काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्था हटाउन निरन्तर माग गर्दै आएको संसदीय विशेष छानविन समितिलाई बयान दिएका छन् । छानबिन समितिसमक्ष बयान दिँदै उनले यससम्बन्धी त्रुटि नियतवश नभई मानवीय कारणले भएको दाबी पनि गरेका छन् ।
अर्यालले समितिबाट पारित प्रतिवेदन प्रतिनिधिसभाबाट पारित भएपछि मात्रै मिडिया मार्फत थाहा पाएको बताए । उनले बयानमा भनेका छन्, ‘कुलिङ अफ पिरियड राख्नु हुँदैन भनेर हामी हाम्रो हकअधिकारकै रूपमा लागेका हौं। अझै पनि त्यही माग छ ।’
उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटी कुलिङ अफ पिरियड हटाउन माग गरिएको थियो। ‘समितिबाट विधेयक पारित भएपछि सभामुखलाई समेत भेटेर कुरा राखेको हुँ । यो देउसीभैलो गर्न नभई पदको हैसियतले राखिएको कुरा हो ।’
मुख्यसचिव अर्यालले त्रुटिको कारणबारे बयानमा भनेका छन्, ‘कर्मचारीप्रति विश्वास नगरी विश्वासको खडेरीले समस्या आएको हो । यही कारण उपदफा ४ र ५ को सम्बन्धमा नियतवश भन्दा मानवीय त्रुटि हुन गएको हो ।’ छानबिन समितिले २०८२ साउन ४ गते उनको यस्तो बयान लिएको थियो ।

Leave a Reply