्ययन र विश्लेषण हुनु जरुरी छ । ओलीको त्यो सङ्कल्प, हुटहुटी, भिजन र अठोटलाई सही र सार्थक ढंगले उपयोग गर्न सके देशको विकास र समृद्धि टाढा देखिँदैन । सत्य र तथ्यका आधारमा विश्लेषण र बहस गरौँ ।

(ज्ञवाली नेपाल बौद्धिक परिषदका केन्द्रीय सदस्य हुन्)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *