१२ वर्षपछि फेरि किताब समाएँ, १२ कक्षा पास गरेँ !

जीवनमा केही कुराको प्राप्ति ढिलो होला, तर असम्भव हुँदैन । तबसम्म असम्भव हुँदैन, जबसम्म तपाईँमा त्यसको चाहना र हुटहुटी जीवित रहेको हुन्छ । त्यही चाहना र हुटहुटीले डोहोर्याएर मैले हासिल गरेको एउटा सानो उपलब्धि तपाईँहरूमाझ सेयर गर्न आएको छु ।

भर्खरै मैले १२ कक्षा पास गरेँ । यो खबरले कतिलाई आश्चर्य लाग्ला र कतिले मनमनै खिस्याउलान् पनि । तर म गर्वसाथ सुनाउँदै छु । १२ कक्षा कुनै अग्लो शैक्षिक खुड्किलो होइन, तर मेरो लागि यसको विशेष महत्त्व छ । व्यावसायिक जीवनमा केही पाइला हिँडिसकेपश्चात्, उमेरको यो बिन्दुमा आइपुगेर आफ्नो टुटेको पढाइलाई फेरि जोड्नु मेरो निम्ति सहज र सामान्य थिएन । त्यसैले मलाई यो सानो उपलब्धिप्रति पनि ठूलो गर्व छ ।

हो, शैक्षिक प्रमाणपत्रका खातिर नै म १२ वर्षपछि फेरि विद्यार्थी बनेको थिएँ । १२ कक्षाको परीक्षा दिइरहेका लाखौँ विद्यार्थीहरूको भिडमा मेरो कथा अरूभन्दा बेग्लै थियो । मैले उत्कृष्ट जिपीए ल्याएको होइन, तर मेरो लागि यही ३.०० जीपीए नै ऐतिहासिक छ । यो शैक्षिक प्रमाणपत्रले मेरो आत्मविश्वास र आत्मसम्मान जगाएको छ ।

०००

मध्यम वर्गीय परिवेशमा हुर्किँदै गर्दा म पनि हजारौँ नेपाली युवाहरू जस्तै औपचारिक शिक्षा र जीविकोपार्जनको दोसाँधमा परेको थिएँ । कहिले पुस्तकमाथि टाउको निहुराएँ, कहिले तिनै पुस्तकभन्दा ठूलो भारी काँधमा बोकेँ । अन्ततः पारिवारिक दायित्वले थिचेपछि पुस्तक थन्क्याएर पूर्णरूपले रोजगारीमा होमिन भएँ ।

विद्यालय जीवनमा म जेहेन्दार विद्यार्थी नै थिएँ । एसएलसीसम्म मेरो पढाइ राम्रो थियो । एसएलसीको रिजल्ट आएसँगै प्रेमिकासँग भागी बिहे गरेँ । विवाहपश्चात् गाउँमै ११ कक्षामा भर्ना पनि भएँ । तर आर्थिक अवस्था निकै कमजोर भएकाले मैले कामकै खोजीमा गाउँ छोड्नुपर्ने अवस्था भयो ।

१८ वर्षको उमेरमा म श्रीमतीलाई गाउँमा छोडेर राजधानी प्रवेश गरेँ । सानोतिनो काम सुरु गरेँ । काम गर्दै बेलुका थोरै समय डेरामै पढ्न थालेँ । कलेज नगई मैले ११ र १२ को परीक्षा दिएँ । तर दुवै परीक्षा राम्रो हुन सकेन । एक-एक विषय लाग्यो । दुवै पटक अंग्रेजीमा फेल भएँ । मेरो औपचारिक शिक्षा यत्तिमै थचक्क बस्यो ।

असफल नतिजापछि पढाइलाई अधुरै छोडेर व्यवहारिक र व्यावसायिक जीवनमा मोडिएँ । परिवारको जिम्मेवारी र दैनिक जीवनयापनको आर्थिक बोझले मलाई पढाइबाट छुटाएर काममा धकेलिदियो । त्यसबेला आफ्नो र परिवारको पेट पाल्नु प्राथमिक आवश्यकता थियो, पढ्नु होइन ।

२०६९ सालमा काठमाडौं छिरेपछि मलाई ‘काम’ भन्ने शब्दको वास्तविक अर्थ बुझ्न समय लागेन । मैले ‘भरिया’ बाट काम सुरु गरेँ । एउटा किराना पसलमा भारी बोकेर आफूलाई काठमाडौंमा टिकाउने प्रयास गरेँ । त्यहाँ चामल, ग्यासका सिलिन्डर आदि बोकेर ग्राहकको घरसम्म पुर्‍याइदिन्थेँ । एक बोरा चामल बोक्ला १५ रुपैयाँ पाउँथेँ । महिनामा ४ हजार जति कमाइ हुन्थ्यो ।

भरियापछि रेडियोको तार मिलाउने टेक्निसियनको काम पाएँ । किराना पसलमा काम गर्दागर्दै वरिष्ठ लोकसञ्चारकर्मी रमेश बस्नेतसँग मेरो भेट भयो । उहाँ त्यही पसलमा सामान किन्न आउनुभएको थियो । त्यसपछि उहाँलाई निरन्तर सम्पर्क गरिरहेँ । फलस्वरूप मेरो रेडियो यात्रा सुरु भयो । उहाँले रेडियो मिर्मिरेमा २०७१ सालमा काम लगाइदिनुभएको हो । बिना तलब नै म धेरै समयसम्म रेडियोमा जोडिएको थिएँ ।

रेडियो स्टेसनभित्रका उपकरणहरू मिलाउँदै गर्दा म बिस्तारै माइक पछाडिबाट माइक अगाडि जान थालेँ । आफैँले अन्तरवार्ताहरू लिन सुरु गरेँ । यसरी मिडिया क्षेत्रमा मेरो यात्रा सुरु भएको हो । त्यो यात्रा सपनाको भन्दा बढी संघर्षपूर्ण थियो । एक हातले जिन्दगीको जरो समाउँदै, अर्को हातले नयाँ अवसरहरू खोज्दै गर्दा पढाइ भने सधैँ ओझेलमा पर्दै गयो ।

०००

२०७२ को विनाशकारी भूकम्पले मेरो जीवनका योजना मात्र होइन, सपनाहरू पनि ध्वस्त बनाए । देशजस्तै मेरो आत्मबल पनि डग्मगायो । परिवार, समाज, काम, सबैको चाप बोक्दै गर्दा मैले अझ कडा संघर्षको बाटो रोज्नु पर्‍यो ।

म गीतसंगीतमा सानैदेखि रुचि राख्थेँ । आफैँ गीत लेख्थेँ र त्यसमा लय हाल्थेँ । जति कठिन संघर्षका बीच पनि गीत संगीतको मोहलाई त्याग्न सकिनँ ।

मिडियाकर्ममा आएपछि संगीत क्षेत्रका व्यक्तिहरूसँग चिनजान भयो । मैले केही गीतहरू रेकर्ड गराएँ र ती चर्चित पनि भए । काठ क्षेत्रमा परिचित गीत ‘बदम खाको सुन्तला छोडाको’ गीत मेरो एक हिट सिर्जना थियो । मैले एक सयभन्दा बढी गीतहरू लेखेँ र संगीत पनि भरेँ । यद्यपि, मलाई त्यसले न आर्थिक राहत दियो न त कुनै ठूलो ख्याति नै । मैले साहित्य क्षेत्रमा पनि हात हाले । धेरै साथीहरूसँग चिनजान भयो । तर साहित्यबाट पनि भविष्य अगाडी बढ्ने देखिनँ । त्यसपछि लाग्यो मैले बाटो मोड्न पर्छ ।

बाध्यतावश मैले बाटो मोडेँ । र, यही नै मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण टर्निङ प्वाइन्ट बन्यो । भुईँचालोले जन्म दियो एउटा नयाँ सम्भावना । जन्मियो अनलाइन मिडिया ‘लालीगुराँस डटकम’ । कठिन समयमा जन्मिएको यही अनलाइन प्लेटफर्म आज मेरो जीवनको आधार र पहिचानको स्रोत बनेको छ । तर, यहाँसम्मको यात्रा सहज अवश्य थिएन ।

२०७४ सालमा मैले लालीगुराँस टिभी नामक युट्युब च्यानल खोलेको हुँ । सुरुवातमा गाउँबाट बाबाले दुई लाख ऋण खोजेर मलाई पठाइदिनुभएको थियो । त्यसैबाट केही सामानहरू जोरजाम गरेर मैले युट्यूबकर्म थालेँ । सुरुमा एक्लै सञ्चालन गरेको लालीगुराँस डट कममा अहिले हामी दुई दाजुभाइ छौँ । नेत्र दाइ र मैले सञ्चालन गरिरहेको यो मिडियामा हाल २० जना कर्मचारी हुनुहुन्छ ।

आफ्नै डिजिटल मिडिया सञ्चालन राम्रै आम्दानी हुन थाल्यो । आर्थिक अवस्थामा सुधार आयो र सुरुवातमा लागेका ऋणहरू बिस्तारै तिर्दै गएँ । डिजिटल प्लेटफर्मलाई सकारात्मक रूपमा प्रयोग गर्दा फलिफाप नै हुँदो रहेछ भन्ने एउटा उदाहरण नै बनेको छ लालिगुँराश ।

अनलाइन मिडिया स्थापना गरेपछि लाग्यो- अब म पनि ‘केही’ हुँ । तर समयसँगै बुझेँ, काम र अनुभव मात्रै पर्याप्त हुँदैन । मेरो कमजोर शैक्षिक पृष्ठभूमिले गर्दा ठाउँ-ठाउँमा ठक्कर खानुपर्‍यो । प्रमाणपत्रको अभावले मेरो कयौँ कामहरू रोकिए । राम्रो रोजगारीका कैयौँ अवसरहरू मेरै आँखा अगाडि थिए, तर मैले टिप्न सकिनँ । मेरा एसएलसीको सर्टिफिकेट कुनै पनि रोजगारीका लागि काम लागेन । त्यसपछि बल्ल गहिरो महसुस भयो- जीवनमा क्षमता र अनुभव मात्र पर्याप्त नहुने रहेछ । शैक्षिक प्रमाणपत्र पनि उत्तिकै महत्त्वपूर्ण छ ।

मैले ११ र १२ दुबैमा एक-एक विषयमा गुल्टेको कुरा कहिल्यै लुकाइनँ । साथीहरूले सोध्दा सिधा भन्थेँ, ‘अहिले अधुरो छु, तर म रोकिएको छैन ।’ त्यसो भन्दा खिन्नता महसुस हुन्थ्यो । तर झुटको सहारा लिएको भए म भित्रभित्रै लज्जित बन्थेँ होला ।

शैक्षिक प्रमाणपत्रकै अभावमा केही गर्न नसक्ने देखेर मैले विदेश जाने योजनासहित पासपोर्ट समेत बनाएको थिएँ । तर बिस्तारै आफ्नै डिजिटल प्लेटफर्मले मलाई विदेश जानबाट रोक्यो । मैले आजसम्म तीन हजारभन्दा बढी अन्तर्वार्ता लिइसकेको छु । मैले लिएका कैयौँ अन्तरवार्ताहरू भाइरल भएका छन् । मैले प्रस्तुत गरेका सामग्रीले धेरैको जीवनमा सकारात्मक परिवर्तन पनि आएको छ । सन्तोषको पाटो यही नै छ । आफू भुईँबाट उठेर यहाँसम्म आएको हुँदा म आफ्नो पत्रकारितामार्फत भुईंमान्छेहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छु ।

०००

श्री बुद्ध हिमालय माविका प्रधानाध्यापक राजु चौलागाईं सर मेरो लागि केवल शिक्षक होइन, एक प्रेरणा श्रोत हुनुहुन्छ । उहाँले बारम्बार आग्रह गर्नुभयो- पढ्नुस्, तपाईँको अनुभवसँग पढाइको प्रमाण मिसिए भने अझ बलियो बन्नुहुन्छ।”

तर समयको अभावले कहिले उहाँको कुरा मान्न सकिनँ । यद्यपि उहाँको शब्दहरू मनभित्र गढ्दै गए, जसले गर्दा म पुनः पढ्न अग्रसर भएँ ।

समय मिलाउँदै, केही महिना मैले बिहान र बेलुकाको समयमा अनलाइन पढ्न थालेँ । दिनभरको कामपछि थकित शरीर लिएर स्क्रिन अगाडि बस्दा आँखा भारी हुन्थे, तर आत्मा भने उत्साहित हुन्थ्यो । बल्लतल्ल ११ कक्षा पास गरेँ, त्यो मेरो लागि सानो विजय थिएन । त्यो नै थियो, मेरो नयाँ प्रस्थानबिन्दूको सुरुवात । त्यसपछि १२ को तयारी गरेँ, झन् गहिरो संकल्पका साथ ।

१२ को परीक्षा दिन म काभ्रेको चौरी देउराली जान्थेँ, त्यो पनि काठमाडौंबाट झन्डै ५ घण्टा मोटरसाइकल हाँकेर । कहिले वर्षा, कहिले घाम, कहिले पेट्रोल अभाव- तर कहिल्यै परीक्षा छुटाइनँ ।

परीक्षाको पहिलो दिन एउटा रमाइलो घटना भयो । कक्षामा प्रवेश गर्दा सबै विद्यार्थीहरू मलाई ‘निरीक्षक’ सम्झेर जर्याकजुरुक उठे र भने- ‘गुड मर्निङ सर’ । म लाजले पानी भएँ । सकसका साथ भनेँ- म तपाईँहरूकै साथी हुँ, परीक्षा दिन आएको ।’ त्यो क्षण मेरो लागि अविस्मरणीय छ ।

परीक्षा दिएपछि दिन गन्दै बसेँ । जब नतिजा प्रकाशित भयो, त्यस दिन झन्डै २ घण्टा अनलाइनमै रिफ्रेस गरिरहें । मैले आफ्नै दाइलाई नतिजा हेर्न लगाएँ । उहाँ कराउनुभयो– ३ जीपीए आएको छ !

त्यसपछि त मैले खुट्टा जमिनमै छैन जस्तो महसुस भयो । ती १२ वर्ष, त्यो संघर्ष, त्यो लाज, त्यो प्रयास । सबै एकै पटक आँखा अगाडि सिनेमाको रिल घुमेझैँ घुमे । आँखाबाट तपक्क आँसु नै झर्‍यो– तर खुसीको ।

म आफ्नो उपलब्धि सामाजिक सञ्जालमा सेयर नगरिरहन सकिनँ । लेखेँ– ‘१२ वर्षपछि १२ कक्षा पास गरेँ । अब जीवनमा कुनै अप्ठ्यारोलाई पढाइका लागि बहाना बनाउने छैन ।’

प्रतिक्रियाको ओइरो लाग्यो । सबैले सराहना गर्नुभयो । तारन्तर फोन र म्यासेजका घण्टीहरू बज्न थाले । अहिले पनि बधाईको शृङ्खला रोकिएको छैन । मलाई सगरमाथा नै चढेर फर्केझैँ भएको छ ।

१२ पास गर्नु मेरो अन्तिम लक्ष्य अवश्य होइन । नयाँ सुरुवातको ढोका मात्र हो । अब म स्नातकको तयारीमा जुट्नेछु । मलाई थाहा छ, यो झनै चुनौतीपूर्ण छ । तर अब म सबै चुनौतीका लागि तयार छु, किनभने मैले पढाइको शक्तिलाई बुझिसकेको छु ।

शिक्षा लिन कहिल्यै ढिलो हुँदैन । जीवनले जतिसुकै घुम्ती फेरे पनि, आत्मबल, इच्छाशक्ति र अठोट रहेसम्म सबै सम्भव छ । मैले १२ वर्षको अन्तरालमा १२ कक्षा पास गरेँ । यदि तपाईँ पनि जीवनको कुनै मोडमा अल्मलिनुभएको छ भने, म भन्न चाहन्छु- ‘सुरु गर्न कहिल्यै ढिलो हुँदैन, तर नथाल्नु नै वास्तविक हार हो ।’

Comments

2 responses to “१२ वर्षपछि फेरि किताब समाएँ, १२ कक्षा पास गरेँ !”

  1. Rajendra Pahadi Avatar
    Rajendra Pahadi

    ”१२ पास गर्नु मेरो अन्तिम लक्ष्य अवश्य होइन । नयाँ सुरुवातको ढोका मात्र हो । अब म स्नातकको तयारीमा जुट्नेछु । मलाई थाहा छ, यो झनै चुनौतीपूर्ण छ । तर अब म सबै चुनौतीका लागि तयार छु, किनभने मैले पढाइको शक्तिलाई बुझिसकेको छु ।”

    कमल जी, लाख लाख सलाम छ तपाईंको दृढ इच्छाशक्तिका लागि । सम्पूर्ण ऊर्जासहित अघि बढ्नुहोस् । तपाईंले लेखे झैं असम्भवलाई सम्भव बनाउने हामीले नै हो ।

  2. prem khatry, prof TU Avatar
    prem khatry, prof TU

    बीचबीचमा छाेडेर लाज मान्दै कक्षामा पछिल्लाे बेञ्चमा बसेकाे, अगरेजी कमजाेर । सरले तानेर अगिल्लाे बेन्चमा ल्याएकेा, अनि लगातार प्रथम, विश्वविद्यालयमा सर्बप्रथम भएकाे म रिएल गाेल्डमेडलिस्ट, त्रिविकाे प्रा बाट अहिले पेन्सनमा । म धेरैकाे उदाहरण बने, बूक लेखेँ विदेशमा पढें पढाएँ । अहिले पनि लेखक हुँ । कल्चर मानवशास्र मेराे विषय । भेटनुस न अध्ययनमा वाह्य स्राेत काम लाग्छ । सायद म पनि राय दिन सकुँला । घरमा पुस्तकालय राखेर निम्नअायलाइ हेल्प गर्छु। शुभकामना भाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *