काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले तयार पारेको प्रतिवेदनमा त्रुटि भएको भन्दै समितिको छानबिनले समितिका सभापति रामहरि खतिवडाको समन्वयकारी भूमिकामा कमी भएको निष्कर्ष निकालेको छ ।
छानबिन प्रक्रियामा सहभागी सदस्यले व्यक्त गरेका धारणा, सरोकारवाला पक्षसँग भएको सोधपुछ, उपसमिति र समितिको निर्णय पुस्तिका तथा प्रमाणित प्रतिवेदन अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको समितिले मंगलबार सभामुख देवराज घिमिरेलाई बुझाइएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार उपसमितिको मस्यौदादेखि नै विषयवस्तु र त्यससँग सम्बन्धित तादात्म्यता नमिल्दा त्रुटि भएको पाइएको छ । समितिको बैठकमा विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्ने पक्षमा सभापति खतिवडाले सकारात्मक भूमिका निर्वाह गरेको सांसदको भनाइमा प्रतिवेदनमा उल्लेख छ ।
समितिले २०८२ जेठ २ गते परिमार्जनसहित सर्वसम्मत निर्णय गरेको प्रतिवेदनमा सभापतिको हस्ताक्षर भए पनि, सो परिमार्जित मस्यौदा प्रतिवेदन सदस्यलाई देखाई छलफल नगरी केही व्यक्तिबीच अनौपचारिक बैठक गरेर २०८२ जेठ १३ मा प्रतिवेदन पठाइएको तथ्य उल्लेख छ । यसरी प्रतिवेदन पेश गर्दा सभापतिको समन्वयकारी भूमिकामा कमी भएको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदन सभापतिकै हस्ताक्षरसहित सभामा पेश भए पनि, देखिएका गम्भीर त्रुटिका सम्बन्धमा सभापतिले आवश्यक उत्तरदायी भूमिका निर्वाह नगरेको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ ।
‘मिति २०८२ जेठ २ मा समितिको परिमार्जन सहित सर्वसम्मत पारित गरेको निर्णय र मस्यौदा प्रतिवेदनमा सभापतिको हस्ताक्षर भएको र परिमार्जित मस्यौदा प्रतिवेदन समितिका माननीय सदस्यलाई देखाई छलफल गरी सभामा पेस गर्नु पर्नेमा सो नगरी निश्चित व्यक्तिबीच अनौपचारिक बैठक बसी मिति २०८२।०२।१३ मा प्रतिवेदन पठाएको देखिँदा माननीय सभापतिको समन्वयकारी भूमिकामा कमी भएको देखियो ।’

Leave a Reply