मोर्चाको जनजागरण अभियानको सन्देश- उपनिर्वाचनको नतिजाले ०८४ को संकेत गर्छ

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देहीको सियारीमा सभा गरेको छ। मधेश केन्द्रित सात दल सहभागी भएको मोर्चाले जनजागरण अभियान थालेको हो।

कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले बोलेका थिए। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अहिलेको सत्ता गठबन्धन अप्राकृतिक रहेको र देशलाई लुट्न र पाप लुकाउनलाई बनाएको बताए।

उनले भने, ‘यो काण्डै काण्ड वाला सरकार हो। देशलाई लुट्न र पाप लुकाउनलाई मात्रै बनेको हो। त्यसैले हामीले रुपन्देही ३ मा हुने चुनाव केवल चुनाव होइन ०८४ को चुनावमा हामी सकिने कि बाँच्ने त्यसको टेस्टका रूपमा हेरेका छौँ।’

अधिकार र पहिचानको लागि उत्पीडित र विभेदमा परेका जनता यो देशमा सधैँ गुलाम रहने कि मालिक बन्ने त्यसको परीक्षा आगामी चुनावमा हुने बताए। उपनिर्वाचनमा मोर्चाको तर्फबाट नाउपाको उम्मेदवारलाई सघाउने सहमति भइसकेको छ। यद्यपि, जनमत पार्टी भने रुष्ट छ।

कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश हाम्रो भएपनि राज्यसत्ता हाम्रो हुन सकेन बताए। चुरे वन विनाश हुने खालको कानुन बनाए विद्रोह हुने बताए।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेसीहरूले थारुलाई विश्वास गरेर गुन लगाएको बताए। यसपालिको उपनिर्वाचन खेलाँची नभएको बताए भन्दै जसरी पनि जित्नै दबाबमा आफूहरू रहेको बताए।

‘तराईका यति धेरै थारु र मधेसीको बाहुल्यता हुँदा पनि एक हुन नसक्दा अरूले राजनीति गरिरहेका छन्,’ उनले भने, ‘अधिकारको संघर्षमा राज्यले तसाईरहेको छ, तर हामी फेरि जुट्नुपर्छ।’ चौधरीले ०८२ सालमा भएका राजनीतिक सहमतिहरू पालना नभए ०८४ सालमा त्यसको असर देखिने चेतावनी समेत दिए। उनले भने, ‘०८२ मा समझदारी पालना नभए ०८४ मा त्यसको असर पर्छ, त्यसमा सबै दलका नेता र कार्यकर्ताले बुझ्न जरुरी छ।’

उनले मधेस केन्द्रीत दलहरूको समर्थन नागरिक उन्मुक्तिलाई रुपन्देही–३ मा दिलाइएको उल्लेख गर्दै मोर्चालाई अझ जीवन्त बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। ‘यो कुनै दल विशेषको सहमति होइन, साझा पहिचानको मुद्दा हो,’ चौधरीले भने, ‘अब उम्मेदवार थारु नै हुन्छ, पढेलेखेका व्यक्ति होलान्, रुपन्देही–३ कै होलान्।’ ‘मैले मोर्चाका नेताहरूलाई भनिसकेको छु—बाहिरबाट उम्मेदवार आउने छैन,’ उनले प्रष्ट पारे, ‘ढकियालाई बोकेर हिँड्नेलाई नै उठाउने हो।’

उनले पहिचानको मुद्दामा खेलबाड गर्ने जो कोही पनि गद्दार ठहरिने चेतावनी पनि दिए। रेशमले यति धेरै दलका शीर्ष नेताहरुले आफूलाई विश्वास गरेर रुपन्देहीमा नाउपालाई जिम्मेवारी दिएको जनाएका छन् ।

तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले यथाशीघ्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने बताए। यस्तै, जसपा नेपालका महासचिव राम कुमार शर्माले मधेश जनविद्रोहको कारण भुल्न नहुने बताए। हामी सबै उत्पीडित नमिली हाम्रो मुक्ति सम्भव नहुने बताए ।

कार्यक्रममा बोल्दै लोसपाका नेता तथा प्रदेश मन्त्री सन्तोष पाण्डेले मोर्चाको साझा उम्मेदवारलाई जिताई छाड्ने प्रतिबद्धता व्यक्त गरे। संघीय लोकतान्त्रिक मोर्चाले देशभर आठ स्थानमा जनजागरण अभियान घोषणा गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *