नेपालकै नमूना सामुदायिक क्याम्पसको रूपमा परिचित लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट तेस्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको छ । लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल नेपालको उच्च शिक्षाको इतिहासमा तेस्रो चरणको गुणस्तर सुनिश्चितता तथा प्रत्यायान प्राप्त गर्ने पहिलो उच्च शिक्षालय भएको छ ।
व्यवस्थापन संकाय अन्तर्गतका शैक्षिक कार्यक्रम मात्र पठनपाठन गराउने यस क्याम्पसले नेपालको विश्वविद्यालय शिक्षामा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ । यो क्याम्पस सामुदायिक क्याम्पसहरूमध्ये देशकै उत्कृष्ट क्याम्पस हो ।
वि.सं. २०३८ सालमा स्थापित यस क्याम्पसको तेस्रो चरणको क्यूएए प्रदान गर्नका लागि अन्तिम चरणको मुल्यांकन गर्न विदेशी विज्ञ सहितको पूर्ण परीक्षण भ्रमण टोली मिति २०८१ पौष २२ गतेदेखि २६ गतेसम्म १२० सूचकभित्र रहेर सरोकारवालाहरूसङ्ग छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको थियो ।
विश्वविद्यालय अनुदान आयोग नेपालको टोलीले क्याम्पसमा अध्ययनरत विद्यार्थी, कार्यरत कर्मचारी, प्राध्यापनरत प्राध्यापक, अभिभावक, क्याम्पस सञ्चालक समिति, स्ववियु, भूपू विद्यार्थी, विभिन्न कार्यक्रमका डाइरेक्टर तथा इन्चार्ज, विभिन्न समूहका संयोजक, विभागीय प्रमुख, रोजगारदाता, स्थानीय समाजसेवी लगायत सरोकारवाला पक्षहरूसङ्ग छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरी आफ्नो प्रतिवेदन विश्वविद्यालय अनुदान आयोग नेपालको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदमा बुझाएको थियो ।
विश्वविद्यालय अनुदान आयोगबाट पहिलोपटक वि.सं. २०६८ सालमा क्यूएए प्रमाणपत्र प्राप्त गरेको क्याम्पसले वि.सं. २०७५ सालमा पुनः दोश्रोपटक क्यूएए प्रमाणपत्र प्राप्त गरेको थियो । वि.सं. २०७५ र वि.सं. २०८० सालमा सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा नेपाल सरकारबाट पुरस्कृत भई वि.सं. २०७६ सालमा लुम्बिनी प्रदेश, प्रदेश प्रज्ञा पदक द्वितीयबाट विभूषित समेत भएको थियो । क्याम्पस पटकपटक विश्वविद्यालय प्रथम, दोस्रो, तेस्रो भएको छ ।
के हो गुणस्तर सुनिश्चितता तथा प्रत्यायान ?
नेपालमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन QAA प्रणाली सन् २००७ मा दोस्रो उच्च शिक्षा परियोजनाको एक प्रमुख घटकको रूपमा पहिलो पटक सुरू गरिएको थियो । ७ वर्ष (सन् २००७-२०१४) अवधिको यो परियोजना विश्वविद्यालय अनुदान आयोगले कार्यान्वयन गरिसकेको छ । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणालीलाई दिशा निर्देश गर्न नेपालले विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको अध्यक्षतामा विज्ञहरू, व्यावसायिक परिषद्हरू, उद्योगपतिहरू र विद्यार्थीहरूलाई प्रतिनिधित्व गर्दै २१ सदस्यीय गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् गठन गरेको थियो ।
नेपालको उच्च शिक्षा क्षेत्रमा QAA प्रणालीलाई व्यवहारमा ल्याउन, नौ सम्भावित उच्च शैक्षिक संस्थाहरू छनोट गरि तिनीहरूलाई प्रत्यायनको आवश्यकता पूरा गर्न प्राविधिक तथा आर्थिक सहयोग प्रदान गरियो । सुरूदेखि नै QAA प्रक्रियामा उच्च शैक्षिक संस्थाहरूको क्षमता बढाउन मद्दत गर्न निर्माणात्मक मूल्याङ्कन प्रक्रिया अपनाइएको छ ।

विश्वविद्यालय अनुदान आयोग, नेपालमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, सहजीकरण, प्रवद्र्धन र सहयोग गर्नका लागि विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० अन्तर्गत स्थापित एक स्वायत्त र वैधानिक संस्था हो । यसको मुख्य उद्देश्य राष्ट्रिय आवश्यकताअनुसार शिक्षित जनशक्ति उत्पादन गर्न शैक्षिक संस्थाहरूलाई सक्षम बनाउनु र नेपाली शैक्षिक जगतलाई विश्वस्तरीय बनाउनु हो ।
सन् १९९० को दशकको प्रारम्भमा भएको राजनीतिक परिवर्तनको फलस्वरूप, राष्ट्रको चौतर्फी विकासका लागि उच्च शिक्षामा क्रान्तिकारी र गुणात्मक परिवर्तनको जनताको आकांक्षालाई सम्बोधन गर्न आयोगको स्थापना भएको थियो । यस स्वायत्त तथा वैधानिक संस्थाको स्थापनाले देशमा ऐतिहासिक रूपमा उच्च शिक्षामा देखिएका समस्याहरूलाई समाधान गर्ने लक्ष्य पनि राखेको छ ।
गुणस्तरीय उच्च शिक्षा विशेषाधिकार प्राप्तहरूको सहज पहुँचमा मात्र सीमित छैन । बरु, यो भू-वातावरणीय, प्राविधिक-आर्थिक, सामाजिक-राजनीतिक, र मनो-संज्ञानात्मक मुद्दाहरूलाई सम्बोधन गर्न र संसारलाई बस्नका लागि अझ राम्रो ठाउँ बनाउन विश्वव्यापीरूपमा सक्षम मानवसंसाधन उत्पादन गर्ने एक सीमारहित प्रक्रिया हो ।
नेपालमा QAA प्रणाली स्थापना भएको १६ वर्ष पूरा भइसकेको छ र यसको परिपक्वताको गति बिस्तारै बढ्दै गएको छ । आज, एकातिर, यो ‘शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन नियमावली- २०७४’ अन्तर्गत विश्वविद्यालय अनुदान आयोगको नियमित प्रणालीको रूपमा मान्यता प्राप्त छ भने, अर्कोतिर, यसले नेपालका उच्च शैक्षिक संस्थाहरू माझ व्यापक पहुँच, र स्वीकार्यता पाएको छ ।
गुणस्तर सुनिश्चितता तथा प्रत्यायान तेस्रो चरणको क्याम्पसको यात्रा
विश्वविद्यालय अनुदान आयोगबाट खटिएर आएको पीअर रिभ्यू टीमले पाँच दिनसम्म क्याम्पसको भौतिक रूपमा उपस्थित भइ सुक्ष्म अवलोकन र मूल्यांकन गरेको थियो । प्रा.डा. गोविन्द आचार्यको संयोजकत्वको उक्त टीममा अन्तर्राष्ट्रिय विज्ञ सदस्यको रूपमा प्रा.डा. अविनाशचन्द्र पाण्डे, सदस्यहरूमा प्रा.डा. नन्दिता शर्मा र नारायण भण्डारी संलग्न थिए ।
शिक्षामा विकेन्द्रिकरणको अभ्यासको रूपमा स्वायत्त शैक्षिक कार्यक्रमको सफल सञ्चालन
त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता अन्तर्गत पाँचवटा स्वायत्त कार्यक्रमहरू सञ्चालन गरेर विश्वविद्यालयको जग तयार पार्ने काम गरिरहेको छ । स्वायत्त कार्यक्रम पूर्ण विश्वासका साथ र सफलतापूर्वक संचालन गर्न लुम्बिनी बाणिज्य क्याम्पस हरेक हिसाबले सक्षम भैसकेको छ । स्वायत्तताको अभ्यास वास्तवमा शिक्षामा विकेन्द्रीकरणको अभ्यास हो ।
अन्तर्राष्ट्रिय स्तरको भिन्नै गुणस्तरिय शिक्षा प्रदान गर्ने साधन हो । नेपालको सन्दर्भमा भने यो नौलो अभ्यास हो । विश्वविद्यालय शिक्षा प्रणालिमा आवद्ध क्याम्पसहरूलाई स्वायत्तता दिने नीति त्रिविले वि.स. २०६२ मा पारित गरेको छ । जसको अन्तरनिहित चाहना नेपालको गुणस्तरिय शिक्षामा सुधार ल्याउनु रहेको छ । उक्त नीतिले स्वायत्त क्याम्पसलाई मानव शंसाधनलाई सम्पत्तिको रूपमा व्यवस्था गर्ने, श्रोत जुटाउने, विद्यार्थी भर्ना लिने जस्ता अधिकार प्रदान गरेको छ । यसो हुँदा क्याम्पसहरू अझ सिर्जनशिल र सांगठनिक रूपमा चुस्त दुरुस्त हुन प्रेरित हुन्छन् भन्ने मानिएको छ । श्रोत साधनको अधिकतम प्रयोग/सदुपयोग हुन्छ ।
स्वायत्तताले नयाँ नयाँ प्रविधीहरूको विकास र प्रयोग गरी ज्ञान विज्ञानको क्षेत्रलाई अझ बढी व्यापक र व्यवहारिक बनाउन सहयोग गर्छ । जीवनपर्यन्त शिक्षाको मूलभूत उद्देश्यको परिधिभित्र रहेर जीवनोपयोगी विषयहरूमा तालिम, पुनर्ताजगी कार्यक्रम संचालन गर्न सक्छन् । प्राज्ञिकरूपमा सक्षम बन्न चाहने विद्यार्थीहरूले अधिकतम भर्नाको अवसर पाउछन् ।
क्याम्पस व्यवस्थापन सम्बन्धी निर्णय प्रक्रियामा सरोकारवालाको अत्यधिक प्रतिनिधित्व हुने व्यवस्था गरेको छ स्वायत्तता सम्बन्धी नियमले । विश्वविद्यालयको अस्तव्यस्त शैक्षिक कार्यतालिका, समयमा परीक्षा नहुने । नतिजा ढिलो गरी प्रकाशन हुने । प्रश्नपत्र र परीक्षा प्रणालीबारे बेलाबेलामा प्रश्न उठ्ने गरेको सन्दर्भमा यसरी आफ्नो मातहतमा संचालित क्याम्पसहरूले स्वायत्त ढंगले शैक्षिक क्रियाकलाप गर्न पाउँदा पठनपाठन र परीक्षा प्रणाली पनि चुस्तदुरुस्त हुन्छ । समयमा पठनपाठन संचालन हुने र निर्धारित समयमा परीक्षा भइ नतिजा निस्किदा विद्यार्थीहरूको समय (वर्ष) खेर जाँदैन । अध्ययनपश्चात उनीहरू तुरुन्तै आ-आफ्नो रोजाइका पेशा र क्षेत्रमा प्रवेश गर्न पाउँछन् ।

लुम्बिनी प्रदेशका आम विद्यार्थी र अभिभावकहरूका लागि आफ्नै प्रदेश, जिल्ला र बुटवल केन्द्रबाट नै अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय तहको शिक्षा प्राप्त गर्नका लागि उत्तम गन्तब्य हो लुम्बिनी बाणिज्य क्याम्पस । क्याम्पसले मौलिक स्वाद बोकेका समकालीन व्यवस्थापन शिक्षाका कार्यक्रम अघि सारेको छ ।
बीबीएस र बीबीए जस्ता कार्यक्रम मात्र प्रचलनमा रहेकोमा वाणिज्य क्याम्पसले स्थानीय स्तरमा बिएमएस, बीबीएम- अप्लाइड, एमबीएस-बी एफ, एमबीएस–फाइनान्स जस्ता सेमेष्टर प्रणाली अन्तर्गतका अन्तर्राष्ट्रिय स्तरका नविन र सिर्जनात्मक पाठ्यक्रममा आधारित कोर्षहरू अध्यापन गरिरहेको छ । डिग्रीको मान्यता विश्वविद्यालयले नै प्रमाणित गर्ने हुँदा यी शैक्षिक डिग्रीको मान्यता विश्वव्यापी हुन्छ ।
उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूको चिन्ता र अभिभावकहरूको सरोकारलाई स्वायत्त कार्यक्रमले सम्बोधन गर्नेछ । देशको शिक्षा प्रणालीमाथि उठिरहेको प्रश्न केही हदसम्म न्यूनिकरण हुनेछ । यतिबेला नेपालमा २०औं वर्ष पहिले डिजाईन गरिएका पाठ्यक्रम हजुरबादेखि नाति पुस्तासम्म आइपुग्दा समेत हुबहु पढाइ भैरहेका छन् ।
यस्तो परिप्रेक्षमा अब पाठ्यक्रमहरू, शैक्षिक कार्यक्रमहरू समयानुकुल परिमार्जित गर्दै विद्यार्थी, बजार र समाजको आवश्यकता अनुसारको शैक्षिक डिग्री प्रदान गर्न लुम्बिनी बाणिज्य क्याम्पस सक्षम हुनेछ । मध्यम वर्गीय र न्यून मध्यम वर्गीय अभिभावकहरूको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दै सामुदायिक क्याम्पसको रूपमा निर्माण भएको आफ्नो साख र लोकप्रियता त्रिभुवन विश्वविद्यालयका नियमित कार्यक्रमहरू मार्फत् कायम राख्दै विद्यार्थीहरूलाई सर्वसुलभ व्यवसायिक/व्यवस्थापन शिक्षा प्रदान गरिरहेको लुम्बिनी बाणिज्य क्याम्पसले तेस्रो चक्रको गुणस्तर सुनिश्चितता पाउनु समग्र लुम्बिनी प्रदेशाबासिका लागि गौरवको कुरा हो ।

Leave a Reply