हेटौंडा । नेकपा एमालेले बागमती प्रदेशमा लिने ६ वटा मन्त्रालयहरुमध्ये ५ नयाँ मन्त्री टुंगो लगाउँदा एउटा मन्त्रालयमा भने पुरानै मन्त्री कायम राख्ने निर्णय गरेको छ । नेकपा एमालेबाट किरण थापा पुनः स्वास्थ्य मन्त्रीमा दोहारिने मन्त्री हुन् भने अरु सबै नयाँ अनुहार हुन् ।
एमालेले मधुसुदन पौडेललाई कृषि मन्त्री, भरत केसीलाई वन मन्त्री, जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, बिन्दु श्रेष्ठलाई उद्योग मन्त्री र डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार मन्त्रीमा टुंगो लगाएको छ ।
एक वर्षपछि सबैलाई पालो दिने भनिए पनि स्वास्थ्यमन्त्री दोहोरिएपछि यसले सबैलाई जिज्ञासा उत्पन्न भएको छ ।
‘एउटा मात्र मन्त्री किन दोहोरिए त ?,’ नेपालप्रेससँग बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले भने, ‘पूर्वाधार र स्वास्थ्य अलि प्राविधिक विषय भएको र एउटा मन्त्रीले केही महिनादेखि लगातार काम गरिरहेको ठाउँमा अर्को मन्त्री आउँदा तत्काल निर्णय गर्न, बुझ्न समय लाग्छ कि भनेर पार्टीमा छलफल भएको हो, अझ स्वास्थ्य जटिल विषय भएकाले यसमा मन्त्री फेर्न हुन्न, पुरानैलाई मौका दिउँ भन्ने भयो र अरु सबै फेरिँदा स्वास्थ्य मन्त्रालयमा मन्त्री पुरानै कायम गर्यौं ।’
१३ जिल्ला अस्पतालहरु छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस पढाइको तयारी गरेको छ ।
‘काठमाडौँका ठूला अस्पतालहरुबारे मन्त्रालय बल्ल अपडेट भइरहँदा बुझेका मन्त्री फेरेर नयाँ मन्त्री राख्दा पुरानै अवस्थामा पुग्छ कि भन्ने भयो, यही भएर स्वास्थ्यमा खेलवाड नगरौँ भनेर मन्त्री फेरेनौँ’, थपलियाले भने, ‘मन्त्री फेरिँदा एमालेले स्वास्थ्य क्षेत्रमा गरेको काम लथालिंगबाट शुरु गर्नु भन्दा लथालिंगबाट यहाँसम्म ल्याएर केही सपना बोकेर अनुभव भएका मन्त्रीलाई नै दिने निष्कर्षमा पुगेका हौँ ।’
हेटौंडामा एमबीबीएस पढाइ, जिल्ला अस्पतालहरुको सुधार, स्वास्थ्य उपकरण खरिद र जडान लगायतका काममा मन्त्रीको अनुभव काम लाग्ने भएकाले स्वास्थ्यमन्त्री दोहोरिएको उनले जिकीर गरे ।
‘समग्रमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका मन्त्रालयहरुमा विवादरहित भएर काम गरेको मूल्यांकन पनि हो’, थपलियाले भने, ‘स्वास्थ्य उपकरणलगायतका खरिद प्रकरणमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको कुनै गुनासो छैन ।’
संसदीय दलका नेता थपलियाले भने, ‘प्रदेश सरकारमा जानु भएका सबै मन्त्रीहरुको कार्यकालको उच्च मूल्यांकन भएको छ, विवादरहित ढंगले साथीहरुले काम गर्नु भएको छ, यो एमालेको प्रदेश सरकार सञ्चालन अनुभवमा ठूलो पुँजी पनि हो ।’

Leave a Reply