छाउ गोठ हैन, मनको गोठ भत्काऔं

कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका-१, निगालीकी २८ वर्षीया कमला आउजीको जीवन एउटा दुखद घटनाले टुङ्गियो । २९ असार २०८२ मा छाउगोठमा सुतेकी उनलाई सर्पले डस्यो र उनको मृत्यु भयो । यस्तै, अछाम जिल्लाको साँफेबगर नगरपालिका–३, सिद्धेश्वर डिक्रेनीकी २१ वर्षिया पार्वती बुढा रावतको पनि मंसिर १६, २०७६ मा छाउगोठमै एक्लै सुत्दा मृत्यु भएको थियो । बिहान उनी मृत अवस्थामा फेला परेकी थिइन ।

यी घटनाले सुदूरपश्चिमको छाउपडी प्रथालाई फेरि चर्चामा ल्याए । सञ्चारमाध्यममा ठूलो चर्चाको विषय बन्यो । सरकार तथा विभिन्न गैरसरकारी संस्थाहरूले छाउगोठ भत्काउने अभियान पनि चलाए । कैयौँ छाउगोठहरू भत्काइए । तर, प्रश्न उठ्छ- के भौतिक गोठ भत्काएर मात्र यो समस्या समाधान होला त ? भौतिक संरचना भत्काउनु त सजिलो छ, तर सदियौँ देखि मनमा जरा गाडेको अन्धविश्वासको गोठ कसले भत्काउने ?

माथि उल्लेखित घटनाहरू प्रतिनिधिमात्रै हुन् । यस्ता कैयौं महिलाहरू छाउपडी प्रथाको शिकार भएका छन् र हुने क्रम पनि रोकिएको छैन । त्यही समाजिक चिन्तन, त्यही परिवारीक सोच र हरेक महिना दोहोरिने त्यही रजस्वलाको चक्रले महिलाहरूलाई शारीरिक र मानसिक पीडा दिइरहन्छ । अझ गोठ भत्काएपछि महिलाहरूले भोग्नुपरेको समस्या र सामाजिक दबाबको कथा कसले देख्ने ? सुदूरपश्चिम र कर्णालीमा गहिरोसँग जरो गाडेको यो कुप्रथा मनको गोठ नभत्काएसम्म कसरी अन्त्य होला ?

मनको गोठः जहाँ अन्धविश्वास र डरले गर्छ शासन

महिनावारी हुँदा महिलालाई अलग राख्ने र घरायसी कामकाज वा पूजापाठबाट टाढा राख्ने चलन देशभरि नै छ । फरक बार्ने मात्र को हो, कतै धेरै त कतै कम । तर जब “छाउपडी” शब्द आउँछ, यो सुन्नासाथ सुदूरपश्चिम र कर्णालीको चित्र आँखामा आउँछ । सुदूरपश्चिम र कर्णालीका बस्तीहरूमा छाउपडी भौतिक गोठमात्र होइन, एउटा मानसिक संरचना हो, जुन पिँढीको चेतनामा जरा गाडेर बसेको छ । त्यहाँ छाउपडीको मुख्य जग भनेको मनोवैज्ञानिक डर हो ।

“रजस्वला भएकी महिलालाई घरमा राखे भगवान रिसाउँछन्, अनिष्ट हुन्छ,” भन्ने डरले महिलाहरूलाई छाउगोठमा बस्न बाध्य पारिन्छ । यी विश्वासलाई उचाल्ने काम धार्मिक अगुवा, पुरोहित वा धामीझाँक्रीले गर्ने गरेका छन् । “फलानोले छाउ नमानेर यस्तो भयो, ढिस्कानोको त पूरा वंश नै सिद्धियो,” जस्ता कुराले घरपिरवारका सदस्यहरूको मनोविज्ञानमा डरको बीउ रोपिन्छ । प्रत्येक महिनाको ५-७ दिन यही डर, संकोच र सामाजिक अपमानको त्रिकोणमा महिला हराउँदै जान्छन् ।

यो प्राकृतिक प्रक्रियालाई मर्यादित र सुरक्षित बनाउन सकियो भने मात्र हाम्रो समाज आधुनिक र सभ्य बन्नेछ । आधुनिक जीवनशैली भनेको स्मार्टफोन चलाउनु मात्र होइन । सोच र व्यवहारमा पनि समान रूपले संवेदनशील र प्रगतिशील हुनु हो ।

हामी कतिपय अवस्थामा विज्ञानलाई होइन, अन्धविश्वासलाई पछ्याउँछौं । यसलाई बुझ्न एउटा अनुभव स्मरण गर्छु । करिब आठ वर्षअघि म एकजना साथीसँग सिन्धुपाल्चोक जिल्लामा अनुसन्धानका लागी गएको थिए । हामीले गाउँमै एउटा घरमा खाना खायौँ । खाना असाध्यै मीठो थियो । साथीले खुलेर तारिफ पनि गर्‍यो । तर, जब खानाको अन्तिम गाँसमा दुईवटा झिँगा भातमा मुछेको देखियो उसको अवस्था एकाएक परिवर्तन भयो ।

अघिसम्म मीठो मानिरहेको उसलाई वाकवाकी लाग्यो र पछि वान्ता पनि गर्‍यो । केही समयपछि पखाला समेत चल्यो । कारण केही थिएन, केबल ती दुई झिँगा र उनको मनोविज्ञान । सोही कारण उत्पन्न भएको बेचैनीमात्र थियो ।

सुदुरपश्चिमका भेगका मानिसको यस्तै मनोविज्ञान रजस्वलासँग पनि जोडिएको पाइन्छ । जबसम्म महिला महिनावारी भएको कुरा थाहा हुँदैन, तबसम्म कुनै समस्या हुँदैन । तर, छाउ भएकी महिलाले बनाएको खाना खाएको वा उनलाई छोइएको रहेछ भन्ने कुरा थाहा हुन गयो भने मानिसहरूलाई असहज हुने, बान्ता हुने, वा देउता रिसाए भन्ने डरले धामी-झाँक्रीकहाँ पुग्छन् । सुनपानी छर्केर, नुहाइ-धुवाइ गरेर “शुद्ध” हुने चलन छ ।

कसै-कसैलाई त यो मनोवैज्ञानिक त्रास यति गहिरो हुन्छ कि उनीहरूले देउता आएर कापेजस्तो व्यवहार पनि गर्छन् । यो सबै मनको डर र अन्धविश्वासको खेल हो । यसले देखाउँछ समस्या भौतिक गोठमा होइन, हाम्रो मनको गोठभित्र छ ।

हुने भए त त्यही व्यक्ति घरबाट बाहिर निस्कँदा, होटेलमा खाँदा र अपरिचित महिलाहरूसँग भेट्दा हुनुपर्ने हो । बाहिरका महिलाहरू कहिल्यै महिनावारी हुँदैनन् र ? खाली घरभित्रै यो कुरा बढी लागू गरिएको देखिन्छ ।

महिला नै महिलाका विरोधी

छाउगोठमा सुत्दा महिलाहरूले शारीरिक र मानसिकरूपमा कति कष्ट भोग्छन् भन्ने कुरा उनीहरूलाई राम्ररी थाहा छ । यो कुप्रथा रोक्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि अधिकांश महिला आफैँ यसको विरुद्धमा बोल्दैनन् । झन् दुःखको कुरा त के छ भने महिलाहरू आफैँ आफ्ना छोरी र बुहारीलाई पनि यो कुप्रथा सिकाउँछन् र मान्न बाध्य पार्छन् । उनीहरूलाई पनि यही आगोको भुमरीमा धकेल्छन् । यही मनको गोठको कारणले नै छोरीलाई “अब त तिमी पनि रजस्वला भयौ, यो चलन मान्नै पर्छ” भनेर बताउँछन् । यसरी नारीमाथिको हिंसामा नारीकै मौन स्वीकृति दुःखद छ ।

धर्म र विज्ञान

सनातन धर्ममा महिनावारीलाई रजस्वला वा मासिक धर्म भनिन्छ । छाउपडी प्रथालाई धार्मिक परम्परासँग जोडेर हेरिन्छ, तर यो कुनै धार्मिक ग्रन्थमा आधारित छैन । हिन्दू धर्ममा महिनावारीलाई प्राकृतिक र पवित्र प्रक्रियाको रूपमा लिइन्छ, जसले महिलालाई सन्तान जन्माउन सक्षम बनाउँछ । मनुस्मृतिमा रजस्वलाको समयमा महिलालाई धार्मिक कार्यबाट टाढा राख्ने उल्लेख छ, तर यो विश्राम र शारीरिक शुद्धताको लागि हो, न कि अछूत ठान्न ।

आयुर्वेदले त महिनावारीलाई शरीरको शुद्धीकरण प्रक्रिया मानेको छ । तर, समयसँगै शुद्धताको सोच अपवित्रताको सोचमा बदलियो । विश्रामको सुझाव वर्जितको नियममा बदलियो । धर्मको नाममा कुरीति, पूजाको नाममा पीडा, अपवित्रताको डरमा अपमान जन्मियो । सामाजिक अन्धविश्वास र पितृसत्तात्मक सोचले यसलाई अमानवीय बनायो ।

महिनावारी कुनै पाप होइन, यो त सृष्टिको अनुपम वरदान हो । वैज्ञानिक रूपमा हेर्दा, यो एक प्राकृतिक मासिक चक्र हो, जुन हर्मोन (एस्ट्रोजेन र प्रोजेस्टेरोन) को उतार-चढावले नियन्त्रित हुन्छ । यो चक्रले गर्भधारणको लागि पाठेघरलाई तयार गर्छ । हरेक महिना डिम्बाशयमा एउटा अण्डा परिपक्व हुन्छ र पाठेघरको भित्री तह (एन्डोमेट्रियम) बाक्लो बन्दै जान्छ । यदि त्यो अण्डा शुक्रकीटसँग मिलेर गर्भधारण भएन भने, हर्मोनको मात्रा घट्छ र पाठेघरको बाक्लो भित्री तह रगत तथा तन्तुहरूसहित शरीरबाट बाहिर निस्कन्छ । यो प्रक्रिया ३ देखि ७ दिनसम्म चल्छ र हरेक महिना दोहोरिन्छ । यो कुनै दोष होइन, आमा बन्न सक्ने क्षमताको संकेत हो । यही प्रक्रियाबाट जीवन सम्भव हुन्छ ।

कानूनले के भन्छ ?

नेपालको संविधानको धारा ३८ (३) ले महिलामाथि कुनै पनि कारणले भेदभाव गर्न नहुने व्यवस्था गरेको छ । मुलुकी अपराध संहिताको दफा १६८ मा छाउपडीमा राख्नेलाई तीन महिनासम्म कैद वा तीन हजार जरिवाना र क्षतिपूर्तिको व्यवस्था छ । सर्वोच्च अदालतले २०६२ मा छाउपडी प्रथालाई गैरकानूनी घोषणा गर्‍यो । छाउपडी उन्मूलन निर्देशिका २०६४ आयो ।

तर, २०८२ सम्म आइपुग्दा यो कुप्रथा पूर्ण रूपमा हट्न सकेको छैन । यसको मुख्य कारण हो, गहिरो रूपमा जरा गाडेको अन्धविश्वासको मनको गोठ । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा धामीझाँक्री र देउतामाथिको अन्धविश्वासले यो प्रथालाई झनै बलियो बनाएको छ । जबसम्म हामी मनको गोठ भत्काउन सक्दैनौँ, तबसम्म भौतिक छाउगोठ भत्काउनुको कुनै अर्थ छैन ।

अबको बाटोः मनको गोठ भत्काऔँ

महिनावारी प्राकृतिक, जैविक चक्र हो । ११-१५ वर्षको उमेरमा सुरू हुने यो प्रक्रिया महिलालाई आमा बन्न सक्षम बनाउँछ । यो चक्रबिना मानवीय अस्तित्व सम्भव छैन । यस प्राकृतिक वरदानलाई अपमान होइन सम्मान गर्नुपर्छ । महिलालाई यो समय असुरक्षित गोठमा धकेल्ने भन्दापनि सँगै बस्ने, पोषणयुक्त खाना खुवाउने, विश्राम दिने समयको रूपमा लिनु पर्छ ।

यसलाई घृणा र अपमानको विषय बनाइनु धार्मिकरूपमा पाप र कानुनी रूपमा अपराध हो । महिनावारी नभएको भए, हामी तपाईं हामी यो संसारमा हुने थिएनौं । त्यसैले, छाउपडी प्रथा जस्तो कुप्रथा अन्त्यको सुरूवात भौतिक गोठबाट होइन, मानसिक गोठबाट हुनुपर्छ । त्यो पनि आफैवाट । जबसम्म हामी आफूबाट परिवर्तन सुरू गर्दैनौँ, तबसम्म न भौतिक छाउगोठ भत्काएर केही हुन्छ, न कानुनले मात्रै सबै समस्या समाधान गर्छ ।

आफूभित्रको सोच नबदल्ने हो भने, समाज बदलिने वाला छैन । जब एक व्यक्तिले महिनावारीप्रति सकारात्मक दृष्टिकोण अपनाउँछ भने त्यसको प्रभाव परिवार र समाजमा पर्छ । “म गर्छु” भन्ने आत्मस्वीकृतिले मात्रै “हामी गर्छौं” बन्न सक्छ ।

“रजस्वला भएकी महिलालाई घरमा राखे भगवान रिसाउँछन्, अनिष्ट हुन्छ,” भन्ने डरले महिलाहरूलाई छाउगोठमा बस्न बाध्य पारिन्छ । यी विश्वासलाई उचाल्ने काम धार्मिक अगुवा, पुरोहित वा धामीझाँक्रीले गर्ने गरेका छन् ।

छाउपडी उन्मूलनका लागि कानून र अभियानले मात्र पुग्दैन । समाजको सोच बदल्नुपर्नेछ । धामी-झाँक्री र पुरोहित, जो सुदूरपश्चिम र कर्णालीमा भगवानका संवाहक मानिन्छन्, उनीहरूलाई यो कुरीतिविरुद्ध परिचालन गर्नुपर्छ । स्थानीय सरकार, प्रहरी र जनप्रतिनिधिले सचेतना अभियानसँगै दोषीलाई कानूनको कठघरामा उभ्याउनु पर्छ ।

महिलालाई सेनेटरी प्याडको सहज उपलब्धता र महिनावारीबारे वैज्ञानिक शिक्षा समेत दिइनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा, हरेक व्यक्तिले आफ्नो घरमा रजस्वलालाई सामान्य प्रक्रियाको रूपमा स्वीकार गर्नुपर्छ । “मैले मेरो घरमा यो प्रथा हटाएँ” भन्ने आत्मविश्वासले मात्र समाज बदलिनेछ ।

अन्त्यमा,

कमला र पार्वतीको मृत्युले हामीसामु एउटा गम्भीर प्रश्न खडा गरेको छ- हामी कति समयसम्म यो कुप्रथालाई बोकेर हिँड्ने ? महिनावारी न कुनै रोजाइको कुरा हो, न त बाध्यता नै । यो प्रकृतिको विधान हो, जसले स्त्री जातिलाई मातृत्वको अनुपम क्षमता दिएको छ । यति सरल र स्वाभाविक प्रक्रियालाई हामीले यत्रो जटिलता, निषेध, र पवित्रता-अपवित्रताको जालोमा बाँधिरहेका छौं । महिनावारीलाई अपमान होइन, सम्मानको विषय बनाऔँ ।

यो प्राकृतिक प्रक्रियालाई मर्यादित र सुरक्षित बनाउन सकियो भने मात्र हाम्रो समाज आधुनिक र सभ्य बन्नेछ । आधुनिक जीवनशैली भनेको स्मार्टफोन चलाउनु मात्र होइन । सोच र व्यवहारमा पनि समान रूपले संवेदनशील र प्रगतिशील हुनु हो । सुरक्षित, मर्यादित र सम्मानजनक महिनावारी व्यवस्थापन नै आजको आधुनिक समाजको पहिचान हो । परिवर्तनको सुरूवात आज, अहिले, आफ्नै घरबाट गरौं । आफ्नो मनको गोठ भत्काऔं, छोरी बुहारीलाई सम्मान र सुरक्षा दिऔं ।

यदि हामीले यो प्राकृतिक प्रक्रियालाई स्वीकार गर्न सक्यौं भने, छाउगोठ आफैं लोप हुनेछन् । त्यसैले, महिनावारी होइन, मानसिकता परिवर्तन गरौँ । अन्धविश्वास होइन, वैज्ञानिक सोच अपनाऔँ । नारी होइन, विकृत सोचलाई अलग राखौँ । किनभने महिनावारी कुनै दोष होइन, यो त नारीत्वको गर्व हो । आमा बन्ने यात्राको पहिलो खुड्किलो हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *