हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बनेर प्रदेशमा छैटौं मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँ जम्मा ७ महिना २० दिन मात्र मुख्यमन्त्री हुनेछन् । मंगलबार मुख्यमन्त्री भएका बानियाँले नैतिकताका आधारमा आगामी चैत ७ गते पद छाड्नुपर्नेछ ।
२०८१ असार १७ गते राति काठमाडौंमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार बागमती प्रदेशमा मुख्यमन्त्री २०-२० महिना चलाउने सहमति बनेको हो । पहिलो २० महिना कांग्रेसले र त्यसपछिको २० महिना एमालेले मुख्यमन्त्री लिने सहमतिअनुसार २०८२ चैत ७ गतेपछि एमालेको पालो आउनेछ ।
बानियाँले सोमबार दिउँसो नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेर मंगलबार मुख्यमन्त्रीको शपथ खाएका छन् ।
नेपाली कांग्रेसमै पनि बानियाँ र बहादुरसिंह लामाबीच मुख्यमन्त्री आधा-आधा चलाउने लिखित सहमति नै भएको तर लामाले बानियाँलाई मुख्यमन्त्री हस्तान्तरण नगरेकाले अविश्वासकै प्रस्ताव ल्याएर हटाउनु परेको बताइएको छ । लामाले सहमतिअनुसार समयमा पद हस्तान्तरण नगर्दा बानियाँको मुख्यमन्त्रीको कार्यकाल केही महिना घटेको हो ।

Leave a Reply