मकवानपुरमा कांग्रेसलाई ब्युँताएका बानियाँ- व्यवसायीदेखि मुख्यमन्त्रीसम्मको यस्तो छ यात्रा

हेटौँडा । बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री भएका इन्द्रबहादुर बानियाँ पूर्वी मकवानपुरबाट राजनीतिमा उदाएका व्यावसायिक घरानाका सदस्य हुन् । तर, उनको राजनीतिक भूगोल भने पश्चिम मकवानपुर बनेको छ । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ बाट दोहारिएर प्रदेशसभा सदस्य निर्वाचित बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति हुन् ।

उनी २०७४ को प्रदेशसभामा पनि मकवानपुर-२ को ‘ख’ बाटै निर्वाचित भएका थिए । २०७४ सालमा नेकपा एमालेका नेता राजाराम स्याङ्तान र २०७९ मा एमालेकै नेता लालबहादुर थापालाई पराजित गरेर प्रदेशसभामा प्रवेश गरेका बानियाँ बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका पहिलो र तेस्रो नेता हुन् । बीचमा बहादुरसिंह लामाले उनलाई पराजित गरे पनि साउनको दोस्रो साता उनी फेरि लामालाई पराजित गरेर संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीका लागि पक्का भएका हुन् ।

२०१५ सालको आमनिर्वाचनमा विश्वबन्धु थापाले पूर्वी चितवन र मकवानपुर समेटिएको १ नम्बर क्षेत्रबाट निर्वाचन जितेपछि पाँच दशकसम्म संसदीय निर्वाचनमा मकवानपुरमा परिणाम ल्याउन नसकेको अवस्थामा बानियाँ मकवानपुरमा विजयी हुने पहिलो कांग्रेसी अनुहार हुन् ।

नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य बनेर पार्टी राजनीतिमा होमिएपछि बानियाँले ५५ वर्षपछि मकवानपुर-१ मा २०७० को निर्वाचनमा आफूलाई विजित गराए भने त्यसयता उनी लगातार प्रदेश सभा झरेर विजित हुँदै मुख्यमन्त्रीको दौडमा प्रथम भएका छन् ।

२०७४ मा मकवानपुर २ (ख) बाट उनी वामपन्थी गठबन्धनका उम्मेदवार नेकपा एमालेका राजाराम स्याङ्तानलाई १ हजार ४ सय ११ मतले हराउँदै प्रदेशसभा सदस्य बनेका थिए । उनले १९ हजार २ सय ४५ मत र स्याङ्तानले १७ हजार ८ सय ३४ मत प्राप्त गरेका थिए । स्याङ्तान संविधानसभा सदस्य भएर २०७० सालको निर्वाचनमा मकवानपुर-२ (ख) मा प्रदेश सभामा झरेका थिए भने बानियाँ मकवानपुर-१ बाट निर्वाचित भएर प्रदेश सभामै झरेर स्याङतानकै क्षेत्रमा होमिएर विजयी भए ।

प्रमाणपत्र तहसम्म अध्यनन गरेका बानियाँ एक सफल व्यवसायी हुन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा बुबा क्षेमबहादुर बानियाँ र आमा प्रेम कुमारी बानियाँको कोखबाट जन्मिएका उनी ३५ वर्ष भन्दा बढी समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

२०४६ सालमा मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति रहेका बानियाँ २०५१ सालमा नेविसंघ जिल्ला सहसचिव, २०५३ मा तरुण दल मकवानपुरको सचिव, २०५६ मा तरुण दल मकवानपुरको सभापति र २०५१ देखि निरन्तर कांग्रेस महासमिति सदस्य छन् । २०७२ मा नेपाली कांग्रेस मकवानपुरको सभापति निर्वाचित भएका उनी २०७० मा मकवानपुर-१ बाट निर्वाचित भएपछि २०७३ मा संस्कृति, पर्यटन तथा नगरिक उड्डयन राज्यमन्त्री र २०७४ मा गृहराज्यमन्त्री बनेका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँले २०७९ को निर्वाचनमा बागमती प्रदेशमा कांग्रेसलाई ठूलो दल बनाएका थिए । तर उनी संसदीय दलको नेता बन्न रोकिएका थिए र मुख्यमन्त्री हुने चाहना केही पर सरेको थियो । अन्ततः बानियाँ २०८२ चैत ७ गतेसम्मका लागि ७ महिना १९ दिन बागमती प्रदेशको मुख्यमन्त्री हुने भएका छन् । चैत ७ गतेदेखि बागमती प्रदेशको मुख्यमन्त्री नेकपा एमालेले पाउने केन्द्रीय सहमति छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *