काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आज बुधबारदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । नेपाल अटो मोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा शुरु भएको नाइमा एक्स्पोको पहिलो दिनको सुरुवाती चरणमै नयाँ गाडी लञ्चको होडबाजी चल्यो । अधिकांश स्टलहरूमा नयाँ गाडीहरूको लञ्च गरियो ।
नाइमा एक्स्पो नयाँ तथा अत्याधुनिक सवारीसाधनको प्रदर्शनीसँगै विभिन्न कम्पनीबिच अफर र छुटको प्रतिस्पर्धाको केन्द्र बनेको छ । प्रदर्शनीमा सहभागी अटो मोबाइल कम्पनीहरूले आ–आफ्ना मोडेलमा आकर्षक छुट, सस्तो ब्याजदरमा फाइनान्स, एक्सचेन्ज अफर र विभिन्न गिफ्ट योजना प्रस्तुत गरेका छन् ।
एक्स्पोमा ५० भन्दा बढी ब्रान्डहरू सहभागी छन् । प्रदर्शनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मसियल गाडीहरू सार्वजनिक गरिएको छ । जहाँ कम्पनीहरूबिच ‘सस्तो मूल्यमा उत्कृष्ट सुविधा’ को होडबाजी चलेको देखिन्छ ।

नाइमा एक्स्पोको स्टल नं. ४ मा रहेको हुन्डाई गाडीमा नगद छुटदेखि विदेश भ्रमणसम्मको अफर छन् । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा लक्षित विशेष अफर ‘हुन्डाई असम अगस्ट’ योजना ल्याएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका रिटेल हेड दिवाकर रेग्मीका अनुसार नाइमा एक्स्पोको पहिलो दिनदेखि शुरु भएको यस योजना अन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन् । यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध छ ।
यस योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको छ । विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ । नाइमा मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन् । नाइमा एक्स्पोमा गाडी बुक गर्ने ग्राहकहरूलाई दैनिक विशेष उपहारहरूको लागि छनौट हुने व्यवस्था गरिएको छ । दैनिक उपहारहरूमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ ।
‘नाइमा एक्स्पोमा हामीले मस्ट पपुलर गाडीहरू राखेका छौँ । यस एक्स्पोमा हुन्डाईका गाडी किन्दा हामीले नगद छुटदेखि विदेश भ्रमणसम्मको अफर ल्याएका छौँ’, रेग्मीले भने ।

नाइमा एक्स्पोमा अग्नि ग्रुपले तीन वटा नयाँ गाडी लञ्च गरेको छ । जसमा दुई वटा ईभी (एक्स इभी–९ र बी–६) रहेका छन् । इन्जिनबाट चल्ने एक्सयुभी–३ एक्सओ पनि प्रदर्शनमा राखिएको छ ।
विशेष अफरमा यी गाडीहरूको बुकिङ शुरु गरिसकेको अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले जानकारी दिए । उनले सार्वजनिक गरिएका तीन नयाँ गाडीहरूमा नाइमा एक्स्पोमा बुकिङ गर्नेहरूलाई विशेष अफर दिएको समेत जानकारी दिए ।
‘हामीले तीन वटै गाडी नेपालमा पहिलो पटक डिस्प्ले गरेका छौँ । नाइमा एक्स्पोमा स्पेशल प्राइसमा बुकिङ शुरु गरेका छौँ’, अध्यक्ष श्रेष्ठले भने ।

नाइमा एक्स्पोमा बीवाईडीको नयाँ ह्याचब्याक कार सार्वजनिक गरिएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडीको नयाँ ह्याचब्याक कार एटो–वान दुई भेरियन्टमा लञ्च गरेको हो ।
साइमेक्स इंक प्रालि सेल्सहेड आशुतोष गौतमका अनुसार एटो–वान दुई भेरियन्टमा आएको छ । जुन स्ट्यान्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम रहेका छन् । डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
‘आज हामीले एटो–वान लञ्च गरेका छौँ । नाइमाको लागि भनेर यो मूल्य विशेष छुटसहित राखेका हौँ । यसबाहेक अन्य मोडलहरू समेत उपलब्ध छन् । जसमा हामीले दुई लाखसम्म छुटमा दिएका छौँ’, गौतमले भने ।
उनका अनुसार नाइमामा यो गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष अफर उपलब्ध हुनेछ । यस अनुसार नगद छुट, निःशुल्क एक वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिजका साथै १० वर्ष सम्म निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन उपलब्ध हुनेछ ।

नाइमा एक्स्पोमा नयाँ विद्युतीय सवारी साधन एसयुभी ‘जेको जे–५’ सार्वजनिक गरिएको छ । ओमोडा एण्ड जेकोको आधिकारिक बिक्रेता एपीजी अटोमोबाइल्सले नेपाली बजारमा भित्र्याएको यस गाडीमा विशेष अफर दिइएको छ ।
यो गाडीको मूल्य ६० लाख ९९ हजार रुपैयाँ रहेको छ । तर, कम्पनीले नाइमा एक्स्पोमा विशेष अफर दिँदै ५६ लाख ९९ हजार रुपैयाँ मूल्य राखेको छ । ओमोडा इ–५ लाई ५६ लाख ९९ हजार मूल्य कायम गरिएको छ भने जे–५ को ६५ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रिमियम कार पनि राखिएको छ । जुन म्याक्ससको मिफा–७ ईभी हो । जसको लन्च पनि बुधवार उक्त एक्स्पोमै गरिएको हो ।
नेपालका लागि यस कारको आधिकारिक वितरक हिमालय मोटरेक्सका अनुसार मिफा–७ मा १० लाखसम्म छुटको व्यवस्था गरिएको छ । नाइमा एक्स्पोमा बुकिङ गर्ने ग्राहकलाई १० लाख रुपैयाँ नगद छुटसहितका विशेष अफर राखिएको छ । अफरसहित यस गाडीको मूल्य १ करोड २५ लाख रुपैयाँ रहेको छ ।
यसैगरि साङ्ग्रिला मोटर्सले नयाँ गाडी बी–१० एसयुभी पनि लञ्च गरेको छ । जसमा करिब १० लाख छुटको व्यवस्था गरिएको छ । यस गाडीको मूल्य ६० लाख रुपैयाँ रहेपनि नाइमा एक्स्पोमा भने ४९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यसको अर्को भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो मूल्य पनि अफरको रहेको कम्पनीको भनाई छ । यसबाहेक ७२ लाख रुपैयाँ पर्ने सी–१० गाडी नाइमामा करिब ६५ लाख रुपैयाँमै उपलब्ध छ ।
त्यस्तै, जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटीले केयी ‘बाबल अफर’ को घोषणा गरेको छ । ९ लाखसम्मको छुटमा केयीका गाडीहरू एक्स्पोमा प्रदर्शन गरिएको छ । केयी एक्स–३ प्रो ईभीको मूल्य ४८ लाख ९६ हजार रहेको छ । तर, नाइमा एक्स्पोमा ३९ लाख ९६ हजार रुपैयाँ मात्रै मूल्य तोकिएको छ ।
नेपालका लागि जिकर ईभीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले प्रिमियम इलेक्ट्रिक सवारी जिकर एक्सका लागि विशेष छुट दिएको छ । ८४ लाख ९९ हजार रुपैयाँ पर्ने यस गाडी नाइमा एक्स्पोमा यस गाडी ६९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुनेछ ।
नाइमा एक्स्पोमा सार्वजनिक गरिएको नयाँ ब्राण्ड फोर्थिङ फ्राइडे ४८ लाख ९६ हजारमा उपलब्ध छ । लक्ष्मी इ मोबिलिटीले नेपाली बजारमा ल्याएको यस गाडीको अर्को भेरियन्टको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
विशेष अफर बाहेक कम्पनीहरूले आफूले ल्याएका मोडेलहरूमा नयाँ प्रविधि, स्मार्ट फिचर र आकर्षक डिजाइन प्रस्तुत गरेका छन् । आजै मात्रै नेपाली बजारमा ३५ वटा नयाँ सवारी साधन सार्वजनिक गरिएको छ । उपभोक्ताहरूको सवारीप्रति आकर्षण र कम्पनीहरूबिच नयाँ गाडी भित्र्याउने प्रतिस्पर्धा हेर्दा नेपाली अटो बजार थप उकासिने संकेत एक्स्पोबाट देखिएको छ ।

Leave a Reply